विचार

भन्न नहुने कथा, गाउन नमिल्ने गीत

भन्न नहुने कथा, गाउन नमिल्ने गीत

‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठुलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ.  मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या यस्तो अविलाष थियो ।’ 

गोरखाली राजा पृथ्वीनारायण शाहले काठमाडौं खाल्डोको मनोविज्ञान बुझेपछि आजभन्दा अढाई सय वर्षअघि निकालेको निष्कर्ष अहिले प्रचण्डका घाँटीमा अड्किएको काँडा भएको हुनुपर्छ । उनले पृथ्वीनारायण शाहसंग आफूलाई तुलना गर्नु पछाडिको कारण पनि यही हो । काठमाडौं मुगलिङको भात व्यापारीजस्तै छ । होटलमा नपसुन्जेल पाउ पर्ने, भात पस्किएपछि चिन्न त परै जाओस, भात चिसिएर हिउँ भइसक्दा पनि दाल, तरकारी थप्नेले कानमा बतास नलगाउने । नढाँटी भन्दा यहाँको पानीमा स्वार्थ र लोभ मिसिएको छ । 

काठमाडौंका टाईकोटमा सजिने सुकिला मानिसहरु मर्निङ वाक पूर्वराजा ज्ञानेन्द्र, डिनर शेरबहादुर देउवा, लन्च कमल थापा, सौदावाजी भ्रष्ट कर्मचारी र चन्दाको लेनदेन विप्लवसंग गर्छन् भन्ने दुई तिहाइ बोइङ पाइलट केपी, पीकेले पत्तै पाएनन् । जब पत्तो पाए, स्वार्थी मायाजालमा स्वयं पटक पटक चुकिसकेकाले त्यहाँबाट उम्किने नैतिक सामथ्र्य उनीहरुमा रहेन । उहिले राजालाई सबै नेपाली पञ्च भनेर भ्रममा पारेजस्तै चाटुकारहरुले पशुपतिनाथ, बुद्धलाई पनि नेकपाकै कार्यकर्ता बनाएर व्याख्या गरे । दुई तिहाइको दम्भले विवेक गुमाएका पाइलटहरु खस्रे भ्यागुतो फुल्दा झैं फुलिरहे । ३६५ दिन नै माला र खादाले रोजगारी पाइरहँदा लाग्यो समृद्ध नेपाल, सुखी नेपाली यही हो । 

फेस्टिबल बन्दै आएको चुनावबाट आएको जनप्रतिनिधि हाँस्दा जनता सन्तुष्ट बनेको अर्थ लगाइयो । नेताको बंगला, लिमोजिन कार, उनीहरुका सन्तानको विदेशी शिक्षा दीक्षा यी सबै जनताकै उपलब्धीका रुपमा पार्टीका दस्तावेजमा लेखिए । नेताको जिब्रो चिप्लिएर ‘पेटिकोट’ भन्दा सच्याएर ‘थानकोट’ बुझ्ने कार्यकर्ता भएपछि क्रान्तिकारी चरित्रको रंग गाढा बन्दै गएको भ्रम बाँकी रहने नै भो । बाहिर हेर्दा नेकपा भित्र नेकपा चीन, नेकपा भारत, नेकपा कांग्रेस, नेकपा पश्चिमा, नेकपा अमेरिकी, नेकपा क्यूवाली, नेकपा होली वाइनको साम्राज्य बढ्दै गयो ।

नेपाली राजदूत अरु देशले व्यक्तिको नाम तोकेर छान्न थाले । अर्थमन्त्री, अर्थ सचिव विश्व बैंक, एशियाली विकास बैंकको रोजाइमा बन्ने क्रम पुरानै हो । यसो भएपछि समृद्धि व्यक्तिको हुन्छ कि समुदायको ? राजनीतिलाई अमुक शक्तिको ‘प्रोजेक्ट’ बनाउँदा के हुने रहेछ ? यतिबेला सबै नेता  ‘कहूँ तो मा मर जाए, न कहूँ तो बा कुत्ता खाए’को अवस्थामा पुगेका छन् । जीवन पढाइ, कमाइ, दवाइ र विदाइ मात्र हैन नि । राजनीतिक दर्शन यसैमा अनुवाद भएर आयतन घट्दै गयो ।  

हाम्रा नेता जसले सपना देखे, उनीहरुसंग समय रहेन । जो संग समय छ, उनीहरु सपना देख्न लायक रहेनन । यही विडम्बनाको चंगुलमा देश दुर्गतिको गर्तमा फस्दै गयो । अहिलेका समृद्ध देशका नागरिक टुकीमा निर्भर रहँदा फर्पिङबाट निकालिएको बिजुलीले काठमाडौं  झलमल्ल थियो । दरबारमार्गको सडकमा भूमिगत वायरिङ गरिएको थियो । दशकौंअघि कुलेखानी जलविद्युतको निर्माण गरी जलाशययुक्त विद्युत उत्पादनको सफल परीक्षण भएकै हो ।

