समाचार समाज

अनशनरत डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

अनशनरत डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । चिकित्सा शिक्षामा सुधारको माग राखेर डडेल्धुरामा अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गरिएको छ । डाक्टर केसीले अघि सारेका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले सोलिडारिटी फर डाक्टर केसी एलाईन्सले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदा पनि सरकारले उनको माग सम्बोधनमा बेवास्ता गरेको आरोप लगाए ।

डाक्टर केसी गत सोमबारदेखि मेडिकल कलेजहरुले लिँदै आएको चर्को शुल्क फिर्ता र मेडिकल शिक्षामा देखिएका विकृति हटाउन माग गर्दै १७औं पटक अनशनमा बसिरहेका छन् ।

अनशनकै क्रममा स्वास्थ्य विग्रेपछि शुक्रबार बेलुकादेखि उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा ऐन संशोधन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्तिको व्यवस्था गरी एमबीबीएस कार्यक्रम सञ्चालनलगायतका माग केसीले अघि सारेका छन् ।