विचित्र विश्व

के हो विषकन्याको रहस्य ?

के हो विषकन्याको रहस्य ?

इतिहासका विभिन्न घटनाक्रमले के कुरा प्रष्ट पारेको छ भने प्राचीनकालमा विश्वका विभिन्न राज्यहरुबीच राज्य विस्तारको होडमा झैझगडा भइरहन्थे । आफूलाई सर्वशक्तिमान राज्यको रुपमा प्रस्तुत गर्न जुनसुकै हथकण्डा प्रयोग गर्न पनि पछि नपर्ने शासकहरु शत्रु पक्षलाई पराजित गर्न एक अचूक प्रयोगका रुपमा विषकन्याको उपयोग गर्ने गर्थे । जसअनुसार विषकन्या त्यो कन्या हुन्थी, जसको शरीरमा अत्यन्त विषालु विष प्रवेश गराइएको हुन्थ्यो । र उसको संसर्गमा आएर विषभोग गर्ने व्यक्तिको तत्कालै मृत्यु हुन्थ्यो । 

प्राचीनकालका राज्यहरुमा सानैदेखि केही कन्याहरुको शरीरमा अनेक प्रकारको विष प्रयोग गरिएको हुन्थ्यो । विषयुक्त शरीरको सम्पर्कमा आउने जो पनि मृत्युको मुखमा सजिलै पुग्थे । ऊ शारीरिक रुपमा अत्यन्त सुन्दर हुन्थी । संगीत, नृत्यजस्ता विविध विषयमा पारंगत त्यस्ता षोडसीहरु ‘छलविधि’मा पनि निपूर्ण हुन्थे । केही विषकन्या त यस्ता पनि हुन्थे, जसको स्पर्श श्वासप्रश्वासजस्ता सामान्य क्रियाकलापबाटै मानिसको मृत्यु हुन्थ्यो । 

संस्कृतग्रन्थमा विषकन्या

प्राचीन संस्कृत ग्रन्थहरुमा विषकन्याको उल्लेख भएको पाइन्छ । भारतका विशाखादत्तद्वारा रचित राजनीतिक नाटक ‘मुद्राराक्षस’ विषकन्यासम्बन्धी महत्वपूर्ण ग्रन्थ मानिन्छ । कौटिल्यको अर्थशास्त्र, सुवावहत्तरीकथा, कथासरितसागरजस्ता ग्रन्थहरुमा पनि विषकन्या बारेमा वर्णन गरिएको छ । प्राचीन आयुर्वेदिक ग्रन्थ सुश्रुत संहितामा पनि विषकन्याको उल्लेख हुनुले त्यस समयमा विषकन्याको भूमिका व्यापक भएको बताउँदछ । ती ग्रन्थहरुकाअनुसार विषकन्याको उपभोग केवल एकपटक उनीहरुको उपभोग नै पहिलो र अन्तिम हुन्थ्यो । यसबाट विषकन्यालाई कोब्रा सर्पसंग तुलना गर्न सकिन्छ । कोब्रा सर्प आफ्नो विषको थैलीमा जम्मा भएको विष एकपटक प्रयोग भइसकेपछि समाप्त  गरिदिन्छ ।

यसप्रकार विषकन्याले एक पटक एक व्यक्तिलाई मारेपछि  उ विषरहित हुनपुग्थी । मुद्राराक्षस र सुवावहत्तरीकथामा विषकन्याको बारेमा उल्लेख भएअनुसार चन्द्रगुप्त मौर्यको मन्त्री चाणक्य र धर्मदत्तको मन्त्री सिद्धार्थ दुवैलाई विषकन्याको बारेमा पर्याप्त जानकारी थियो । आफ्नो जानकारीबाट उनीहरुले आफ्ना राजाहरुलाई विषकन्याको सम्पर्कमा नआउन सचेत गरेका थिए । पाश्चात्य विद्वानद्वय हट्ज र ब्लुमफिल्डले संस्कृत ग्रन्थहरुमा बर्णित विषकन्यालाई वास्तविक मान्नुपर्ने बताएका छन् । 

सिकन्दर र विषकन्या

विश्वविख्यात सिकन्दर महानका गुरु अरस्तुलाई पनि विषकन्याका बारेमा पूरा ज्ञान थियो । अरस्तुद्वारा सिकन्दरलाई पठाइएको सन्द्श संग्रह ‘सिक्रेटम सिक्रेटोरम’मा अरस्तुले आफ्नो शिष्य सिकन्दरलाई अन्या उपदेशका साथसाथै विषकन्याबाट बच्ने उपाय पनि बताएका थिए । प्रसिद्ध फ्रान्सीसी लेखक अर्नेस्ट रेननले आफ्नो पुस्तक ‘हिस्टाइल लिटेरियर’मा विषकन्या र सिकन्दरका विषयमा यस्तो उल्लेख गरेका छन् । 

