समाचार

उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेज

उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेज

भक्तपुर – भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेज गरिएको छ । आगामी मङ्सिर १४ ग उपनिर्वाचनका लागि नाम दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँकाे उम्मेदवारी खारेज गरिएको हाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए ।

अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उनको भनाइ थियो । दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै यही कात्तिक २४ गते बिहान १०:०० देखि दिउँसो १: ०० बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३:०० देखि ५:०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।