विचार

चुनाव नलड्ने हो भने कांग्रेस सन्त, महन्तको पार्टी

चुनाव नलड्ने हो भने कांग्रेस सन्त, महन्तको पार्टी

नेपाली कांग्रेसको आधार म मात्रै होइन । म ढलें भने नेपाली कांग्रेसको इमारत ढल्छ भन्ने कुरा  झूठो नबुझेको कुरा हो । म बेसी चिनिएँ राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो अर्कै कुरा हो, तर यसो भन्ने हो भने जब म यहाँ गृहमन्त्री थिएँ ०७–०८ सालमा तबदेखि नेपाली कांग्रेस टिकिरहेको छ । त्यसबखतदेखि आजसम्मको म यसको इतिहास देखिरहेको छु । नेपाली कांग्रेसलाई कुनै जमातले मद्दत गरेन । त्यै पनि नेपाली कांग्रेसले चुुनाव जित्यो । नेपाली कांग्रेसमाथि अहिले पनि जनमानसमा विश्वास छ, आस्था छ । कुनै अरुहरुले समर्थन गरेर भएको होइन । त्यसो हुनाले सोच्नुपर्छ के कारणले यसो भएको होला ?

हामीहरुको सम्झौता नगर्ने प्रवृत्ति प्रजातन्त्रको बारेमा छ । त्यसको निमित्त बन्दुक उठाउन पनि तयार हुने तत्परताले गर्दा जनतामा यो भावना आयो । त्यसलाई कम्युनिष्टहरुले मद्दत गरे वा गोरखापरिषद्ले मद्दत गर्यो वा टंकप्रसादले मद्दत गरे वा कसले हामीलाई बिगार्ने बाहेक मद्दत गर्यो, या राजाले नै हामीलाई मद्दत गरे ? कसैले गरेन तर जनताको अगाडि के देखिएको छ भने लिस्ट तयार पार्दा होलान उनीहरु मनमा– उनीहरुको पक्षमा बोल्ने र त्यो बोल्दाखेरि उनीहरुले खाएको मारको फेहरिस्त तयार गर्दा होलान् त्यसमा हामीहरुबाट हाम्रो र्याङकबाट धेरै मरेका मान्छेहरु देखे होलान । अस्तिसम्म पनि । त्यसले पार्दाखेरि जनताको विश्वास हामीलाई छ । केवल म बोल्न जान्दछु  र यसलाई भेटें उसलाई भेटने होइन । धेरैले म भन्दा पनि बेसी मानिसहरुसंग भेटेका छन् । ब्रेजनेभ धेरै ठूलो मानिस होइन । उसंग भेटेर आउने यहाँ धेरै मानिस होलान । त्यसले गर्दा होइन । 

अर्को कुरा मेरो भित्रैदेखिको विश्वास के छ भने म रहँदाखेरि साथीहरुमा एउटा आत्मनिर्भरताको अलिकति कमीजस्तो देखिन्छ । किनभने म मिलाइहाल्छु भनेर । म नरहेको खण्डमा त्यो हुँदैन । अब त स्थानीय साथीहरुमा त्यो जवाफदेही रहन्छ । मैले बोलेका कुराहरु त अब उनीहरुले बोल्नुपर्छ । अब मेरो आडमा बसेर गैर जवाफदेहीवाला कुरा गर्थे, त्यो अब गर्न पाउँदैनन् । म भइदिँदाखेरि क्यै मात्रामा हाम्रा कार्यकर्ताहरु अलिकति गैरजिम्मेवार कुरा गर्थे । नेताहरुमा पनि आफैंले व्यहोर्नुपर्ने अवस्था आउनेछ । त्यसो हुनाले मलाई के लाग्छ भने, जुन धरातलमा हामी उभिएका छौं– राष्ट्रियता र प्रजातन्त्रको यस धरातललाई हामीले छोडेनौं भने अहिले भन्दा ज्यादा भविष्य छ नेपाली कांग्रेसको । 

मलाई केही व्यक्तिहरुले के प्रश्न गरे भने, ‘होइन यो कसरी ? तपाईं राजासंग राम्ररी मिल्नुहुन्न, बाहिर पनि मिल्नुहुन्न, हामी यसरी कसरी टिक्ने ?’ मैले त्यसको जवावमा भने, ‘म मानिलिऊँ रे बाहिर हिन्दुस्तानमा मेल गर्न गएँ रे । मैले इन्दिरा गान्धीसंग गएर के भन्ने ? हिन्दुस्तानको क्यै न क्यै स्वार्थको पूर्ति मैले गरिदिनुपर्ला, अनि न तिनको चित्त बुझ्ला । त्यो मैले गर्ने ? यस तेत्तीस वर्षको अवधिमा, हिन्दुस्तानलाई सबभन्दा उपयुक्त भएको कुनै व्यक्ति थियो भने सुवर्ण शमशेर नै र, हिन्दुस्तानलाई पनि जति बढी सुवर्ण शमशेरलाई मद्दत गरेको थियो, त्यति बढी त कसैलाई गर्नै सक्दैन, तपाईं झुकेर मिल्नुभयो भने पनि ।

त्यसको परिणाम के भयो ? कति बलियो हुनुभयो ? हिन्दुस्तानसंग त्यसरी जोल्टिएर बस्दा पनि, हिन्दुस्तानले गरेको तमाम मद्दतबाट के भयो ? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लाग्दैन । उहाँसंग पैसा थियो, त्यसो हुनाले केही कार्यकर्ताहरुलाई पालेर राख्नुभयो । त्यसबाहेक त क्यै गर्नसक्नु भएन । राजनीतिक उपलब्धि त उहाँसंग केही देखिएन । त्यसो हुनाले, अरुसंग निर्भर भएर हामीले राजनीति गर्नुपर्छ भन्ने म मान्दिन ।

सुवर्णजी जस्तो अनुकूलको कोही व्यक्ति हुनसक्दछ हिन्दुस्तानका लागि ? र, सुवर्णजीलाई  गरेजति मद्दत हिन्दुस्तानले अरु कसैलाई गर्छ । यो कुरो हामीले बुझ्नुपर्छ । त्यसो हुनाले, हामीले कसैमाथि निर्भर हुनुहुँदैन । हामीहरुले आफ्नो दुईवटा धरातल– एउटा धरातल कता कता खुम्चिएजस्तो थियो, राष्ट्रियताको त्यो हामीले पुन हासिल गरेका छौं यस पाँचवर्षका अवधिमा । हामी हिन्दुस्तानबाट ज्यानको बाजी लगाएर आउँदाखेरि, त्यो राष्ट्रियताको धरातल हामीबाट खुस्किसकेको थियो । त्यसलाई हामीलुे पुन  हासिल गरेका छौं । त्यसो हुनाले यो दुईवटा धरातललाई हामीले छोडेनौं भने र, नेपालको भविष्य छ भने हामीहरु अजेय रहने छौं, हामीहरुलाई कसैले सिध्याउन सक्दैन । 

मैले हिजो कसैलाई जवाब दिँदाखेरि भने, म बडो तर्क दिएर तपाईंको मुख थुन्न सक्छु, तर म त्यो चाहन्न । किनभने तपाईंले उठाएको प्रश्न मेरो अगाडि पनि छ । मेरो निम्ति समस्या राजा छैनन । मैले काम गर्न पाएको छु । मैले जुन समस्याको सामना गर्नुपरेको छ , त्यो पार्टीबाट आफ्नै साथीहरुबाट सिर्जना गरिएका छन् । जुन समाधान हुननसक्ने समस्या समाधान नहुनु मेरो घरभित्रको समस्या भएको छ । मेरो समस्या नै घरभित्र छ । कम्युनिष्टहरुले ममाथि आक्रमण गरे भन्ने मेरो समस्या छैन ।

मेरो समस्या के छ भने मेरो लाईनलाई मेरै साथीहरुले बुझेनन् र , मैले अब सामना गर्नुपर्ने कुरा पनि त्यै छ । त्यस्तो जमात बनाउनुपर्यो, नेपाली कांग्रेसलाई हामीहरुको जो धरातल छ राष्ट्रियता र प्रजातन्त्रको, त्यसमाथि अडेर बस्ने हामी साथीहरुको जमात बनाउनुपर्यो । त्यो पो त मेरो निम्ति समस्या छ । भोलिको चुनावको मेरो समस्या छ । आजको संविधान, आजको राजनीति मेरो समस्या छैन । यो संविधान मेरो अनुकूल आउँदाखेरि जो चुनाव मैले लड्नुपर्ला, चारवर्षपछि या तीनवर्षपछि , या डेढवर्षपछि त्यस बखतको समस्या  म ऐल्हेदेखि देख्न थालेको छु । 

हामीहरु भित्रिने वित्तिकै देश कहाँबाट कहाँ पुगिसकेको छ । हामीहरुले यसपालि चुनाव लडेनौं केही कारणहरुले गर्दाखेरि । त्यो पनि साधारण कारणले गर्दाखेरि । अर्को चुनाव हामीले लड्नुपर्छ तर लड्नको निम्ति जुन औजार हामीले तयार गर्नुपर्छ, त्यो हामीसंग छैन । मेरो निम्ति त त्यो समस्या छ । मेरो निम्ति मात्र होइन, मेरा साथीहरुको निम्ति पनि । भोलि हामीहरुको शर्तमा चुनाव हुने भयो, संविधान प्रजातान्त्रिक आयो भने नेपाली कांग्रेसलाई कसरी जिताउने भन्ने समस्या छ । त्यस्तो किसिमको संगठन बनाउने समस्या ऐल्हे छ । कुनै अरु ठूलो समस्या छैन, सिद्धान्त विरोधीहरुको ।

म गृहमन्त्रीबाट हटेदेखि बरु अहिले, राजा मेरो निम्ति सबभन्दा कम्ति समस्या छन् । २००८ सालदेखि २०३८ सालसम्म, तीसवर्षको दरम्यानमा अगर राजा मेरो निम्ति समस्या भएनन् भने अहिले मात्रै । तीसबर्षसम्म, म प्रधानमन्त्री छँदा पनि समस्या थियो । त्यसो हुनाले कम्युनिष्टहरुको भनौं ती मेरा आजका समस्या हुन ? मलाई २००८ सालमा एउटा विद्यार्थी मारिएको बेलामा एउटा समस्या आयो, जे गरें ती समस्या भए । तर राजाको बारेमा, अहिले मैले बोल्दा तपाईंहरुलाई छक्क लाग्यो, अहिले पो त मेरो अनुकूल भएका छन् । मेरो निम्ति भन्नुको मतलब नेपाली कांग्रेसको निम्ति । नत्र राजाले त कसरी नेपाली कांग्रेस टुक्र्याउँ भन्ने काम गरिरहन्थे ।

एकपटक राजाले एकसय पच्चीस ती ग्रुपहरुको सम्मेलन बोलाए– हामीलाई पनि बोलाए । त्यसमा एउटा मृत्यु संस्कार संस्थालाई पनि बोलाएका रहेछन् । मैले राजासंग बाझें । अनि उनले भने, मेरो लागि त सब बराबर । चुनाव नभइकन कसरी थाहा पाउने, कुन ठूलो, कुन सानो ? बाह्य समस्या मेरो लागि ठूलो समस्या छैन अब, आन्तरिक समस्या मेरो निम्ति ठूलो समस्या छ । यो हाम्रा कार्यकर्ताहरुले बुझिदिएको खण्डमा आधा समस्या नै समाधान भएर जान्छ । 

गएको चुनाव झुठो, बेइमानीको हो भनेर म चित्त बुझाउँदिन । किनभने, जितेका हरेक मानिसलाई भोट दिएको मैले देखेको छु । जिताएका पनि छन् र ती त्यसै जितेका छैनन् । त्यो मैले बुझेको छु । त्यसो हुनाले, अरु जस्तो मलाई सजिलो छैन  भन्नलाई  कि प्रधानमन्त्रीले जितयो वा सरकारले जितायो वा राजाले जिताए । प्रधानमन्त्रीका नजिकका मानिसहरु पनि हारेका छन् चुनावमा । मलाई यस चुनावले एउटा सवक दिएको छ– हाम्रो राजनीति त अब चुनावको राजनीति हुन गइरहेको छ । कुनै न कुनै अवस्थामा हामीले चुनावमा भाग लिनैपर्छ । नत्र भने सन्त, महन्तको पार्टी हुनेछ । चुनावको राजनीति गर्ने हो भने, जति चुनाव भएका छन, त्यसलाई हामीले अध्ययन गर्नुपर्छ । 

