विदेश

सरकारविरोधी प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार, ७ जनाको मृत्यु

सरकारविरोधी प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार, ७ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य कैयौँ प्रर्दशनकारी घाइते भएका छन । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ ।

ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा बसेका प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेका हुन । सरकार विरोधी प्रदर्शनमा सहभागीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आरोप लगाएका छन् ।

एकदिन अघि बग्दादमै अपरिचित ब्यक्तिको छुरा प्रहारवाट १३ जना घाइते भएका थिए । इराकमा अक्टोवरदेखि शुरु भएको प्रदर्शनमा ४ सय भन्दा बढीको मृत्यु भएको छ । बीस हजार मानिस घाइते भएका छन् ।

सरकार विरोधी प्रदर्शन तीब्र भएपनि समाधानको पहल भएको छैन । आन्दोलनकारीले संसद विघटन र राजनीतिक प्रणालीको सुधारको माग गर्दै आएका छन् । प्रधानमन्त्रीले राजीनामा दिने घोषणा गरेपछिपनि प्रदर्शन भने रोकिएको छैन ।