प्रविधि

टेलिभिजनमा दृश्य कसरी देखिन्छ ?

टेलिभिजनमा दृश्य कसरी देखिन्छ ?

२० औं शताब्दीको शुरुमा आर्थिक खोजकर्ताहरुको ध्यान रेडियो प्रसारणतर्फ रहेको थियो । उनीहरुले टेलिभिजन प्रसारणको लागि पनि त्यतिक्कै ध्यान दिएका थिए । सन् १९११ मा स्कटल्याण्डका बिजुली इन्जिनीयर ए.ए. कम्बजे स्वीन्टनले टेलिभिजन प्रसारणको लागि क्याथोर्ड किरण ट्यूबको प्रयोग सिद्धान्त प्रतिप्रादन गरे । त्यसपछि सन् १९३२ मा ‘रेडियो कर्पोरेशन अफ अमेरिका’ले पूर्ण रुपमा विद्युत शक्तिबाट सञ्चालन हुने पहिलो टेलिभिजनको विकास गर्यो । यसैमा अनुसन्धान गरी जर्मनीले सन् १९३५ आफ्नो नियमित टेलिभिजन प्रसारण गरिसकेको थियो । तर विधिवत रुपमा विश्वको पहिलो दूरदर्शन प्रसारण सेवाको श्रेय बीबीसीलाई दिइन्छ । जो सन् १९३६ मा शुरु भएको थियो । 

टेलिभिजन साँच्चै नै एउटा जटिल मेसिन हो । तर पनि जुन सिद्धान्तबाट टेलिभिजन सञ्चालन हुने गर्छ, त्यसलाई हामी सजिलै बुझ्न सक्दछौं । मूलत रेडियो जुन सिद्धान्तमा काम गर्दछ, सोही अनुसार टेलिभिजनले पनि काम गर्छ । तर टेलिभिजनमा तस्वीर र रंगलाई पनि देखाइन्छ । यसकारण रेडियोको तुलनामा टेलिभिजनसंग सैकडौं गुना बढी जानकारी आफ्नो साथमा हुनुपर्दछ । बिजुली चुम्बकीय रेडियो तरंगहरु आकृतिमा अंकित भएर टेलिभिजनमा तस्वीर देखा पर्दछ ।

रेडियोमा आवाजलाई बिजुली शक्तिमा परिणत गरिन्छ । र कुनै खास प्रकारको रेडियो तरंगमा त्यो शक्तिको मिश्रण गरिन्छ । यो सबै सूचनाहरुको लागि टेलिभिजनमा रेडियोको तुलनामा कैयौं गुना बढी बिजुली स्पन्दहरु बनाउनु पर्छ । यी स्पन्दहरुलाई रेडियो तरंगमा ल्याउन जुन तरंगको सहयोग लिनु पर्दछ , तिनीहरु पनि रेडियो तरंगको तुलनामा सयौं गुना बढी प्रकारका हुन्छन् । त्यसैले टेलिभिजन प्रसारणमा रेडियो तरंगको संख्या र प्रकार बढी हुन्छ । टेलिभिजनको ब्याड रेडियोको तुलनामा ६ सय गुना चौडा हुन्छ । टेलिभिजन पर्दामा देखिने तस्वीर विन्दु र रेखाहरुको जालबाट तयार गरिएको हुन्छ । विन्दु र रेखाहरु परिवर्तन हुने गतिलाई हाम्रो आँखाको दृष्टि क्षमताले ठम्याउन सक्दैन । 

टेलिभिजन सेटको मुख्य भाग यसको क्याथेर्ड किरण ट्यूब हो । त्यो च्याप्टो आयतकार शिर भएको विशाल बल्बजस्तो देखिन्छ । यसको चेप्टोकार शिर नै टेलिभिजनको पर्दा हो, जसमा हामी टेलिभिजन प्रसारण देख्दछौं । यो पर्दाको भित्री सतहमा फोस्फरको लेप लगाइएको हुन्छ , जसमा तेज इलेक्ट्रोल धारा परेपछि चम्किन्छ । र निलोपन भएको प्रकाश दिन्छ । फोस्फरलेपको पछाडि एउटा यस्तो आल्मुनियमको भाग हुन्छ , जो फोस्फरको प्रकाशलाई ट्यूबमा फिर्ता आउन दिँदैन । 

प्रकाश टेलिभिजनबाट बाहिर दर्शकहरुतिर परावर्तित हुन्छ । यस ट्यूबको अर्को भागमा इलोक्ट्रोन गन हुन्छ । यसले प्राप्त भएको सबै इलेक्ट्रोन धाराहरुलाई पर्दातर्फ पठाउने गर्दछ । इलेक्ट्रोन धारा यसमा भएको क्याथेर्डबाट उत्पादन  हुन्छ । त्यसैले क्याथोर्ड ट्यूब भनिएको हो । इलेक्ट्रोन गनबाट इलेक्ट्रोन धारा पर्दामा बायाँबाट दायाँतर्फ हल्का तेर्सो रेखाको रुपमा दौडिन्छ र दायाँ किनारमा पुगेपछि तेज  गतिमा बायाँ किनारमा फिर्ता आउँछ । टेलिभिजनको पर्दामा बायाँबाट दायाँ तेर्सो रेखाहरुको रुपमा जाने यी इलेक्ट्रोन धाराको एक रेखाको बाटोमा करिब ५ सय २० फोस्फर विन्दु पर्दछ । एउटा पर्दामा करिब ३ सय ९० रेखा र तलदेखि माथिसम्मका फोस्फर बिन्दुहरुलाई हाम्रो आँखाको रेटिनाले ग्रहण गर्छ । पर्दामा इलेक्ट्रोन धारा पर्ने वित्तिक्कै प्रकाशित हुन्छ । सो भन्दा अगाडि गइसकेपछि पनि केही समय टेलिभिजनको पर्दा चम्केको देखिन्छ ।

त्यसैले हामीले कैयौं पटक देखेका पनि छौं कि टेलिभिजन सेट बन्द गर्दा केही समयसम्म चम्कने भएकाले टेलिभिजन प्रसारणमा तस्वीर अडेको देखिन्छ । यसप्रकार तस्वीर अडिनुको अर्को मुख्य कारण इलेक्ट्रोन धाराको तेज गति हो ।  जुन पर्दाको बायाँबाट दायाँतर्फ तेज  गतिमा करिब ७–८ मिल प्रति सेकेण्डको गतिमा दौडन्छ । र दायाँबाट बायाँ फर्कंदा यसको गति पहिलेको भन्दा दोब्बर हुन जान्छ । यसैले टेलिभिजनको पर्दामा एक सेकेण्डमा ५० पटक सबै विन्दुहरु प्रकाशित हुन्छन् । हाम्रो आँखाले तब मात्र वस्तुको गति थाहा पाउन सक्छ, जब कुनै बस्तु एक सेकेण्डमा ४८ पटक वा त्यो भन्दा कम गतिमा बल्ने र निभ्ने हुन्छ । त्यसैकारण हामीले हाम्रो घरमा बिजुली बल्बको एकनास प्रकाश दिएको पाउँछौं ।

वास्तवमा बिजुलीको एसी करेन्ट बल्ने भएका कारण त्यस्को प्रकाश तेज वा मधुर दुवै हुन्छ । बिजुलीको एसी करेन्टको गति तीब्र भएकाले हाम्रो आँखाले देख्न सक्दैनौं । टेलिभिजनको पर्दामा आकृतिहरु चमकको माध्यमबाट बन्दछन् । रंग भन्ने चमक रंगको मिश्रणबाट बन्दछ । श्वेतश्याम टेलिभिजनमा क्याथोर्ड किरण ट्यूबभित्र केवल एउटा मात्र इलेक्ट्रोन गन रहेको हुन्छ । त्यसैले प्रसारणबाट प्राप्त हुने बिजुली चुम्बकीय बिजुलीको संकेतको आधारमा फोस्फर बिन्दुको चमकमा फेरबदल गरी श्वेतश्यामकै अनेकौं छायाँ बनाउने गर्दछ ।

