समाचार

राजस्व छलीको अभियोगमा ३ चिनीयाँसहित ४ जनाबिरुद्ध मुद्धा

राजस्व छलीको अभियोगमा ३ चिनीयाँसहित ४ जनाबिरुद्ध मुद्धा

काठमाडौं - राजस्व अनुसन्धान विभाग ललितपुरले राजस्व छलीको अभियोगमा ३ चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध राजस्व छलीको मुद्दा अगाडि बढाएको छ । नक्कली बीजक प्रयोग गरी राजस्व छली गरेको भन्दै विभागले उनिहरुविरुद्ध राजस्व छलीको मुद्दा अगाडि बढाएको हो । 

विभागले नेपाल दोङहवा कन्सट्रक्सन इन्जिनियरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुबिन श्रेष्ठविरुद्ध कार्तिक १९ गते मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमा ३ चिनियाँ नागरिक र १ नेपाली रहेका छन् ।

यस कम्पनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख, आयकरतर्फ ७ करोड ७७ लाख रुपैयाँ तथा लाभांश करतर्फ १ करोड १४ लाख रुपैयाँ राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व चुहावट गरेको अभियोगमा उनीहरुलाइ १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गरिएको जनाएका छन। 

उनीहरु अहिले प्रहरी हिरासतमा रहेका छन् । नेपाल दोङहवा कन्सट्रक्सन कम्पनीले कुनै पनि वस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरेर राजस्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको मैनालीले बताए ।  राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध विगत ८ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।