समाचार

नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित १६ जना पक्राउ

नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित १६ जना पक्राउ

काठमाडाैं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना नेता र कार्यकर्तालाई बाजुरा प्रहरीले पक्राउ गरेको छ।

बाजुराका प्रहरी प्रमुख, डीएसपी उद्धवसिंह भाटका अनुसार पक्राउ पर्नेमा केन्द्रीय सदस्य चुडामणि ओलीलगायत १६ जना छन्। उनीहरूलाई गौमुल गाउँपालिका वडा नम्बर ३ बाट आज दिउँसो पक्राउ गरिएको उनले बताए ।

“म आफैं घटनास्थल पुगेको थिएँ, म मोटरसाइकलमा फर्कें, उनीहरूलाई ट्रयाक्टरमा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ”, डीएसपी भाटले भने ।चन्द समूहका नेता र कार्यकर्ताको ठूलो समूह बझाङबाट बाजुरा प्रवेश गरेको सूचना पाएपछि प्रहरी टोली परिचालित भएको र उनीहरूलाई गौमुल गाउँपालिका–३ बाट पक्राउ गरिएको उनले बताए।

“सूचना पाएपछि त्यहाँसम्म पुग्नै ४ घण्टा लाग्यो”, डीएसपी भाटले भने, “पक्राउ गर्नासाथ हत्कडी लगाएर हिंडाइहाल्याैं । झोला खानतलासी गर्न नपाएकाले हातहतियार र बन्दाेबस्तीका सामान के के छन् भन्ने स्पष्ट भइसकेको छैन।”