मनोरञ्जन

बलिउड अभिनेता गोविन्दालाई पत्रकारकाे प्रश्न–‘तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छ?’

बलिउड अभिनेता गोविन्दालाई पत्रकारकाे प्रश्न–‘तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छ?’

काठमाडौं– बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्। 

म‌गलबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन्।‘यहाँको प्रेम डगमगाउँदैन। र, यही नै मलाई यहाँको (नेपालको) सबैभन्दा राम्रो पक्ष लाग्छ,’ खुसी मुद्रामा उनले भने। 

प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेकी बताइन्। आफूले गोविन्दाले हल्काफुल्का नेपाली सिकाएको समेत उनले खुलाइन्।  गोविन्दाले पनि केही-केही वाक्य नेपालीमा बोले। उनले आफ्ना प्रशंसकहरुलाई फेस्टिभलमा सहभागी हुन अनुरोध पनि गरे। 

‘तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छ?’ भन्ने पत्रकारहरुको प्रश्नमा गोविन्दाले आफूले पुरै नहेरे पनि अलिअलि सिन हेरेको बताए। ‘म पुरै फिल्म त मेरो आफ्नै पनि हेर्दिनँ। सिन बाई सिन हेर्ने गर्छु,’ उनले भने। 

त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छिन्। प्रेस मिटमा गोविन्दासँग यो भेट पहिलोपल्ट रहेको सुनाइन्। ‘म उहाँको फ्यान पनि हो। निकै डाउन टु अर्थ हुनुहँदो रहेछ,’ उनले पत्रकारसँग भनिन्। गोविन्दा र निरुता दुवैले आफ्नो प्रस्तुतिबारेचाँही खुलेर कुरा गर्न चाहेनन्। दुवैले भने, ‘प्रस्तुति सरप्राइज हुनेछ।'

बिहीबारबाट सुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छन्। गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो। 

गोविन्दा श्रीमती सुनिता आहुजा र नेपाली नायिका निरुता सिंंहका साथमा काठमाडौं आएका हुन्। निरुता पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन्। उनी पनि महोत्सवमा सहभागी हुन आएकी हुन्।

आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति पस्किने छन्।