हाम्रो पात्रो विज्ञापन
भिडियो

कपाल काटेरै मालामाल (भिडियोसहित)

कपाल काटेरै मालामाल (भिडियोसहित)

काठमाडौँ । काठमाडौँको कोटेश्वर महादेवस्थान नजिक एउटा चर्चित पार्लर छ रवि पार्लर । रवि पार्लर भन्नासाथ त्यस क्षेत्रका अधिकांशले तुरुन्त स्थान देखाउँछन् । पार्लरका सञ्चालक हुन् भारतको वेष्ट बंगाल जन्मथलो भएपनि नेपाल कर्मथलो बनाएका रवि प्रमानिक ।

आर्थिक अवस्था मजबुत नभएकै कारण कामको खोजीमा १५ वर्षको उमेरमा २०५८ सालमा कोटेश्वर महादेवस्थान नजिक कारखानामा काम गर्न आएका रवि नेपाल छिरेको दुई दशक पुग्नै लाग्दा आफ्नै व्यापारको मालिक मात्र बनेका छैनन् उनको पार्लरले अहिले ब्रान्च खोलेर अघि बढिसकेको छ ।

उनी भन्छन् –‘ सन्तुष्ट छु । व्यवसाय पनि ठीक छ ।’ पहिले र अहिले मानिसहरुमा पनि उनले धेरै परिवर्तन पाएका छन् । कुनै जमानामा उनलाई हजामको रुपमा नेपालीहरुले हेप्थे अहिले उनैले नेपालीहरुलाई काममा लगाएका छन् । ‘अहिले ६ जना स्टाफ छन् । ४ जना नेपालीहरु काममा राखेको छु ।’ 

उनका अनुसार कपाल काट्ने काम सहज भने छैन । ‘ग्राहकलाई सन्तुष्ट बनाउन निकै गाह्रो हुन्छ ।’ उनले भारतजस्तो मुलुक छाडेर नेपाल नै रोजे किन त ? उनी भन्छन् –‘नेपाल जत्तिको सजिलो भारतमा छैन ।’ 

रविले नेपाली नै विवाह गरेका छन् । उनको ससुराली मेलम्ची हो । उनी भन्छन् –‘कपाल काट्दा काट्दै लव पर्यो । उनी नजिकै पसलमा बस्थिन । लव पर्यो । विवाह गरियो ।’ रविका अहिले दुई सन्तान छन् । विस्तारै व्यवसायिक बनेका रविले नेपालमा १९ वर्ष बिताइसकेका छन् ।

उनकोमा कपाल काट्नेको लाइन नै लाग्छ । रविले विभिन्न चाडपर्वमा सेवा सुविधा पनि दिएका छन् । छुट पनि उपलब्ध गराउने गरेका छन् । उनै रविसँग १० प्रकारका कपाल काट्ने कला छ । हामीले रविसँग कपाल काट्ने तरिका, उनको व्यवसायभित्रका चुनौती, सहजपन, नेपाल बसाई र अनुभवबारे जानकारी लिएका छौँ ।