विचार

इतिहासको त्यो दिन, धर्मका लागि सामूहिक आत्मदाह

इतिहासको त्यो दिन, धर्मका लागि सामूहिक आत्मदाह

जलसमाधिमा जानेहरुको निश्चय सुरुमै भइसकेको थियो । यसपटकको योजना गोप्य भएकाले सरकारी अवरोध हुने कुरै भएन । जलसमाधिमा जानेहरुले आफ्ना छोराछोरी नाबालक भएको अवस्थामा तिनीहरुलाई पनि जलसमाधि गराउने योजनामा देखिन्छन् । उमेर पुगेका र घरव्यवहार थाम्न थालेका छोराछोरीलाई भने उनीहरुले यसबारेमा केही नबताएको र घटनापछि मात्र ती छोराछोरीले थाहा पाएको देखिन्छ । यसको उदाहरणका लागि एउटै घटना पर्याप्त छ । भोजपुर दिङला निवासी टेकबहादुर बस्नेतका जेठा छोरा पोष्टबहादुर बस्नेतको विवाह भइसकेको थियो । उनका अर्का भाइ जब्बरबहादुर बस्नेत यसबेला १४ वर्षका थिए । 

यिनी पनि घरभन्दा केही टाढा रहेको गोठमा बसी गाईवस्तुको सेवा गर्दथे ।  यिनका आठ वर्षकी बहिनी चुडाकुमारी र पाँच वर्षका भाइ उत्तरबहादुर आमा बालुमाया बस्नेतसंग घरमै थिए । बुबा टेकबहादुर बस्नेत कुटीमा थिए । यसबेला दाजु भाउजु घरमा थिएनन ।  असार २१ गते शुक्रबार दिनको ३ बजेतिर बालुमायाले आफ्ना नाबालक छोराछोरी लिएर मझुवाबेसीतर्फ लागेको आफूले देखेको भोलिपल्ट जब्बरबहादुरलाई उनका छिमेकीहरुले सुनाएका थिए । यसबाट पनि जलसमाधिको विषय कति गोप्य रहेछ भन्ने स्पष्ट हुन्छ । 

जलसमाधिमा जानेहरु विसं १९९८ असार २१ गते शुक्रबार साँझसम्ममा सबै भेला भइसकेका थिए । यसदिन जलसमाधि जाने बाहेकका व्यक्तिहरु जम्मा भएको देखिदैन । दुईजना महिला नियमित जस्तै योगमायाको कुटीमा पुगेका थिए । यी दुई महिलामा एकजना चन्दनपुर बतासेकी खड्का थरकी र अर्की ब्राह्मण जातकी थिइन । यिनीहरुले त्यहाँ पुगेर अरु दिनभन्दा भिन्न परिस्थिति देखेपछि यथार्थ बुझे । उनीहरुले त्यहाँ केटाकेटी रोइरहेको सुने । जलसमाधिको योजना र त्यसको कार्यान्वयन भोलिपल्ट विहान हुने कुरा बुझेर उनीहर डर मान्दै त्यहाँबाट फर्किए ।

जलसमाधि दिनको अघिल्लो रात मझुवाबेसीमा कोही पनि सुतेनन । रातभर महिला, पुरुष र केटाकेटी सुतेनन् । बाटोको ठाउँठाउँमा लालटिन झुण्ड्याइएको थियो । मानिसहरुले योगमायालाई चढाउन आँप, केरा, भुइँकटहर आदि जस्ता फलफूल लिएर आएका थिए । रातभरि मानिसको कपाल खौरिने काम पनि भएको थियो । यसरी शुक्रबार र शनिबारको रात योगमाया र भक्तहरुको कुटीवरपरको वातावरण चहलपहलपूर्ण रह्यो । जलसमाधिमा जाने बेला भइसकेको थियो । तर जान चाहने केही भक्तहरु अझै आइनसकेकाले केही ढिला भइरहेको थियो ।

आखिरीमा विहान ४ बजेको समयमा मन्दिर लिपपोत गरी पूजा आरती हालेर योगमाया सहित जलसमाधि लिन तयार परेका ६६ जना व्यक्तिहरु जलसमाधिमा जानका लागि अरुण नदीको किनारमा रहेको ढुंगातर्फ लागे । हिँड्नुअघि योगमायाले आधा घण्टा प्रवचन दिइन । उनले भनिन– ‘हामी धर्मका खातिर ईश्वरसंग जाँदैछौं । हामीलाई लिन स्वयं भगवान आउनु हुन्छ । कति पनि डर नमान्नु होला ।’ नदी किनारमा पुगेपछि त्यहाँ पनि पूजा आरती गरियो । 

