समाचार

११ महिनाको बर्ष बनाउने प्रस्ताव सरोकारवालाद्वारा अस्विकार

११ महिनाको बर्ष बनाउने प्रस्ताव सरोकारवालाद्वारा अस्विकार

काठमाडौँ।   २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्वाव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ।

पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो।

‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’ उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १/१ महिना सार्न आवश्यक छ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन।