मुख्य समाचार

उपचारका लागि प्रधानमन्त्री ओलीलाई अमेरिका लैजाने तयारी

उपचारका लागि प्रधानमन्त्री ओलीलाई अमेरिका लैजाने तयारी

काठमाडौंः  प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ । नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘मेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए । 

ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ । उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए ।

‘पार्टीभित्र प्रधानमन्त्रीको उपचार विदेश लगेर गरिने गरी आन्तरिक छलफल छ । त्यही कारण अध्यक्ष नेतृत्वको टोलीको चीन भ्रमण धकेलिएको छ,’ दाहालसँगै चीन जाने तयारीमा रहेका नेकपाका एक स्थायी समिति सदस्यले भने ।

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन् । काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन् । प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोसट् दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली अमेरिका