राजनीति समाचार

नेकपाले उम्मेदवार टुंग्याउन सकेन, सचिवालय बैठक अनिर्णित

नेकपाले उम्मेदवार टुंग्याउन सकेन, सचिवालय बैठक अनिर्णित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । उपनिर्वाचनको लागि पार्टीको तर्फका उम्मेद्वार छनोट गर्न बसेको बैठक कुनै निष्कर्ष निकाल्न नसकी टुंगिएको हो ।

उम्मेदवार छनौटबारे थप सूचना संकलन गर्ने र छलफल गरेर फेरि बैठक बस्ने गरी बैठक सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले  पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरिएको जानकारी दिए ।

बैठक भोलि फेरि बस्नेछ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा, प्रदेशसभा र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने बैठकको कार्यसूची थियो।

यसअघि २९ असोजमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवार हुने व्यक्तिहरुको नाम १० कात्तिकभित्र सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको थियो।