‘कारागारमा केपीलाई डा. भारतीले बचाए’

 ‘कारागारमा केपीलाई डा. भारतीले बचाए’

केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो विरामीका लागि हामीसंग पौष्टिक आहाराका नाममा  उसिनेको चामल, गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी साह्रै स्वादे मान्छे । जे पाक्छ त्यही नखाने ।

फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरुमा समेत उनलाई थोरै किन नहोस् , स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अडकेलाजस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मीठा चिज पाइनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घिउ लेउ भनेर हैरान पार्थे । सिद्धान्तसंग खाना खान सकिँदैन, स्वादसंग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे । 

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भएपनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथ नै मुन्टो बटार्थे । चुरोट पाए मात्र पिउँथे । आफ्नो पारिवारिक, आर्थिक परिवेश विपरीत थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई, तीन गाँस बढी खान्थे । केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं ।

त्यतिबेला ‘गैंडा’ नामको चुरोट चल्तीमा थियो । उनी त्यो चुरोट विहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु, केपीलाई जेलमा अलिकति खुसी बनाउनुपर्यो भने एक खिल्ली चुरोट दिनुपथ्र्यो । अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे । 

उनलाई विमारले उठ्नै नसक्ने हालतमा पुर्यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्र देखिन थाल्यो । स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले विरामी सिहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालेँ । धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन ।

दिसा गर्न जाँदा उनी आफ्नो कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिने देखि दिसा धोइदिनेसम्म गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारमा पुर्याउन नसक्ने भइसकेका थिए । मैले नुहाउनेदेखि शरीरमा तेल घस्नेसम्म गरिदिएँ । 

एकपटक हप्ता दिनसम्म लगातार बाडुली लागेपछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय अस्पतालका डा. पुष्कल भारतीले तुरुन्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुई तीन सय रुपियाँ आउँथ्यो । पैसा आउन कहिलेकाहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाट्टफुट्ट केही रुपियाँ आइरहन्थ्यो, वर्षमा दुई, तीनपटक ।

हामी तीनजनाबाहेक अन्य कसैकोबाट एक सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमश तंग्रिन थाले । जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि टीबीले सताएको थियो । उनीहरु टीबीग्रस्त भएको समयमा मलाई लागेको टीबी भने बिसेक भइसकेको थियो । 

वास्तवमा केन्द्रीय कारागारका डा. पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन् । केपीको मात्र किन, डा. भारतीले राखेको सदाशयताले मलगायत धेरैको ज्यान जोगिएको थियो । उनको ससुराली झापाका चिया उद्योगी गिरी बन्धुहरु रहेछन् । झापालीसंग नाता जोडिएकाले उनी हामीप्रति उदार बनेका थिए वा उनमा मानवीय भावना उर्लिएको हो ?

हुन त डा. भारती अन्य कैदीहरुलाई समेत एकदमै ध्यान दिएर उपचार गर्थे । पछि म स्वास्थ्यमन्त्री भएका बेला डा. भारती मन्त्रालयमै कार्यरत रहेछन् । त्यसबेला एउटा आयोजनाको प्रमुख बनाइदिएको थिएँ । दुई अर्ब रुपियाँको यो आयोजनाले गाउँगाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भवन बनाउने लक्ष्य राखेको थियो । म मन्त्री हुँदा आयोजना सञ्चालन गर्ने समिति नै बन्न सकेको थिएन ।

अघिल्ला मन्त्री र कर्मचारीबीच कसको मान्छे उक्त समितिको प्रमुख बनाउने भन्ने झगडाले चार वर्षदेखि तानातान भएर समिति नबनेको रहेछ । मैले केपी, मलगायतलाई जेलमा अहोरात्र सेवा गरेका व्यक्तिलाई नै परियोजनाको प्रमुख बनाउनु उपयुक्त ठानें । उनी वामपन्थी होइनन, डाक्टर भए पनि कुशल प्रशासक रहेछन् । उनले कुशल काम गरेर देखाइदिए । 

भारतीलाई परियोजना प्रमुख बनाउँदा पाँच वर्षे योजनाको समयावधि एक वर्ष मात्रै बाँकी थियो । एक वर्षमा त्यति ठूलो आयोजनाको काम फत्ते गर्नु चानचुने कुरा थिएन । तर, नियुक्त भएको ९ महिनामा देशभरका स्वास्थ्य प्राथमिक केन्द्र भवन निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरिदिए । योजना रनिङ फेजमा पुग्यो । दाता विश्व बैंकले योजनाको अवधि थप्यो ।

चार वर्षमा हुन नसकेको काम नौ महिनामै गरेको देखेर डा. भारतीको कार्यशैली, क्षमता र इमानदारीप्रति विश्व बैंकका प्रतिनिधिहरुसमेत चकित बनेका थिए । जेलमा केपी र मेरो ज्यान बचाइदिने डाक्टर भारतीले लाखौं नेपालीको स्वास्थ्य जाँच गर्ने भवन पनि बनाइदिए । यता भारतीकै मेहनतले बाँच्न सफल केपीले भने प्रधानमन्त्री भएर विकास र समृद्धिको सुन्दर सपना देखाइदिए । 

केपी ओली टीबी रोग अल्सर

संम्बधित खबर