समाचार राजनीति

कानुनका छिद्रबारे जानकार महराले आफू बच्न गरे यस्तो चलाखी

इन्कारी बयानमा अडिग 

कानुनका छिद्रबारे जानकार महराले आफू बच्न गरे यस्तो चलाखी

काठमाडौँ । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जवरजस्ती करणीको अभियोगपछि हिरासत पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग लुकाउन हदैसम्मको प्रयास गरेको पाइएको छ ।

महराले मोबाइल हराएको भनेर मोबाइल दिएका छैनन् भने डिएनए परीक्षणका लागि रगत दिन र पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । भिआईपी भएकाले प्रहरीले पनि महराको अनुसन्धान फितलो ढंगले गरेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।  

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा अन्य बलात्कारका आरोपीमाथि गरिने अनुसन्धानझैँ अनुसन्धान नगरिएको उल्लेख छ । अभियोगपत्रमा महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेको, पोलिग्राफ परीक्षण गर्न नमानेको र मोवाइलसमेत नदिएको उल्लेख गरिएको छ ।

जबकी काठमाडौं जिल्ला अदालतले कात्तिक ७ मा डीएनए परीक्षणका लागि रगतको नमूना दिन महरालाई आदेश दिएको थियो । प्रहरीले घटनास्थलबाट फुटेको चस्मा, जुत्ताको तलुवा र अन्य सामग्री बरामद गरेको थियो । तर, डीएनए परीक्षण नभएकाले ती सामग्री कस्का हुन प्रहरीले खुलाउन सकेको छैन ।

 यसबाट के पुष्टि हुन्छ भने निवर्तमान सभामुख महरा कानुनका छिद्रबारे जानकार थिए र उनलाई सल्लाह दिनेले बचाउन तर्फ लागे । अन्यथा अभियोग पुष्टिका आधार कमजोर पार्ने प्रयत्न हुन्नथ्यो कि ? 

महराले आफ्नो बचाउका लागि प्रहरीलाई सवै कुरा छलेर र प्राप्त हुनसक्ने सवै प्रमाण नष्ट गरेकै कारण प्रहरीले भिआइपी अभियुक्त महरामाथि कुनै जोरबल नगरी खुरुखुरु आफूलाई प्राप्त प्रमाणको आधारमा जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको पाइएको छ ।

महराले आफ्नो बिग्रिएको स्वास्थ्यलाई देखाएर अनुसन्धान पनि प्रभावित पार्न खोजेका छन् । प्रहरी अनुसन्धामा महराले डीएनए परीक्षणका लागि अदालतको आदेश समेत अवज्ञा गर्दै रगत दिन इन्कार गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यस्तै महराले चिकित्सक लगाएर पोलिग्राफ परीक्षण अस्वीकार गर्नुभएको छ ।

आरोपीसँग आवश्यक सवै बयान लिनसक्ने भएपनि महराका चिकित्सकले महराको प्रतिकूल स्वास्थ्यका कारण पोलिग्राफ टेस्ट लिन नमिल्ने पत्र प्रहरीलाई नै थमाइ दिएका थिए । यस्तै प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिएको महराले बोक्ने मोबाइलसमेत हराएको बयान प्रहरीमा दिएका छन् । 

महरा र राहुलको मोवाइलमा भाइवर म्यासेज पठाएको घटना सार्वजनिक भएसँगै मोवाइल्समेत गायव पारिएको छ । पीडित रोशनी शाहीले बलात्कार भएको भनेको असोज १२ गते राती ११ बजेर ७ मिनेट जाँदा महरापुत्र राहुललाई म्यासेज पठाएकी थिइन ।

शाहीले राहुललाई पठाएको भाइवर म्यासेजमा लेखेकी छन, ‘राहुल तिम्रो बाबुले रेप गर्नुभयो, यो कुरा म बसेको घरवेटीले चाल पाए, पुलिस बालाए, पुलिस आयो, मेरो बयान लियो, यस्को परिणम मलाई थाह छैन ।’

शाही र महराबीच पनि लामो समयदेखि म्यासेज आदान प्रदान भएको तथ्य बाहिर आइसकेको छ । यही कारण अरोपी भएपनि महराले आफ्नो सवै प्रमाण मेटाउने काम गरेको घटनाक्रमले प्रष्ट देखिएको छ ।