कला साहित्य

५ मिनेट मेरो लागि निकै घातक समय ........

५ मिनेट मेरो लागि निकै घातक समय ........

एकाबिहानै मोवाईलमा घन्टी बज्छ । एकछिन त त्यहि घन्टीलाई पनि मधुर धुनमा कन्भर्ट गरेर सपनासंगै मिश्रण गर्दै सुनिरहन्छु । फेरि अर्को पटक उसैगरि बजिरहदा झर्को लागेको महसुस हुन थाल्छ । मोवाईल फुत्त हातले तान्छु , आँखा पनि आधी हेर्दै आधी चिम्लिंदै अर्लाम 5 मिनेट पछिको राख्छु र फेरि सुत्छु। यसरी समयलाई जिस्काउदा जिस्काउदै मलाई उठ्न ढिला भैसकेको हुन्छ। अन्तिम रिङमा म झल्यास्स हुन्छु र  ब्रस पनि राम्रोसंग नगरी, कपडा हतार हतार लागाउछु । अझ  हतार हतारमा कहिले लुगा उल्टो त कहिले सर्टको बटन पनि राम्रोसंग लगाउन भ्याएको हुदैन। बिहानीसंगै मेरो ढिलासुस्तीको सुरुवात हुन्छ । 

यसै पनि ५ मिनेटको अर्लामले ढिला भईसकेको मलाई बसस्टपमा बस कुर्दा कुर्दै ५ मिनेट जान्छ। बस चढेपछि नि कहाँ हुईकाईहाल्छ र ? कन्डक्टरले कालिमाटी, टेकु, त्रिपुरेश्वर, वानेश्वर, कोटेश्वर भन्दा भन्दै त्यता ५ मिनेट खर्च हुन्छ । आफैले गर्दा भएको ढिलासुस्ती भए पनि म आफुलाई दोष दिन्न, ड्राईभरलाई कति स्लो गाडी चलाएको होला भन्दै एक्लै भुतभुताउछु । बस आफ्नै रफ्तारमा दौडिदै गर्दा अगाडि धेरै गाडिहरुको लाम देखिन्छ। अहो! ट्राफिक जाम पो रहेछ। फेरि ५ मिनेट ढिला हुने पक्का भयो । यसरी ढिला हुँदै हुँदै म अफिससम्म पुग्छु।

अफिस पुग्दा म मात्र होईन हरेक स्टाफहरु आ-आफ्नो तर्फबाट ५ मिनेटलाई पछ्याउदै आइपुगेका हुन्छन्। 
कामको सुरुवात गर्दा पनि ५ मिनेट ढिलाबाटै सुरु हुन्छ। एउटा फाईल साईन गर्नु थियो सर, भन्दै म हाकिमको क्याविनमा पुग्छु । उहाँले पनि ५ मिनेट है, म एउटा काम गर्दै छु सकिने बित्तिकै गरिदिन्छु' । पत्तै नभै उहाको ५ मिनेटले ३-४ घन्टाको मोड लिन्छ र काम समयमा हुन सक्दैन । ५ मिनेट मलाई मात्र होईन हरेक नेपालीहरुको अभिसाप नै भैसकेको छ । जहाँ जाउ ५ मिनेट है, जे गरुँ ५ मिनेटमा है । 

दिउसो खाजा खाने समयमा खाजा आउछ । तर म आफ्नै काममा व्यस्त हुन्छु, ५ मिनेट पछि खाउला भनेर साँचेको खाजा काम सकिएपछि हेर्दा पुरै चिसो भैसकेको हुन्छ । कहिलेकाहिं त लाग्छ , मैले जानीजानी ढिला गरेको होईन, मलाई समयले विवश पारेको हो लाचार वनाएको हो। बेलुका निस्कने बेला पनि उस्तै चाला ।

अफिसबाट घर गयो, खाना खायो । सुत्ने बेला पनि ५ मिनेट पछि सुतौंला भन्दै मोवाईल चलाउन थाल्छु । मेरो ५ मिनेटको दायरा २ घन्टामा फैलिएको पत्तै हुदैन । यसरी म हरेक दिनहरुमा समयको पक्का हुन सकेको छैन । सम्पुर्ण २४ घन्टा भन्दा मलाई यो ५ मिनेट चाहिँ बलवान् छ जस्तो लाग्छ। बिहान उठेदेखि पछ्याएको ५ मिनेटले मलाई वेलुका सुत्ने बेलासम्म पनि छाड्दैन । न उसले मेरो पिछा छाड्छ न मैले उसको । सायद हिसाब किताब बराबर भएर पनि होला उसको मेरो दोस्ती पनि खुबै जमेको छ। मेरो मात्र के भन्नू य‍ाे ढिलासुस्तिको  समस्याले हरेकलाई सताएको छ ।

एउटा कार्यक्रममा गएको थिएँ जहाँ मन्त्री आउने योजना थियो । यसैपनि मन्त्री आउने कार्यक्रम भनेपछि त्यो दिन चाहिँ म आधा घन्टा छिटो कार्यक्रम स्थलमा पुगेको थिएँ । तर एक घन्टा बितिसक्दा पनि मन्त्रीज्यु कतिबेला आउनुहुन्छ थाहा थिएन। आयोजकलाई सोध्दा एकछिन कुर्नुस है ५ मिनेटमा आउनुहुन्छ भन्ने जवाफ आउछ। अन्य व्यक्तिहरुले पर्खदै, प्रतिक्रिया दिदै भन्छन्, के गर्नु यस्तै हो नेपाली टाईम । प्राय हरेक कार्यक्रममा  यस्तै गति ब्यहोर्नुपर्छ, त्यसैले सबैजना आधा घन्टा ढिलो नै उपस्थित हुने गर्छन । 

 हामी आफैमा समयको पक्का हुन सक्दैनौं, अनि नाना थरि वाहाना बनाउदै देशलाई या त समयलाई दोष दिन्छौं । हरेक काम समयसंगै गर्ने बानी बसालौं । समयलाई वशमा लिन त सकिँदैन तर समयलाई ख्याल गर्दै अगाडि बढ्न भने अवश्य सकिन्छ ।

कसैले फोन गर्छ र सोध्छ, ओए कहाँ छस्, म तलाई पर्खिरहेको छु आइहाल। म उसलाई हुन्छ, ५ मिनेट है भन्दै कुराउछु र आधी घन्टा पछि मात्र पुग्छु। फेरि अरुलाई ५ मिनेट भनेर कुराउन जति सजिलो छ नि, अरुको ५ मिनेट झेल्न भने अति नै गाह्रो काम हो । यस्तो अवस्थामा त आफैले अनुमान लगाउनुपर्छ, उसको ५ मिनेट १ घन्टाको हो या डेढ घन्टाको हो भनेर ।

मेरो हजुरबाले भन्नुहुन्थ्यो , "समय भन्दा अघि र भाग्यभन्दा बढि कसैले पाउदैन"। तैपनि समयलाई भेट्न सकिन्छ कि भन्दै ठ्याक्क ५ मिनेट ढिला गरिदिन्छु ।
तर समय अत्यन्तै बाठो । न मैले उसलाइ भेट्न सकें न ५ मिनेटलाई छाड्न सकें।सायद पुस्तौं देखि गढेर बसेको लत नगएको होला....५ मिनेट मेरो लागि 

पार्वती अधिकारी 

५ मिनेट