कला साहित्य

'खान र बाँच्नकै लागि यदि हामी जिउँदो छाै भने त ढुङ्गे युग नै काफि थियाे नि'........

'खान र बाँच्नकै लागि यदि हामी जिउँदो छाै भने त ढुङ्गे युग नै काफि थियाे नि'........

हामी धेरै कमजाेर छाै, अशिक्षित छाै,  हाे डिग्री हासिल गरेर पनि अझै अशिक्षित छाै । हाम्राे बुझाइ एकदमै कमजाेर छ । हामी भेडाका बथान जस्ता भएका छाै, त्यसैले त सहि र गलत के हाे भन्दा पनि मान्यता कतातिर छ त्यसकै पछि पछि दगुर्छौँ । मान्यता र परम्पराकाे जालाेलाई अनेक दोष दिदै पन्छिन खाेज्छाै । 

मान्यताकाे नामकाे पासाेमा हामी आफ्नै बलिदानी दिईरहेका छाै । विकाश नामकाे खाेलीमा विभेद नामकाे झाेली भिरेर, डुंगाममा सयर गरिरहन्छाै भने त्याे खाेलीकाे पानी खै कहिले सफा हुने ?  हामी बस्ती बनाएर बर्षाैदेखि हुलमुल समाज र राष्ट्र बनाउदै एकजुट भएर बसिरहेका छाै । समयसङ्गै जिवनयापनका लागि सहजता पनि बढ्दै छ। यी सबै सबै बुद्धि र बढाइ चढाईमा मानिसकाे साेचाई चाहिँ साघुरिदै जान्छ भने याे आधुनिकताकाे के काम ? खान र बाँच्नकै लागि यदि हामी जिउँदो छाै भने त ढुङ्गे युग नै काफि थियाे नि।  

एउटा गाउँमा बिहे हुँदै थियाे । गाउँका सबै सबैलाई चुले निम्ताे दिईएकाे रहेछ सिर्फ एउटा घर बाहेक । त्याे घर विवाह हुने घर भन्दा करिब ४ सय मि. काे दुरीमा थियाे । अन्य सबै गाउलेहरु विवाहमा मस्त थिए, तर त्याे एउटा घरकाे मानिस भने आफ्नै सुरमा काम गर्दै थिए । यी सबै सबै देखेर मेराे काैतुहलताले पनि सिमा नाघेपछि छेउमै बसेका एकजनालाई सोधिहाले, त्याे घरकाे मानिस किन विवाहमा नअाएकाे ? मेराे प्रश्न भुईमा खस्न नपाउदै ती मानिसले साउती मार्दै भने अरे त्याे घरकी बुढि त बाेक्सी हाे नि त्याे विवाहमा आई भने त बर्बाद हुन्छ, थाहा छ उसंग त बोल्नु पनि हुदैन, त्यसले हेरि मात्र भने पनि छेदभेद लगाईदिन्छे ।

उसको कुरा सुनेर मेराे मुटुको चिसाे भयाे, सास फुलेर आयाे, अनि मनले साेच्न थाल्याे कि एउटी अबला नारी कसरी बोक्सी हुन सक्छे ?  एउटा मानिसले अर्को मानिसलाई याे कस्ताे आरोप लगाउदै छ, अनि समाज र सामाजिक कार्यबाट बिमुख गराउदै छ । उनिहरुकाे याे व्यवहार त जवरजस्तीकरणी र ज्यानमारा भन्दा पनि ठुलाे अपराध ठहिरएकाे छ । मलाई ती बिनाकारण बाेक्सीकाे आरोप लगाईएकी  आमासँग कुरा गर्न मन लाग्याे , उनकाे घरमा गए उसाे त म त्यहाकाे बिल्कुलै अपरिचित थिए । 

आफ्नाे परिचय दिदै घुम्दै त्यहा आएकाे बताए । आमा एकदमै फरासिली हुनुहँदाे रहेछ। तर एकदमै गरिब । पानी प्यास लागेकाे बाहाना बनाउदै पानी मगाए र एक अम्खरा घटघटी पारे । मलाई निश्चिन्त हुनु थियाे कि ती आमा बाेक्सी हाेईनन। पानी खाएर गएकाे १/२ दिन र एक हप्ता नै पर्खिए, तैपनि ती आमाकाे पानीले कुनै असर पाे गरिहाल्छ कि ? त्यसपछि ती गाउलेलाई भन्न सकुँ कि म गलत रहेछु, तपाईंहरु एकदमै सहि । तर बिडम्बना त्यसाे हुन सकेन , उनी बाेक्सी त यसकारण भएकी रहिछिन कि उनी गरिब थिईन बेसाहारा थिईन, दरिद्रता थियाे उनकाे घरमा । त्यसपछि मैले सजिलै अड्कल लगाए, कमजाेर र कमजाेरी माथि खेलवाड गर्दै अगाडि बढ्न चाहने जन्तु नै पाे मानव रहेछ । 

यस्तै अर्काे घटना पनि छ, मेरै गाउँको पल्लाे गाउँको काकाकाे हृदयघातको कारण मृत्यु भयाे, घरमा कमाउने जमाउने व्यक्तिकै निधन भएपछि गरिबी र अभावको जालाेले कतिसम्म जेल्छ, त्याे भाेग्नेहरुलाई मात्र थाहा हुन्छ । त्यसपछि काकी बाेक्सी भईन, श्रीमान मार्ने पनि काकी, गाउँलेका भैंसी बिरामी भएपनि काकीले, बच्चाबच्चीलाई ज्वराे आएपनि काकीले, यतिसम्म कि गाउँमा यदि कसैलाई छारे राेग लागे पनि धामीझाँक्री लगाएर काकीलाई नै दाेष लगाईन्थ्यो। 

केही बर्षपछि ती काकीका छाेराछाेरीले कमाउन थाले, उनि बिस्तारै सम्पन्न हुँदै गइन,  ति काकी अहिले बाेक्सी हाेईन गाउँकाे राम्रो र गन्यमान्य ब्यक्तिभित्र नै पर्न थालेकी छिन ।

यस्ता घटनाहरु हेर्दा लाग्छ, मानिसले आफुलाई सहज बनाउन र अरुलाई दमन गर्नकाे लागि नै कतिपय मान्यताकाे विकास गरेको छ । साेचाईमा परिवर्तन ल्याउन जरुरी छ । जसले गर्दा संसार स्वत: सकारात्मक र सहि मार्ग निर्देशनतर्फ लम्कन सकाेस !

-गीता अधिकारी