राजनीति

कांग्रेसबाट नियुक्त प्रदेश प्रमुख परिवर्तन स्वभाविक : प्रचण्ड

कांग्रेसबाट नियुक्त प्रदेश प्रमुख परिवर्तन स्वभाविक : प्रचण्ड

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन् । प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा दाहालले प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य रहेको बताए ।

‘सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ । यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।’ उनले बताए । नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले प्रदेश प्रमुखहरुमाथिको सम्मान दिएको उनको भनाइ छ । दाहालले अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन रहेको बताए । 

पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु-याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर गरे ।