कला साहित्य

'म चाँही मेरो उहाँलाई के नामले सम्बोधन गर्छु होला' ?

'म चाँही मेरो उहाँलाई के नामले सम्बोधन गर्छु होला' ?

असारको मध्य दिन थियो । बा खेत खन्दै हुनुहुन्थ्यो ।  म भने आलीको डिलमा बसेर पारीपारी सम्म देखिने हरियाली नियाल्दै थिएँ। पानी परेर भर्खर रोकिएको थियो। घामका किरणहरु हरिया पातहरुमा र खेतका गह्राहरुमा आफ्नो अस्तित्व खोज्दै थिए। खेतभन्दा अलि तलबाट बगिरहेको खहरे  खोला आफ्नै धुनमा गित गाउदै र बर्खे ध्वनि सुसेल्दैमा व्यस्त थियो । मलाई त्यो धुन सुन्दा दशैंमा मालाश्री धुन सुनेजस्तो भान भईरहेको थियो । कस्तो अचम्म ! कतिपय बुझ्नै नसकिने ध्वनिहरुले पनि जिवनमा छुट्टै किसिमको रौनकता बढाईदिने ।
यता फाँटभरी काम गर्दै गरेका मानिसहरुलाई देख्दा लाग्थ्यो, मानिस साँच्चिकै परिश्रमी प्राणी हो। खान र पेट पाल्नकै लागि मानिस यति ज्याद्रो भईदिन्छ कि उसलाई घाम, पानी, झरि,वादल, भोक तिर्खा केहिको पनि मतलव हुँदैन।  

त्यत्तिकैमा पारी डाँडाबाट आमा आउदै गरेको देखें। आमा पनि हाम्रो घरको स्वचालित मेशिन हुनुहुन्छ। विहान ५ बजेदेखि सुरु भएको उहाँको काम बेलुका १० बजेसम्म पनि सकिएको हुदैन। यति धेरै काम गरेको देख्दा त लाग्छ , आमाको शरीर हाड छाला र रगत मासुले होईन रबरले बनेको छ। 
म विमारी हुँदा दिनभरी सुत्थें र मेरो ख्याल पनि आमाले राख्नुहुन्थ्यो तर आमा, बिरामी हुँदा पनि टाउकोमा पट्टि बाँधेरै सहि घरको प्राय सबै काम गर्नुहुन्थ्यो। आमाले जसरी मैले उहाँको ख्याल कहिल्यै राख्न सकेको छैन ।
यत्तिकैमा आमा म भएनिर आईपुग्नुहुन्छ र खाजाको झोला भुईंमा राख्नुहुन्छ। मलाई फेरि, खेतमा आमाले बोकेर लगेको खाजा खान औधि मन पर्थ्यो । अझ आमाले बनाएको गुन्द्रुक र भटमासको अचार अनि दहि चिउरा भएपछि मलाई सम्पुर्ण खानाको स्वाद त्यसैमा छ जस्तो लाग्थ्यो। यत्तिकैमा आमालाई सोधिहालें, "आमा ! के खाजा ल्याउनु भएको छ?"
"तिमीलाई मन पर्ने खाजा ल्याएको छु नानू।"
"कस्तो भोक लागि सक्यो, छिटो दिनुस न ।"
"हुन्छ नानु ! पहिला बुबालाई बोलाउ अनि संगै खाने नि है ।"

मैले पनि बुबालाई खाजा खान बोलाए । बुबा हामी भन्दा जम्मा दुई कान्ला तल मात्र हुनुहुन्थ्यो । आमा आफैंले बोलाएको भए पनि सुन्नुहुन्थ्यो उहाँले । यसरी आमाले बोलाउन लगाएर मैले धेरै पटक बुबालाई बोलाएको छु । अझ आमाले बुबालाई बोलाउदा के भनेर बोलाउनुहुन्छ भन्ने पनि थाहा छैन मलाई। अरुसंग बुबाको बारेमा कुरा गर्नुभयो भने पनि  मेरो नाम लिएर नानीको बुबाले यसो भन्नुभयो, उसो भन्नुभयो, भन्नुहुन्छ। एक दिन त मनमा कौतुहलता राख्न नसकेर सोधेकी पनि थिएँ। 
"आमा तपाईले बुबालाई के भनेर बोलाउनुहुन्छ?"
आमा अवाक हुनुभयो र एकछिन पछि उत्तर दिदै भन्नुभयो, "केही पनि भन्दिन । बोलाउन र बोल्न नामै चाहिन्न नि , यत्तिकै बोल्दा पनि भयो नि ।"
"अनि बुबाको नाम छ त, बुबाले चाहिँ तपाईलाई नाम बोलाउन हुने तपाईले चाहिँ नहुने हो र?"
"धत् ! के भनेकी आफ्नो श्रीमानलाई नि नाम काटेर बोलाउछन् त ? ठुलि भएपछि यी सबै कुरा बुझ्छौ नानू । अहिले धेरै प्रश्न नगर ।" 

आमाको जवाफले चित्त नबुझेकी म गाउँका अन्य महिलाहरुले पनि श्रीमानलाई के भनेर सम्बोधन गर्छन् , बुझ्न थालें । पल्लो घरकी काकीले त आफ्नो श्रीमानलाई मालिक भन्नुहुँदो रहेछ। मलाई सार्है नराम्रो लाग्यो । ती मालिक भनेर श्रीमानलाई सम्बोधन गर्ने काकीलाई काकाले चाहिँ 'ओई, तँ' भनेर बोलाउनुहुँदो रहेछ।  अरु महिलाहरुले पनि उस्तै, कालेको बा, रामेको बा, हाम्रो घरको मान्छे र कोहि कोहिले बुढा भनेर सम्बोधन गर्दा रहेछन् । त्यो कलिलो उमेरको मेरो अनुसन्धान त्यत्तिकै रह्यो । 
मेरा ती कलिला मष्तिष्कले सोचका कुरा र प्रश्नहरु निकै नै गम्भीर

र जायज रहेछन् भन्ने चाहिँ अहिले बुझ्दै छु । अहिले पनि श्रीमानले 'तिमी' र श्रीमतीले 'तपाईं' भन्ने चलन यथावत नै छ । 
जिवनको आधा हिस्सा श्रीमान र आधा हिस्सा श्रीमती हो भने यो अन्तर किन आयो ? 
अझ बुबाले खाना खाईसकेपछि सोही जुठो थालमा आमाले खाना खाएको पनि मैले कैयौं पटक देखेकी छु । फेरी मैले आमाको जुठो थालमा बुबाले खाना खाएको कहिल्यै देखेकी छैन।

अन्धविश्वाश भनौं या के भनौं । साना भन्दा साना मतान्तर र भेदभाव हरेक ठाउँ र स्थानहरुमा भेट्टाउनलेे गर्छु । र घरिघरि सोच्छु, यस्ता खाले प्रवृत्तिको अन्त्य कहिले हुन्छ होला ?
अनि श्रीमतीले श्रीमानलाई कहिले नाम दिन सक्छिन्? 
यत्तिकैमा एउटा प्रश्न मेरो मनमा जागीहाल्छ, म चाहिँ मेरो उहाँलाई के नामले सम्बोधन गर्छु होला??
क्रमशः ...

पार्वती अधिकारी