विचार

यत्र, तत्र, सर्वत्र सोमरस

यत्र, तत्र, सर्वत्र सोमरस

स्कच सायद स्कटल्यान्डको रक्सी हुनुपर्छ, जसरी छ्याङ नेपाली बन्यो । स्कटल्यान्डबासीले स्कच पिउँदै गीत रचे- अउल्ड ल्यान साइन अर्थात् 'करूणाको घुट्को लिऊ ।'

जब जौको रक्सी एकअर्कामा बाँडिन्थ्यो, सबैले एक साथ गिलास उठाउँथे र गाउँथे- करूणाको घुट्को !

ठाउँअनुसार रक्सीको प्रकार फरक भए पनि यसको महिमा कुरा गरी साध्य छैन । जीवनमा मैले पहिलो पटक रक्सीको महिमा 'मधुशाला'बाट थाहा पाएको थिएँ, जुन बेला मलाई यसको महिमा बिल्कुलै थाहा थिएन ।

जुन सामाजिक संरचनामा म हुर्किएको थिएँ, त्यसका 'धार्मिक' ग्रन्थहरूले सोमरसको यत्रतत्र चर्चा गरेका थिए तर धेरै समयावधिसम्म म त्यसको स्वादबाट वञ्चित थिएँ ।

मानव सभ्यता जत्तिकै पुरानो हुँदो हो, रक्सी र मानिसको सम्बन्ध । तर इतिहासमा यत्तिको महत्तवपूर्ण कुरालाई बिल्कुलै बेवास्ता गरियो ।

चाहे हाम्रा पुराकथामा बयान गरिएको सोमरस होस् या होमरका रचनामा स्थान पाएको मदरस, आखिर तिनले थोरबहुत प्रशंसा पाएकै छन् ।

लिखित रूपमा यसबारे ईशाको दोस्रो शताब्दीतिर रासायनिक तवरमा रक्सी बनाउने प्रचलनका बारेमा इंगित गरिएको पाइन्छ, जसमा मारिया हेब्रियाले अलेक्जेन्ड्रियामा नौलो तरिकाले रक्सी बनाएको उल्लेख गरिएको छ ।

आयरल्यान्डको इतिहास पुस्तक द एनल्स अफ क्लोनमानोइसमा पन्ध्रौं शताब्दीताका आदिवासी समूहका नाइके रिचर्ड माग्रनेल कसरी क्रिसमसका दिन ह्विस्की पिएर मर्यो भनी उल्लेख गरिएको छ ।

१७ औँ शताब्दीमा स्कट र आइरिस समुदाय जसै अमेरिका पुग्यो, उनीहरूसँग रक्सीको विधि उता पुग्यो । परिस्कार के भयो भने उनीहरूले जौबाट मात्र रक्सी बनाउँथे, अब उता पुगेपछि रेड-इन्डियनका अन्नबाट पनि रक्सी बनाउन थाले । यस कामका लागि जर्ज थोर्पे अब्बल थिए र उनी नामुद रक्सी उत्पादकका रूपमा चिनिए ।

उनलाई बढीभन्दा बढी रक्सी बनाउन रेड इन्डियनका बाली र खेत कब्जा गर्नु पर्थ्यो र गरे पनि । तर जर्ज थोर्पेले थोपरेको कब्जाका कारण स्थानीय इन्डियन र नयाँ बासिन्दाबीच द्वन्द्व शुरू भयो । यही कारण अमेरिकामा एउटा काण्ड घट्यो, जसलाई पहटन आमहत्या (१६२२) का रूपमा चिनिन्छ ।

खैर यो आमहत्यामा थोर्पेको हत्या त भयो तर उनले बनाएको ओक (कटुस ?) को भाँडोमा मकैको रक्सी निकै लोकप्रिय भयो ।

यता बेलायतमा रक्सीमाथि लगाइएको कर जसलाई माल्ट ट्याक्स (१७२५) भनी चिनिन्छ, त्यसले रक्सी उत्पादनलाई गुपचुप राख्न बाध्य पार्यो ।

रक्सीको लोकप्रियतालाई हेर्दै बेलायती सरकारले १७९१ मा नयाँभूमि (अमेरिका)मा कर लगाउन थाल्यो । कतिले यो करको विरोध मात्र गरेनन्, बेलायतीविरूद्ध समेत उत्रिए । अमेरिकी स्वतन्त्रता आन्दोलनमा एउटा चिया विद्रोहसँगै रक्सी विद्रोह पनि महत्त्वपूर्ण पाटो भए पनि यसको चर्चा त्यति साह्रो हुँदैन ।

जर्ज वासिङ्टनले पनि रक्सी बेचेर कमाउनु कमाए । उनले बेलायतविरूद्धको आन्दोलनमा रक्सी बेचेको पैसा ठूलै लगानी गरेका थिए ।

रक्सी र सामान्यजनको प्रेम कुरै नगरौँ ! जब रक्सीसँग साहित्यकार गाँसिए, यसको महिमा अझ बढेर गयो । चाहे चार्ल्स डिकेन्स र वासिङटन इर्भिङसँगको रक्सी झुत्ति होस्, (जसलाई पछि डिकेन्सले जीवनकै सबैभन्दा स्मरणीय पलका रूपमा लेखेका छन्) या मार्क ट्वेनले आफ्नी पत्नी ओलिभियालाई सन् १८७४ मा लेखेको पत्र होस्, (उनले बेलायत भ्रमणमा रहेका बेला कसरी कक-टेल खाए र त्यसमा के के मिसाइएको थियो भनी लेखेका थिए), विलियम फकनरले लेखेको रक्सीविरोधी टिप्पणी, सबैसबैले रक्सीको महिमा नै बयान गरेका छन् ।

अचेल त शास्त्रीय खान्कीबाट मदिरा आधुनिक र अनिवार्य पेयमा परिणत भइसकेको छ । तर के गर्नु ? यसको जतिसुकै महिमा वर्णन गरिए पनि हानाहान र मारामार कम भएको छैन । चाहे त्यो होमरका कवितामा हुन् या रेस्टुराँका भेला ! हुँदाहुँदा राजनीतिमा चुनाव जित्नसमेत रक्सी प्रतिबन्ध र भाटे कार्बाहीका कुरा देखिएकै हुन् !

तर मदिराप्रेमीको कुरै बेग्लै ! सन् १९२६ ताका सिंगल माल्टबाट निर्मित ह्विस्की १.९ मिलियन डलरमा किन्नसमेत बाँकी राखेका थिएनन् ।

चाहे दुःख होस् या खुसी, यसलाई 'मधुबाला' सरी अँगाल्ने भमराको कुनै कमी छैन ।

रक्सी छ्याङ