जलसमाधिमा जानेहरु कछाड, फेटाको पहिरनमा थिए । सबैभन्दा पहिले योगमायाले जलसमाधि लिनुपर्ने थियो । उनले चन्दन, अक्षता, फूल र दीयो बालिएको पाला टाउकोमा राखेर हामफाल्नका लागि तयार भएकी थिइन । जलसमाधि लिने बेला योगमायासहित उनका भक्तहरुले ‘अधर्मको नास होस, धर्मको स्थापना होस, अधर्मको अन्त्य भई धर्मको उदय हुनेछ ।’ भन्ने जस्ता नारा लगाएका थिए । यस्तै कामनाका बीच योगमायाले सबैभन्दा पहिले ‘मुक्तिको द्वार खुल्यो’ भन्दै नदीमा हाम फालिन । 

त्यसपछि क्रमश गंगादेवी न्यौपाने, नैनकला निरौला, दुखुना न्यौपाने आदि हुँदै उपस्थित जलसमाधिमा जानेहरुले क्रमश ः हाम फाले । डम्बरबहादुर बस्नेतले जलसमाधिमा जानेहरुको कुल संख्या ६८ उल्लेख गरे पनि नाम संख्या उल्लेख गर्दा १६ जना पुरुष र ४८ जना महिला गरी जम्मा ६४ को विवरण दिएका छन । यी मध्ये कतिपयको नाम उल्लेख नभएको र कतिपयको संख्या मात्र उल्लेख भएकाले  यस शोधकार्यका शोधकर्ताले थप नाम पत्ता लगाएका छन । 

योगमायासंग नदीतर्फ गएका मध्ये दुई महिला भने कुटीतर्फ फर्किएका थिए । फर्किएका पुरुषमध्ये एकजना बस्नेत थरका व्यक्ति थिए । धेरै स्रोतले प्रमाणित गरेअनुसार उनी पहलमान बस्नेत थिए । उनलाई ससाना दुईटा नानीहरु पालेर कुटीमै बसेका कारण योगमायाले तिनीहरु बेसहारा हुने भन्दै नदीमा हाम फाल्न रोकिन । योगमायाले ती महिलालाई पूजा आरती निरन्तर चलाउन निर्देशन दिँदै जलसमाधिमा नजान भनेकी थिइन । यी महिलाले पूजा आरतीको काम २०४८ सालसम्म पनि यथावत राखेकी थिइन । 

जलसमाधी घटनाका प्रत्यक्षदर्शी अर्का व्यक्ति मझुवाबेसीकै कारवारी माझी भन्ने व्यक्ति थिए । यिनले घटनास्थलकै नजिक लुकेर हेरेको लोकेन्द्रबहादुर बस्नेतलाई जानकारी गराएका थिए । आफ्नो छोरासहित ठूलो संख्यामा योगमाया र उनका भक्तहरु जलसमाधिमा गएकाले सो घटनाको विषयमा जाहेरी दिन महानन्द भण्डारी भोजपुर पुगेका थिए । उनलाई जिम्मावाल पुष्पलाल न्यौपानेले साथ दिएका थिए ।

गोश्वारामा जाहेरी दिएपछि सरकारी कर्मचारी साथै आई जाँचबुझ गरी फर्किएका थिए । छानबिनको प्रक्रियालाई अगाडि बढाउँदै लासहरुको खोजी गर्न एउटा टोलीसमेत खटिएको थियो । यो टोलीले जलसमाधिमा जानेहरुका आफन्तलाई साथमै लिएर अरुण वारिपारी दुई समूह बनेर जलसमाधि गएको स्थानदेखि लेगुवासम्म खोजी गरेको थियो । तर कसैको पनि लास फेला पर्न सकेन । सोही वर्षको कात्तिक महिनामा सरकारबाट ‘लास नभेटिए पनि क्रिया गर्नू’ भन्ने आदेश भएपछि जलसमाधिमा जाने मध्ये कतिपयको क्रियाकर्मसमेत भएको थियो । 

को कसरी मर्नका लागि तयार भए ?

जलसमाधिमा जानुअघि त्यसअघि भएका गतिविधि अझ रोचक छन् । योगमायाले जलसमाधिमा जाने इच्छुक महिला भक्तहरुमाथि कुनै रोकावट राखेको पाइँदैन । तर पुरुष भक्तहरुलाई भने अलि भिन्न नियम लगाइएको  पाइन्छ । पण्डित प्रेमनारायणले सन्यास लिएर आश्रम परिवर्तन गरिसकेको हुँदा उनी जलसमाधि होइन योगसमाधिबाट मोक्ष हुने कुरामा विश्वास राख्दथे । तर योगमायाले ‘आफ्नो चेलोलाई टुहुरो पारी म मात्र जान्न’ भनेर तर्क गरेपछि प्रेमनारायण पनि तयार भएका थिए । प्रेमनारायणका दाजु महानन्द भण्डारी जलसमाधिमा जान इच्छुक थिए । उनले सोही इच्छा योगमाया समक्ष राख्दा योगमायाले ‘तपाईंले गर्नुपर्ने काम धेरै बाँकी छ, अहिले जान पाउनुहुन्न’ भनेर जवाफ दिइन । यसरी योगमाया र महानन्दबीच भएको दोहोरो कुराकानी  महानन्दकी जेठी बुहारी कृष्णकुमारीले सुनिरहेकी थिइन ।