फलस्वरुप टेलिभिजन पर्दामा तिनै छायाँलाई विभिन्न आकृतिका रुपमा देख्दछौं । यसको विपरित रंगीन टेलिभिजनमा तीनवटा इलेक्ट्रोन गन रहेको हुन्छ । पर्दामा पनि ३, ३ वटा फोस्फर विन्दुहरुको जाल विछ्याइएको हुन्छ । यसमध्ये एउटा रातो, अर्को हरियो र बाँकी नीलो रंगको हुन्छ । यदि हामीले इन्द्रेणीलाई हेर्ने हो भने पनि रातो, पहेँलो रंग बीचमा हरियो र नीलो अन्तिममा देखिन्छ । यी रंगहरुलाई प्रमुख रंग मानिन्छ । सबै रंगहरु यिनै रंगहरुको मिश्रणबाट बन्दछन ।

उदाहरणका लागि यदि तपाईं सेतो रंग बनाउन चाहनु हुन्छ भने ३० प्रतिशत रातो, ५९ प्रतिशत हरियो र ११ प्रतिशत निलो रंग मिलाएमा सेतो रंग बन्दछ । रंगीन टेलिभिजनको पर्दामा तयार हुने यी तीन फोस्फर बिन्दुहरुलाई सो ट्यूबमा भएको ३ इलेक्ट्रोन गनले सोही अनुपातमा उज्यालोपन दिन्छ, जसबाट दृश्यअनुसारको रंग बन्दछ । यी सबै जानकारी बिजली चुम्बकीय रेडियो तरंगहरुसंग मिलेको बिजुली स्पन्दहरुको रुपमा टेलिभिजन एन्टेनासम्म आइपुग्छ । 

रेडियोमा जस्तै टेलिभिजन सेटमा भएको एम्प्लिफायरले त्यसलाई ग्रहण  गरी पहिला आफ्नो शक्ति बनाउँछ । र पछि त्यसको हिसावमा इलेक्ट्रोन गनले पर्दामा भएको फोस्फर बिन्दुहरुलाई प्रकाशित गरी पर्दामा तस्वीर बनाउँदछ । यसको साथै पर्दामा भएको इलेक्ट्रोन धाराले सबै रेखाहरुलाई एकै पटक उज्यालोपन दिँदैन । पहिले एउटा रेखा छोडेर पूरा पर्दाको रेखा प्रकाशित गरिन्छ, त्यसपछि मात्र बाँकी रेखाहरुलाई प्रकाशित गरिन्छ । यसप्रकार एक सेकेण्डमा २५ देखि ३० तस्वीर पर्दामा २, २ पटक प्रकाशित हुन्छ ।

सिनेमाको पर्दामा पनि यही फर्मूला लागू हुन्छ । यो अन्तर विभिन्न देशको एसी करेन्टको वितरणमा हुने भिन्नताको कारणले हुन्छ । जस्तै अमेरिकामा बिजुलीको करेन्ट ६० हर्डस प्रति सकेण्ड छ भने इंगल्याण्ड र भारतमा ५० हर्डस प्रति सकेण्ड छ । टेलिभिनज खोल्दा तस्वीर आउनुअघि आवाज आउने गर्दछ, यस्तो हुनुको कारण ट्यूबमा रहेको इलेक्ट्रोन गन तातो हुन २ सेकेण्ड लाग्दछ । त्यसैले त्यो ट्यूब तातो भएपछि मात्र धारा पर्दामा देखिन्छ ।

पब्लिक न्यूज एजेन्सीबाट साभार ।

टेलिभिजन दृश्य