विदेश

उडनतस्तरी झुम्मिने गाउँ

उडनतस्तरी झुम्मिने गाउँ

अमेरिकाको विस्कोन्सिन राज्यको उपत्यकाभित्र एउटा गाउँ छ । जसको नाम हो– एल्मवुड । त्यो गाउँको चारैतिर पहाड र हरिया फाँटिला खेत छन् । त्यहाँ हजारको संख्यामा आवादी रहेको छ । यो गाउँ एक्कासी चर्चाको शिखरमा पुगेको छ । त्यो गाउँले दशकौंदेखि थुप्रै आगन्तुकहरुलाई जिल्याएको छ । ती आगन्तुकहरु पर्यटक नभई यूएफओ (अनआइडेन्टिफाइड फ्लाईङ अब्जेक्टस ) हुन् । आकाशमा उड्ने विचित्रका रहस्यमय यी वस्तुलाई उडनतस्तरी भनिन्छ । यस विषयमा पृथ्वीबासी अनभिज्ञ छन् । खोज अनुसन्धानकर्ता टाम वेबर भन्छन– ‘गाउँलेहरुले अहिलेसम्म ३ सय चोटी रहस्यमय अन्तरीक्ष यानहरु देखिसकेका छन् ।’ उनी उडनतस्तरीहरुसंग सम्पर्क कायम गर्ने विचार राख्दछन् । 

गाउँकी एकजना महिला डोरिस व्हीलर आफ्नो पतिले उड्नतस्तरी देखेको घटनाबारे भन्छिन– मेरो पतिलाई पहिला पहिला उडनतस्तरीबारे विश्वास थिएन । तर सन् १९७४ मा पुलिस ड्यूटीको सिफ्ट सकिएपछि  घर फर्किदा उनले एकाएक एउटा पहाडमाथि धेरै चम्किलो प्रकाशद्वारा ध्वनिरहित यान देखे । त्यो उड्दै उड्दै आफ्नै कारतिर आउन लागेको देखेपछि भयभीत जर्ज तुरुन्त एउटा खाल्डोमा हाम्फाले । यो घटनापछि उनी उडनतस्तरीमाथि पूर्ण विश्वास गर्न थाले । त्यो घटना भएको एक वर्षपछि उनको अर्को उडनतस्तरीसंग यसरी नै अर्को जम्काभेट भयो । त्यो नजिकैको पहाडमा ओर्लिदै थियो । उत्सुकतावश त्यहाँ पुग्दा उनीमाथि एक्कासी एउटा तीब्र नीलो प्रकाश पर्यो र त्यसपछि के भो, उनलाई याद रहेन । 

त्यही वर्ष एउटी अर्की महिला केरोल फास्टर आफ्ना तीन बच्चासहित कतै गइरहेकी थिइन । घरबाट ३ माइलजति टाढा आएपछि उनले एक्कासी सडकमा एउटा चम्किलो ताराजस्तो केही उत्रेको देखिन । उनी बताउँछिन– ‘त्यो दुई कार बराबरको लामो अण्डाकार यान थियो र त्यसले पूरै सडकलाई ढाकेको थियो ।’ यो कुरा विस्तारै विस्तारै चारैतिर फैलिन थाल्यो । नगरका मेयर पनि स्थानीयहरुले अनौठा अनौठा अनुभव आफूलाई सेयर गर्ने गरेको बताउँछन् ।

एल्मवुडका नागरिक आफ्नो गाउँमा उडनतस्तरीको बास रहेकोमा विश्वस्त छन् । यही विश्वासका कारण प्रत्येक महिनाको एकदिन एउटा पर्व मनाउँदै आइरहेका छन् । जसलाई उनीहरु ‘यूएफओ दिवस’ नाम दिएका छन् । वेबर एल्मवुडमा उडनतस्तरीलाई उत्रिनका लागि एउटा निजी कार्यालय बनाउने विचारमा छन् । यसका लागि पाँच करोड डलरको आवश्यकता छ ।  उनी थप्छन– ‘उडनतस्तरीसंग सम्पर्क बनाउन सकियो भने वैज्ञानिकहरुलाई अध्ययनका लागि निम्त्याउन सकिन्छ ।’ तर अर्काथरि यी सवै उडन्ते गफ भएको टिप्पणी गर्दै आफ्नो ठाउँलाई चर्चामा ल्याउन रचिएको फन्डा भन्न रुचाउँछन् । 
 
 

गाउँ उडनतस्तरी