देश

चन्द्रागिरीमा एटिएम फोड्ने पक्राउ 

चन्द्रागिरीमा एटिएम फोड्ने पक्राउ 

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका ६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । सिटिजन बैंकको एटिएम मेशिन फोड्न लागेको अवस्थामा शनिबार राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्‍याईसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारेको थियो ।

उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।