छिमेकी मुलुक ‘चुँ’ नबोल्दा इजरायललाई देशको मान्यता दिएर कुटनीतिक क्षेत्रमा नेपालले ६ दशकअघि नै साहसिक निर्णय प्रदर्शन गरेको थियो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुख विदेश जाँदा त्यो देशका जनताले गर्ने हर्ष बढाइँको स्मरण मिथकभन्दा कम लाग्दैन ।  आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक जुनसुकै दृष्टिले नेपालको नाम अब्बल थियो । थाइल्याण्ड, भियतनाम, कोरियाजस्ता अहिले आर्थिक विकासको उत्कर्षमा चढ्दै गरेका देशका जनता नेपालले पठाएको चामल पिठोले पेट भर्थे । 

युरोपका अधिकांश देशले दोस्रो विश्वयुद्धमा लगाएको गुन सम्झिएर विमानस्थलमै ससम्मान भिसा दिन्थे । अहिले त्यो गौरवगाथामा १ सय ९० डिग्रीले परिवर्तन आएको छ । लोकतन्त्रको सामथ्र्यले ती देशको मुहार पाँच दशकमा कायापलट भयो । उनीहरुले देशलाई माया गर्न सिके । हरेक पुस्ता देशप्रति यति इमान्दार भयो कि उसले तरबारको धारमाथिको यात्रा सहजै स्वीकार्यो । आज उनीहरुले दिएको दानमा हाम्रो भोक, तिर्खा निर्धारण हुन्छ ।

जुन चीज मानिसससंग छैन, त्यसको तिर्खा ननिको हुन्छ । पञ्चायत छउञ्जेल यिनै नेता भन्थे– मुलुकमा लोकतन्त्र मात्र ल्याउन पाइयोस् न देशमा के गर्नुपर्छ जानेको थियो । लोकतन्त्र पनि आयो । तर नेता बद्लिए, जनता उस्तै भए । फेरि आफैंले ल्याएको लोकतन्त्र उनीहरुलाई पचेन । चाहियो गणतन्त्र । नेताहरुको सौभाग्य, नेताको त्यो इच्छा पनि जनताले पूरा गरिदिए । नेताको त्यही आदेश मानेका जनता गणतन्त्रमा त यति आजित भए कि नेताहरुको बहुरंगबाट आजित भएर छेपाराहरुको आत्महत्या रेट नेपालमा ह्वात्तै बढ्यो । तर कुनै नेताले स्वतन्त्रताको मूल्यवोध परिभाषित गरेनन, बरु पुलिसबाट घेरिएर हिँड्न थाले । 

पञ्चायत र राणाको जतिसुकै विरोध गरेपनि राज्य सञ्चालनका सम्पूर्ण अवयवका सूत्रधार उनीहरु नै हुन् । जनतामा निहित सार्वभौमसत्ता बहुदलमा लेखिएपनि लौरो टेकेर बुढाबुढी, डोकोमा बोकिएर सुत्केरी, विरामी अनि कोरामा बसेका क्रियापुत्री समेत मतदानमा उपस्थित हुने राजनीतिक चेतनाको विकास पञ्चायतले नै गरेको हो । वर्षैभरि राज्य सञ्चालनका गतिविधिप्रति विषवमन गरेपनि जनता चुनावको एकदिन विवेकशील मतदान गर्न कहिल्यै चुकेका छैनन् । 

नानीमैयाँलाई उकासेर व्यंग्यको राजनीति गर्ने देखि प्रचण्डलाई थचारेर महामानवको भ्रमबाट मुक्त गराउने कर्ममा समेत जनमत प्रकट भएको दृश्य छिपेको छैन् । कुनै शासन व्यवस्था आफैंमा राम्रो नराम्रो भन्ने हुँदैन् । सवाल त्यसको प्रयोग कसरी हुन्छ भन्ने मात्र हो । जब मानिसको अपेक्षा थेगिनसक्नु हुन्छ, त्यसले निम्त्याउने दुष्प्रभाव पनि घातक बन्ने रहेछ । व्यक्ति जतिसुकै दूधले नुहाएको भएपनि प्रवृत्ति गलत छ भने त्यसको भुत्भुते आखिर नेतृत्वकै  शरीरमा खनिने हो । प्रत्येक सरकारले थेग्नु परेको आलोचनाको जमिन पनि यही हो । गाडी पुरानो छ भने ड्राइभर जतिसुकै तन्नेरी र उत्साही भएपनि केही फरक नपर्ने रहेछ । घर चिटिक्क बनाउने सपना तबसम्म सफल हुँदैन, जबसम्म बाटो सफा हुँदैन् । 

