समाचार राजनीति

गगन थापा भन्छन्, ‘ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टको क्लब’ 

गगन थापा भन्छन्, ‘ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टको क्लब’ 

गोरखा । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टको क्लब बनेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा शनिबार गोरखामा भएको कार्यकर्ता प्रशिक्षणमा बोल्दै भ्रष्टाचार गर्नेलाई सरकारले नै संरक्षण गरेको उनले बताए । ‘केही दिनअघि प्रधानमन्त्रीले बिहानदेखि बेलुकीसम्म एउटै कुरा दोहोर्‍याउनुभयो–म भ्रष्टाचारीको अनुहार हेर्दिनँ,’ उनले भने, ‘अस्ती संसद्‌मा उभिएर भन्ने अवस्था आयो कृपया ऐनामा अनुहार नहेर्नुहोला ।’

 

सरकारको एक वर्षको अवधिमा सुधार्‍यो भन्ने ठाउँ नभेटिएको थापाले बताए । ‘सरकारको दायाँ–बायाँ, तल–माथि सबै भ्रष्टैभ्रष्ट छन्, नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लब जस्तो भएको छ,’ उनले थपे, ‘कुनचाहिँ मन्त्रालय चोखो छ, विमान खरिद, विद्युत् निकाल्ने ठाउँ, बाहिर पठाउँदा, भित्र्याउँदा सबै ठाउँ–ठाउँमा भ्रष्टाचार नै भ्रष्टाचार छ, कुनै एउटा सेक्टर बाँकी छैन ।’ एक पछि अर्को ठूला कान्ड ढाकछोप गर्ने काम सरकारबाटै भएको उनले बताए । ‘यसमा प्रधानमन्त्रीका कोर टिमका मान्छेहरु छन्,’ उनले भने, ‘दुई तिहाइको सरकारले एउटा सन्देश प्रवाह गर्न सक्थ्यो, नयाँ सरकार आयो हिजोजस्तो होइन, नयाँ ढंगले शासन जान्छ भन्ने अवस्था स्थापित गर्नुपर्थ्यो ।’

 

भ्रष्टाचारलाई संस्थागत गर्न सिङ्गो पार्टी नै लागेको थापाको आरोप छ । उनले भने, ‘पार्टीमा आश्रीत भएका दलाल, माफिया, तस्करलाई संरक्षण दिँदै भ्रष्टाचार संस्थागत गर्ने नमुना काम सरकारको देख्दैछौं ।’ भष्टाचारलाई मलजल गर्न भएका दजैनौं काण्ड, तथ्य, घटना आफूहरुसँग रहेको उनले दाबी गरे । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

गगन थापा केपी ओली गोरखा मन्त्रीमण्डल