अर्थ बैंकिङ

अर्थमन्त्रीले भने –‘नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाऔँ ’

अर्थमन्त्रीले भने –‘नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाऔँ ’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताए ।

उनले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

जनताको निक्षेपमा खेलबाड नगर्न निर्देशन दिँदै उनले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न अनुरोध गरे । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न आह्वान गरे ।

उनले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिँदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताए ।