विदेश

बन्जी गर्दा डोरी चुँडिएपछि 

बन्जी गर्दा डोरी चुँडिएपछि 

एजेन्सी । साहसिक खेल बन्जीमा डोरी चुँडिए के होला ? जो कोहीले पनि हत्तपत्त आँट नगर्ने बन्जी जम्पिङमा धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ । बन्जी जम्प गर्ने क्रममा डोरी चुँडिएर हालै एकजना भुइँमा बजारिएका छन् ।

यो घटना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फिट माथिबाट हाम्फाल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजारिएर करङ भाँचियो । स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्था भने छैन । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए ।

घटनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।

स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चोट पुगेको बताइएको छ ।