समाचार

बसन्तपुरमा साथीले नै गरे साथीको हत्या!

बसन्तपुरमा साथीले नै गरे साथीको हत्या!

काठमाडौं – काठमाडौंको बसन्तपुरमा साथीले नै साथीको हत्या गरेका छन्। काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी साथीले नै हत्या गरेका हुन्।

महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं –१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा छुरा प्रहार भएको देखिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए ।

तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरे । प्रहरीले घटनास्थल छेउबाट अपराधमा प्रयोग भएको हतियार पनि बरामद गरेको छ भने छुरा प्रहार गर्नुको कारणबारे अध्ययन गरिरहेको छ । प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोँकमा छुरा प्रहार गरेको दाबी गरेका छन् ।