भाषण, आश्वासन नभएर सम्पूर्ण जनताको व्यवस्थापकीय जिम्मेवारी नै राज्यको अपरिवर्तनीय सिद्धान्त हो । यो मान्यतामा कसैले खलल पार्ने चेष्टा गर्नु हुँदैन् । देश नहुँदाको पीडा शरणार्थीलाई मात्र थाहा हुन्छ । हो, अहिले नेताहरुलाई देश पोखरीमा बसेर पानीको महत्व नबुझेजस्तै भएको छ । 
राज्य चिल हो भने जनता कुखुराका चल्ला, न्यायालय चल्लाको माउ हो । शक्ति पृथकीकरणको सिद्धान्तले यसै भन्छ । शास्त्रले भनेको छ– ‘भोकभन्दा बढी खाने र चाहिनेभन्दा बढी थुपार्ने दुवै चोर हुन् ।’

अहिले यसैको नियन्त्रण हुन नसक्दा समाजमा असमानताको खाडल चुलिएर गएको छ । उही हातले कानुन लेख्छ, उसैले छेक्छ । गुन लगाउनेले खुन लगाउँछ । थप्पडी हान्ने र थप्पड हान्ने हात फरक हुँदैन् । शस्त्र समाउने हातले अस्त्र समाउँछ । त्यसैले त अपराधी मरेपछि अपराध पनि नासिन्छ भन्ने अपराधशास्त्रको मान्यता बेवारिसे बनेको छ । अपराधी समातिने तर अपराध नघट्ने अनौठो चक्रव्यूहमा समाज फस्दै गएको छ । समाजमा लोभी बढ्दै गएपछि ठगको पेसा स्वत मौलाउँदै जान्छ ।
 
चन्द्रशमशेरको शेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा गरे । अधिकारको विषयमा अलमल भएपछि उनले काजी मरिचमान, काजी रत्नमान र मिसु नारायणभक्त बोलाएर सोधे– ‘म कमान्डर ईन चिफ भएपनि मेरो अधिकार चन्द्रशमशेरले नै उपयोग गरे । अब म महाराज भएँ । त्यो अधिकार मैले नै लिने कि कमान्डर ईन चिफलाई दिने ?’ विधिको प्रश्न थियो । काजीहरु अक्क न बक्क परे । रत्नमान काजीले विन्ती बिसाए– ‘महाराज, यसको जवाफ हामीभन्दा पुराना दरबार जानेका सुब्बा कालिदासलाई सोध्नुपर्छ ।’ 

महोत्तरीको सुदूर गाउँमा रहेका कालिदास सुब्बालाई झिकाउ भन्ने आदेशानुसार तार गयो । कालिदास काठमाडौ आई नयाँ महाराजको दर्शन गरे । कालिदासलाई समस्या सुनाइयो । उनले जवाफ दिए– ‘जसको अख्तियार हो, उसैलाई दिनुपर्छ । नीति यही हो महाराज ।’ यसरी जुद्धशम्शेरले आआफ्ना अधिकार अनुसार काम गर्न पाए । कालिदास तुरुन्तै कौसलका मिर सुब्बा बनाइए । यो हो– विधिको शासन । 

सुशासन भनेको मानिसको शरीरभित्रको रक्तसञ्चारजस्तै हो । मुटु , मृगौला, फोक्सो, कलेजो आफ्नै तरिकाले काम गर्छ, तर तपाईंको नियन्त्रणमा बस्दैन । त्यसलाई कति सक्षम र सबल बनाउने भन्ने मानिसको दायित्व भएजस्तै राज्य सञ्चालकहरुले पनि यो अनुशासनलाई लत्याउनु हुँदैन ।  
 राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरु एक्लिए । समयसंगै युनिभर्सिटीको  प्रमाणपत्र लिनेहरु बढे होलान तर जनताको चेतना, आकांक्षा र आवश्यकतामा त्यति ठूलो अन्तर आउँदैन् । हामीले भनेको परिवर्तन मूलत टाइपराइटरबाट  कम्प्युटरमा प्रवेश गरेको मात्र हो ।  

तपाईं पत्याउनुहुन्छ  ? आजभन्दा ५६ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुख विद्या भण्डारीले निकालेभन्दा अन्तर छैन् । जसमा भनिएको छ– ‘जनता पनि अघिभन्दा बढी मात्रामा होशियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन् । यो तथ्यलाई सबैले बुझी, राजनैतिक पार्टीहरुले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद, ईष्र्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तव्य हो र देशको कल्याण हामी सबैको कर्तव्य हो भन्ने मूलमन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ । अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरीकाले एकताको मजबूत आधारमा अघि बढाउँदै लैजानु पर्दछ ।’ 

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सवैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरु यति जोशिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरु राणाहरुको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर सिद्दिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरुका लागि मृत्यु प्यारो थियो । साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या गर्यो भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरुको खानतलासी गर्थे ।

एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई साइनाइट पर्व भनेर पनि केही इतिहासकारहरुले व्याख्या गर्ने गरेका छन् । हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ? 

पृथ्वीनारायण शाह प्रचण्ड केपी, पीके