विदेश

ट्रम्पमाथि महाअभियोगबारे आगामी साता सार्वजनिक सुनुवाइ हुने 

ट्रम्पमाथि महाअभियोगबारे आगामी साता सार्वजनिक सुनुवाइ हुने 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको पहिलो सार्वजनिक सुनुवाई आगामी हप्ता हुने भएको छ । अहिलेसम्म गोप्य रुपमा हुँदै आएको सुनुवाई आगामी हप्ता भने सार्वजनिक रुपमै हुने भएको हो ।

अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् । छानविन प्रक्रियामा आउने विदेश मन्त्रालयका तीन अधिकारीसँगको सुनुवाई टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने छ ।

सुनुवाइमा युक्रेनका लागि अमेरिकी राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक कर्मचारीलाई बोलाइएको हो । सुनुवाइमा डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् ।

अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम सिफले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव बलियो बन्दै गएको दाबी गरेका छन् । यसका लागि को–को सरकारी अधिकारीहरु प्रयोग भएका थिए भन्नेबारे पनि अनुसन्धान भैरहेको उनको भनाइ छ ।

ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि विपक्षी नेताको राजनीतिक छवी धुमिल पार्न युक्रेनलाई दबाब दिएको आरोप छ । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।