विदेश

१६ जनाको हत्या गरेर दुई उत्तर कोरियाली माझी दक्षिण कोरिया भागे

१६ जनाको हत्या गरेर दुई उत्तर कोरियाली माझी  दक्षिण कोरिया भागे

माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ।

उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो।

उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसहरूलाई प्राय: दक्षिण कोरियाले शरण दिने गरेको छ। तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा उसले त्यसो गरेन।

उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानियो र तदनुरूप व्यवहार गरियो। माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए। 

चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरूले मारिदिएका थिए। सबै शवलाई समुद्रमा फालिदिएको थियो।