समाचार

आजदेखि भद्रपुर–ताप्लेजुङ सीधा उडान

आजदेखि भद्रपुर–ताप्लेजुङ सीधा उडान

झापाः निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । सोमबारदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही सातामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको  छ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी बताए । उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ ।

हरेक दिन बिहान ७ बजेदेखि भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ । यात्रुको  रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ।   

झापा सीता एयरलाइन्स भद्रपुर–ताप्लेजुङ उडान