स्वास्थ्य

पटुका : ढाड-कम्मर दुखेको अचुक औषधी

पटुका :  ढाड-कम्मर दुखेको अचुक औषधी

पटुका हाम्रो मौलिक संस्कृति झल्काउने उपयोगी परिधान हो । यसलाई हामीले थाहा पाएर पनि बेवास्ता गरिरहेका छौं । झट्ट हेर्दा यसलाई कम्मरमा बाँधिने एकप्रकारको कपडा हो भन्ने लाग्न सक्छ । तर यो कति उपयोगी छ भन्ने बारे केही खोजविन गर्यौं भने चकित हुने अवस्था छ । 
पटुका सामान्यत १२ हाते, १६ हाते बाक्लो कपडाको बनाइन्छ । तर यसका लागि यस्तै र यति नै कपडा चाहिन्छ भन्ने छैन । पुरुषले प्रयोग गर्ने पुरानो धोतीको पनि पटुका कस्न सकिन्छ । महिलाले लगाउने सुती साडीबाट पनि काम लिन सकिन्छ । शरीरको आवश्यकताअनुसार छोटो र पातलो पटुका बाँध्न सकिन्छ । 

हाम्रा पुर्खाहरुले दौरा सुरुवालमाथि कम्मरमा पटुका बाँधेर खुकुरी भिर्ने गर्थे । छोरीलाई काम गरेर खान सकोस भनेर माइतीले गतिलो पटुका दिने चलन अहिले पनि कतैकतै जीवितै छ । छोरीहरु त्यही चिनो सम्झदै गाउने गर्छन– ‘बारैमा हाते पटुकी मेरो आमैले दिएको ।’  जंगल र पँधेरामा गाउँले बुहारीहरुले गाउने यो गीतले पनि पटुकाको उपयोगिता झल्काउँछ । 

पटुकाको उपयोगिता कति ?

वर्षैभरि खेतबारीमा काम गर्नेका लागि पटुका बाँध्नु आवश्यक छ । यसले शरीरलाई दिने आडका कारण कम्मर र ढाड दुख्दैन । डोको बोकेर टाढा टाढा हिँड्दा पनि कम्मरमा पटुकाको आड हुने हुँदा पिठ्यूँमा घाउ हुन पाउँदैन । 

चिसो ठाउँमा जन्मिएका बच्चाहरुलाई कम्मरमा सानो पटुका हलुकासंग बाँधिदिने प्रचलन छ । त्यसले बच्चाको पेटमा बायु पस्न दिँदैन । यसको प्रभावले पेट फुल्ने, ढुस्सिने सम्भावना कम हुन्छ । अचानक कम्मर दुख्यो र कुप्रियर हिँड्नुपर्ने अवस्था आयो भने पटुका बाँधेमा दुखाई कम हुन्छ । सीधा हिँड्न मद्दत गर्छ । 

गरिबीले पिल्सिएका नेपालीहरु भोकले टाक्सिएका बेला पेटमा पटुका कसेर भोक टार्ने गरेका धेरै उदाहरण पाइन्छ । पटुका गरिब गुरुवाको दुई चार छाक भोक टार्ने अचुक अस्त्र बनेको छ । 

दुर्गम गाउँका बासिन्दाले कामको सिलसिलामा पटक पटक उकालो ओरालो गर्नुपर्छ । धानको बोरा, परालका भारी बोकेर उकालो ओरालो गर्दा अचानक नाम्लो, डोरी चुडिन सक्छ । त्यसबेला कम्मरमा बाँधिएको पटुकाले नाम्लोको काम दिन सक्छ । त्यसैगरी घाँस दाउरा गर्न जाँदा जंगलमा लडेर हातखुट्टामा चोट लाग्यो वा विषालु किराहरुले टोक्यो भने घाइतेलाई पटुकाकै सहारामा उद्धार गरी नजिकैको स्वास्थ्य चौकीमा लान सकिन्छ । उस्तै परे पट्टी र व्याण्डेजको काम लिन सकिन्छ । 

ज्यापू समुदाय आफ्नो पहिरनमा पटुका छुटाउँदैनन्  । बलको काम गर्ने पृष्ठभूमि भएकाले उनीहरुले अहिले सम्म यो धर्मलाई निरन्तरता दिँदै आइरहेका छन् । शरीरका लागि सजिलो र अडिलो परिधान ठानेर नै उनीहरुले यसको प्रयोग गरेका हुन् । तराईका कृषकहरु पनि खेतमा काम गर्दा वा धेरै तौल भएको भारी बस्तु उचाल्दा पटुकाको रुपमा गम्छाको प्रयोग गर्छन । 

शहर बजारमा प्रशस्त मात्रामा सन्तुलित आहारा खाने वर्ग पनि पहिरनको भित्र पटुका बाँध्ने गरेको पाइन्छ । उनीहरु भन्छन– ‘कम्मरको पीडाले यो नबाँधी सुख्खै पाइएन ।’ कतिपय पटुका नबाँधे पनि मेडिकल पसलमा पाइने बेल्ट बाँधेर पटुकाको विकल्प खोज्ने गरेका छन् । आखिर जे गरेपनि त्यसले गर्ने उही पटुकाकै काम हो । 

विदेशी पर्यटकहरु गाउँतिर जाँदा दौरा सुरुवाल लगाएर कम्मरमा पटुका कसी तस्वीर खिच्न रुचाउँछन् । उनीहरु यसलाई नेपालको अनौठो र मौलिक परम्परा सम्झन्छन् । 

ग्रामीण महिलाहरु दिनभरि काम गरेर कमाएको नून, बेसारजस्ता सामान पटुकाको छेउछाउ पोल्टामा बाँधेर लुकाउँछन् । त्यतिमात्र हैन, पटुकालाई पोल्टो बनाएर गहना सुरक्षित गर्ने प्रचलन अद्यावधिक छ । 

आधुनिक समाजमा पेटी पटुकाकै परिवर्तित रुप हो । पश्चिमी देशमा कम्मर र ढाड दुख्दा पेटी बाँध्ने प्रचलन छ । जापानमा कामकाजी महिलाको ढाड नदुखोस् , सीधा भएर काम गर्न सकियोस् भनेर कम्मर र ढाड छोप्ने एकप्रकारको कपडा उपयोग गरिन्छ । यसले पटुकाकै काम गर्छ । 

पेटको शल्यक्रियापछि चिरफार गरेको ठाउँलाई बाहिरी संक्रमणबाट बचाउन पट्टी बाँध्ने गरिन्छ । पट्टीमाथि मलमलको सानो कपडा बाँध्दा त्यसबाट विरामीको दुखाई कम हुन्छ । चिकित्साशास्त्रले पनि यो तथ्य पुष्टि गरेको  छ । 

गाउँका दाजुभाइ, दिदीबहिनी पटुकाका पत्रमा साँचो, रुपियाँ, चुरोट, सलाई राखेर खेतबारीमा काम गर्न जान्छन भने विदेशीहरु सानो खल्ती जोडिएको पेटीमा क्यामेरा, दुर्विन र चकलेट हालेर घुम्न रुचाउँछन् ।  
 

पटुका १६ हाते