योगमायाले महानन्दलाई नजान सम्झाउँदै जलसमाधिपछि ठूलो उथलपुथल हुन्छ । सरकारले मानिसलाई दुख दिन्छ । यो स्थितिलाई सम्हाल्नका लागि बस्न सुझाव दिएकी थिइन । यसैबीच महानन्दकी कान्छी बहिनी गंगादेवी न्यौपानेले ‘तपाईं मर्ने बेला म सर्पको रुप लिएर आउँछु ।’ भनेपछि महानन्दकी बुहारी कृष्णकुमारी पनि जाने योजनामा भएकोमा उनी पनि ससुराको मृत्युको समयमा आउने सर्प हेर्ने सोच बनाई जलसमाधि नलिने निर्णयमा पुगेकी थिइन । 

योगमायाका भक्त नरेन्द्रबहादुर बस्नेत र उनका श्रीमतीहरु जलसमाधिमा जाने विषयमा पनि छलफल भएको थियो । नरेन्द्रबहादुर उनकै अनुरोधमा नजानेमा परेका थिए । अर्का भक्त डम्बरबहादुरले बस्नेतले उनको पुस्तक ‘श्रीभक्ति योगमायाजीको जीवनी’मा उनी रघुनाथ तिवारीको साथ मझुवाबेसी पुग्दा नै जलसमाधिको टुंगो लागिसकेको उल्लेख गरेका छन् । योगमायाले उनलाई यो कुरा कसैलाई नभन्नु भनेर सम्झाएकी थिइन । रघुनाथ तिवारी योगमायासंग बसे । डम्बरबहादुर भने घरतर्फ लागे । 

घर पुगेपछि ३० वर्षको उमेरमा घर व्यवहारतिर मन गएकोले प्राण त्याग्ने इच्छा नभएको कुरासमेत पुस्तकमा उल्लेख गरेका छन् । उनले पुस्तकमा लेखेका छन– ‘भाइ सूर्यबहादुर भाइ भक्तबहादुर म आफूसमेत २० गतेको विहानै गएर श्रीभक्तिको पाउँ परेर यसबाजी जाने मन भएन कसो गरुँ भन्दा मर्न मन नभई जवर्जस्ती मर्न हुँदैन आफूले भोग्नुपर्ने कामको भोग भोगेरै सक्नुपर्दछ यसबाजी मर्ने मन नगर विश्वास मानेर शरण परेका छौं ।’ 

यसरी योगमायाको अनुमति लिएर डम्बरबहादुर नजाने निर्णयमा पुगेको कुरा पुस्तकमा उल्लेख भएपनि डम्बरबहादुरको छोरो लोकेन्द्रबहादुर बस्नेत यो कुरासंग सहमत छैनन् । बुबा डम्बरबहादुर र पहलमान बस्नेत दुवैको जलसमाधि जाने निधो भएको थियो । जलसमाधिको समय यी दुवैजनालाई पर्खंदा साढे एक घण्टा ढिलो भएको उनको विचार रहेको छ । 

अर्का भक्त पहलमान बस्नेतले भने मातालाई आफू जलसमाधिमा जान तयार भएको भनेर आश्वस्त पारेका थिए । तर जानुभन्दा अघिल्लो दिन ‘म आफ्नो कूलपूजाको सामग्री छोरालाई देखाएर आउँछु’ भनेर योगमायासंग विदा भएर आएका थिए । तर उनी फर्किएनन । अन्तै कतै बसे । जलसमाधिमा जानेहरुलाई बाध्यताको कुरा थिएन । जाने वा नजाने व्यक्तिले निधो गर्न सक्थ्यो । जाने बाचा गरेर पछि नजानेहरुको विषयमा भने माताबाट जलसमाधिको क्षणमा आपत्ति प्रकट भएको थियो । 

अग्निदाहको काण्डमा आफूसहित धेरै भक्तहरु पक्राउ पर्नु परेको घटनाले जलसमाधिका लागि योगमायाले गोप्य तयारी गरेकी थिइन । अग्निकाण्डमा परी धनकुटा जेलबाट सबै भक्त मुक्त भएपछि विसं १९९८ सालको वैशाखमा ‘धर्मराज्य’ अगुवाहरुको भेला मझुवाबेसीमा सम्पन्न भयो । भक्तहरु भेला भएर वैशाखदेखि  असारसम्म धुमधामसंगी योगवाणी गाए । योगमायाले जलसमाधिको निश्चय गरिसकेकी थिइन । मात्र तिथि जुर्न बाँकी थियो ।

जलसमाधिमा जानु ७ दिनअघि धनकुटा जेल तोडेर भाग्ने जटा पालेर त्रिपुण्डक र धोती धारण गरी योगमायाका परमभक्त भएर बसेका टेकबहादुर बस्नेत आसामबाट आइपुगेका थिए । यिनी आएको ७ दिनपछि नै जलसमाधिमा जाने तय भएकाले योगमायाको विश्वासीलो भक्त टेकबहादुरसंग सल्लाह गरी मिति तय भएको पुष्टि हुन्छ । 
 

योगमाया जलसमाधि