एकपटक एक राज्यको राजालाई एक ज्योतिषीले उनको पतन र अन्त्यको कारण बन्न सक्ने सिकन्दर नामको बालक हालसाले जन्मिएको भविष्यवाणी गरेको थियो । यस किसिमको भविष्यवाणीले राजा स्तब्ध बने । पछि विभिन्न उपाय सोच्दै जाँदा विषकन्याको प्रयोगबाट सिकन्दरलाई समाप्त पार्ने सुनियोजित षडयन्त्र शुरु गरे ।

जसका लागि उनले सम्भ्रान्त परिवारका केही शिशु बालिकाहरुलाई जम्मा गरेर अत्यन्त घातक विष खुवाएर  उनीहरुलाई हुर्काउने काम गर्न भने । भारी विषका कारण केवल एक बालिका मात्र बच्न सफल भइन । नाचगानलगायत आवश्यक सम्पूर्ण तालिम लिएकी त्यो विषकन्या यति विषालु थिई कि उसको सासले वरिपरिको हावालाई समेत विषाक्त बनाइदिन्थ्यो । उसको सम्पर्कमा आउने जोसुकै पनि मृत्युको पाहुना बन्न पुग्थ्यो । 

उता सिकन्दर पनि जवान भइसकेका थिए । एकदिन राजाले बहुमूल्य उपहारकासाथ त्यस विषकन्यालाई पनि सिकन्दरकोमा पठाए । जसलाई सिकन्दरसंगै रहेका अरस्तु र सुकरातले बुझेर त्यस युवतीलाई सिकन्दर नजिक जान दिएनन । तैपनि त्यसलाई प्रमाणित गर्न जब त्यस युवतीद्वारा दासहरुलाई चुम्बन गर्न लगाइयो, तब ठाउँका ठाउँ ती दासहरुको मृत्यु भयो । त्यसैगरी घोडा कुकुरहरु पनि युवतीको स्पर्शबाट मर्न पुगे । यसबाट ती युवती विषकन्या भएको प्रमाणित भयो । र, त्यसको टाउको छिनाएर आगोमा जलाइयो । 

विश्व साहित्यमा विषकन्या

विश्व साहित्यमा पनि विषकन्याको विभिन्न रुप उल्लेख गरेको पाइन्छ । जर्मन साहित्यका विषकन्या तयार पार्न प्रयोग गरिने विषको बारेमा केही तथ्यहरु उल्लेख छन् भने ‘हीनरिच वान मिशन’ नामक संग्रहमा जर्मन कविले भारतकी एक विषकन्याको हवला दिँदै उनको सास र नजिकैको हेराइबाटै मानिसको मृत्यु हुनसक्ने उल्लेख गरेका छन् । इटालीका लेखक ब्रुनेतो लातिनीले आफ्नो पुस्तकमा एक अनौठो विषकन्याका बारेमा वर्णन गरेको पाइन्छ । ‘गेस्टा रोमेनीर’ यस विषयमा प्रशस्त चर्चा गरिएको छ ।

अमेरिकी कवि नेथोनियल हथर्नले आफ्नो कविता ‘रिसेप्सन डटर’मा विषकन्याको विषयलाई प्राथमिकतासाथ उल्लेख गरेका छन् । पुस्तकमा लेखिएका अंश सत्य घट्नामा आधारित भएको लेखकको जिकिर छ । फारसी पुस्तक ‘अनवर ए सुहेली’मा पनि विषकन्यालाई उल्लेख गर्दै प्राचीन समयमा यस्को अस्तित्व रहेको उल्लेख गरिएको छ । 

यस्ता विभिन्न पुस्तक, धार्मिक कथन, जनमानसमा व्याप्त चर्चा परिचर्चाले गर्दा प्राचीनकालमा विषकन्याको अस्तित्वलाई नकार्न सकिदैन । इतिहासका विषयदेखि राज्य सञ्चालन सम्बन्धी विभिन्न विषयवस्तुमा समेत विषकन्याको उल्लेख हुनुले यसलाई अतिरञ्जित र कपोकल्पित विषयको रुपमा प्रस्तुत गरेको मान्न सकिन्न । संस्कृति र ऐतिहासिक पुरातन विषयको खोज र अनुसन्धानमा लागेका  अनुसन्धानकर्ताहरु यसलाई कपोकल्पित र अतिरञ्जित मान्न तयार छैनन् ।

जसमध्ये पाश्चात्य विद्वान हट्ज र ब्लुमफिल्डलाई प्रमुख रुपमा लिन सकिन्छ । वर्तमान समयमा विषकन्या अप्रासांगिक लागेपनि यसमा सन्देह छैन कि विषकन्याको व्युत्पति तथा अनेक रुप एवं अस्तित्व प्राचीनकालदेखि नै थियो । यद्यपि अनुसन्धानकर्ताहरुमा मतैक्य हुन नसकेबाट यसको वास्तविकता भने प्रमाणित रुपमा प्रष्ट हुनसकेको छैन् । 

विषकन्या सिकन्दर