दुईवटा चुनाव भए अहिले पाँचवर्षको बीचमा । एउटा जनमत संग्रह र अर्को आमनिर्वाचन । दुवैको सम्बन्धमा मेरो सामान्य धारणा साथीहरुको भन्दा भिन्दैछ । हामीहरुले २० लाख भोट पायौं भने मोटामोटी त्यही भोट हामीले पाउने छौं । कुनै हाम्रो संगठन छैन, क्यै छैन । जनमत संग्रहमा बहुदलमा परेको भोट हामीले पाएको भोट हो । मेरो अहिलेसम्मको धारणा छ– कम्युनिष्टहरुले पहेंलोलाई भोट दिएका छन् । त्यसो हुनाले २० लाख हामीले पाएको भोट हो– मैले भनेको छु ।

यसमा अरु कुनै पार्टीको योगदान छैन । हाम्रा साथीहरुले भनेका छन हामी ३६ लाखले जितेका थियौं, धाँधली गरेर हामीलाई हराए । म यस्ता झुठा कुरामा सन्तोष गर्न चाहन्न । चुनावको प्रक्रियाबाट सत्तामा आउन चाहने पार्टीले हरेका चुनावलाई बडो विवेचनात्म ढंगले अध्ययन गर्नुपर्छ । आफ्नो आत्मसन्तोष लिने कुरा छैन । हारेको छ भने हारेको मान्नुपर्छ । 

मोरङमा हामीले ६ हजारको बहुमतबाट जित्यौं । यो कसरी हुनसक्दछ भने । त्यसपछि मैले आफ्नो क्षेत्र भएकोले हरेक गाउँ पञ्चायतको मैले समालोचनात्मक अध्ययन गरें । मानिसहरुलाई सोधें । उनीहरुले भने, हामीले बाकसलाई छातीमा टाँसेर राखेका थियौं न पुगञ्जेलसम्म । त्यसो हुनाले, यो बाकस फेरियो भन्ने कुरा छैन, र मैले भने– बजारले दिएन होला । हो, बजारमा हामीले उस्तो पाएनौं भन्ने जिल्ला जिल्लाबाट मैले रिपोर्ट लिएको  छु । हारेका कारणहरु दिएका छन् । त्यसको कारणपट्टि मैले ध्यान दिएको छु । 

म एउटा प्रजातन्त्रवादी भएकोले, सत्तामा जुनसुकै तवरले जानै पर्छ भन्ने नभएकोले र एउटा पद्धतिबाट सत्तामा जाने भएकोले म हरेक चुनावको गम्भीर अध्ययन गर्छु । मलाई लाग्छ, हामीले अर्को चुनाव लड्नु पर्छ, पर्छ, पर्छ । संविधान हाम्रो अनुकूल आउँछ भन्ने मलाई विश्वास लाग्छ । आएन भने जसरी आजसम्म हामी बसेका छौं, बसौंला । तर हामम्रो अनुकूलको संविधान आएर चुनाव लड्नुपर्यो भने के हामी तयार छौं ? मेरो सामने त्यो समस्या छ । सबैले बुझिदिनपर्यो, जिल्लाका साथीहरुले बुझिदिनपर्यो । मलाई लाग्न थालेको छ– यता, सबैले बुझ्न थालेका छन् । 

मैले के भन्न खोजेको छु भने, हाम्रो जोड प्रजातन्त्रमाथि छ । हामीले राजासंग मिलेर लड्दा पनि प्रजातन्त्र माथिको जोड थियो र, राजाको विरुद्ध लड्दा पनि हाम्रो जोड प्रजातन्त्रमाथि थियो । हाम्रो लडाइँको कारण थियो– प्रजातन्त्र । हामीहरुलाई चार्ज नै के लाग्थ्यो हाम्रा विरोधीहरुबाट भने– कता कता जनमानसमा के परेको थियो भने हामीहरुको आधार हिन्दुस्तान हो २००७ सालदेखि । ‘दिल्ली सम्झौता’ भन्छन् । हामी दिल्ली गयौं । यद्यपि दिल्लीमा कुनै सम्झौता भएको होइन । कहीं बसेर हामीले दस्तखत गरेका छैनौं । तर हामी दिल्लीमा गएर, त्यो क्रान्ति टुंगियो । कता कता हाम्रा विरोधीहरुले एउटा मौका पाए र, आजसम्म हाम्रो विरुद्धमा त्यसको लागि आक्रमण भइरहेको छ । 

नेपाली काँग्रेस गोरखापरिषद्