समाचार

सरकारलाई नफापेको दशैं (फोटोफिचर)

सरकारलाई नफापेको दशैं (फोटोफिचर)

आफैंले ठेकेदारलाई दिएको काम फत्ते गराउन नसक्दा मध्य दशैंमा सरकार लाज ढाक्ने काममा जुटेको छ । ०७६ सालको दशैं दुई तिहाई सरकारका लागि कहिल्यै विर्सन नसक्ने दुईवटा चोट दिएको छ । ती दुई चोट लाजसंग सम्बन्धित छन् । एउटा दुई तिहाई सरकारका सदस्य त्यसमाथि सार्वभौम संसदका सारथी कृष्णबहादुर महरा महिला बलात्कार काण्डमा जेल जानु , दोस्रो छिमेकी मुलुक चीनका राष्ट्राध्यक्ष सी जिन पिङ यही मौकामा नेपाल भ्रमण आउने कार्यक्रम बन्दा उनी हिँड्ने सडकमा विकासको मूल फुटाउनुपर्ने बाध्यता ।

देश चलाउने बोइङका पाइलटहरुको सबैभन्दा बढी हिमचिम यो देशका ठेकेदार, दलाल, कर नतिर्ने व्यापारी, मौसमी ठगी धन्दामा लिप्त मानिसहरुसंग छ । देशका बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा प्रचण्डको बास छ । यसो भएपछि दबाब दिने नैतिक हैसियत नेतामा हुने भएन । लाज लाग्ने हैसियतसमेत गुमेपछि देखिने यो भन्दा छरपस्ट अरु के हुनसक्छ र ? सपथ खाँदा ईश्वरको नामलाई उच्चारण नगर्ने कम्युनिष्टहरुका लागि दशैं जस्तो सांस्कृतिक र धार्मिक पर्वमै विपत्ति आइलागेको छ । 

तीनकुनेले यस्ता प्रहसन धेरै बेहोरिसकेको छ । यस्तै प्रहसनका नाममा थुप्रै करोड यहाँको माटोले पचाइसकेको छ । विकासप्रतिको दृष्टिकोण टापटिपे, लापलिपे, छिपछिपे भएपछि जुनसुकै सरकार भएपनि त्यसको निष्कर्ष यही हो । विकासका दृष्टिले आकास र पाताललाई एक गर्न सक्ने चिनिया इन्जिनियरिङका मास्टर माइण्ड त्यहाँका राष्ट्राध्यक्षलाई यस्ता चटके विकासको रमिते बनाउनुको के अर्थ हुन्छ ? यो त विकासका नाममा विरालोलाई रंग लगाएर बाघ बनाए जस्तै हो । थोरै पानीले शरीरको स्पर्श गरेपछि विरालाको हैसियत आखिर म्याउ गर्ने भई नै हाल्छ । 

पञ्चायतमा राजालाई झुक्याउन ठग पञ्चहरुले यस्तै रिहर्सल गर्थे । राजा हिँड्ने बाटो मात्र हैन, राजा उड्ने बस्तीमा पनि ध्वजापताका गर्न लगाउँथे । उनीहरुको दलील हुन्थ्यो– ‘हेलिकोप्टरको झ्यालबाट सरकारले नजर लाइबक्सन्छ , त्यसैले राजा उड्ने बाटो मुनिका बस्तीमा पनि स्वागतद्वार र ध्वजापताका बनाउनु पर्छ ।’ बहुदलले टपक्कै त्यो संस्कार ग्रहण गर्यो । त्यसपछि मुलुकमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि पनि पितृप्रसादसरह बन्यो । लटरम्म फलेका सुन्तलाका हाँगा, फुलेको काउली, फलफूलले बनाइएका स्वागतद्वारमा राजालाई हिँडाएर अवलोकन गराउँदा टाठाबाठा पञ्चको ठाँट बेग्लै हुन्थ्यो ।

यसले उनीहरुको बढुवामा नम्बर बढाउने काम गथ्र्यो । राजा पनि उही ड्याङको संस्कार पाएका हुनाले खोजीनीति, अनुसन्धान गर्ने सामथ्र्य राख्दैनथ्यो । यही नाटकीय प्रहसनको घडा भरिएपछि बहुदल आयो । बहुदल पनि व्यक्तिवादी भयो । तिनै पञ्चहरु बहुदलमा पसेर सबै नेपाली पञ्च, सबै पञ्च बहुदले बनाइदिए । लोकतन्त्रवादी नेताहरु राजनीतिक र नैतिक रुपमा  यति छिट्टै स्खलित भए कि तिनै पञ्चलाई पालो पालो प्रधानमन्त्री बनाउने औकातमा पुगे । 


गनतन्त्रबाट आमूल राजनीतिक परिवर्तन गर्न काटमारको राजनीतिबाट अघि बढेको माओवादी प्रकारान्तरमा संसदीय राजनीति ग्रहण गरेर शक्तिमा आयो । कांग्रेस–एमाले त्यही माओवादीको एजेण्डामा आफूलाई समर्पित गर्न सहमत भए । देशमा गणतन्त्र आयो । माओवादी–एमाले समीकरण गरी दुई तिहाईको जनमत सहित सत्तारोहण गरे । त्यो समय दुई वर्षको हाराहारी टेक्ने बाटोमा पुगेको छ । सरकार संख्याले त शक्तिशाली भयो नै । तर सामाजिक स्वीकृति यसले पटक्कै पाएन । जब शासकले सामाजिक स्वीकृति पाउँदैन, उसका हरेक निर्णय रत्नपार्कका चकटी खेलजस्तै हुन्छन् । 

यो मात्र हैन, नेपालका प्रत्येक सरकारका निर्णय जनताका नजरमा खिसी, टिउरी गर्ने शिवाय केही भएको छैन् । सरकारी निर्णय कार्यान्वयन हुन्छ भन्ने विश्वास स्वयं निर्णयकर्तालाई नै हुँदैन् । विमानस्थल, तराई र काठमाडौंको कोर शहरलाई जोड्ने बाग्मती पुल बनाउन शुरु भएको एक दशक भइसक्यो । तर त्यहाँ काम हुँदैछ भनेर देखाउन छडका करङ कस्ने बाहेक अरु केही काम भएको छैन । तर , परन्तु , यो वा त्यो जस्ता तर्कले अब ठगीमाथि पर्दा हाल्ने कुनै पनि काम कसैले पत्याउने छैन ।

त्यो पुल बन्ने सुरसार गर्दा जन्मिएको बच्चा पाँच कक्षा पढ्ने भइसक्यो । मेलम्ची खानेपानीको निर्णय हुँदा जन्मिएको बालक त्यही मेलम्ची आयोजनामा ईन्जिनीयर भइसके होलान । तर न पानी आउने टुँगो छ । न पुल बन्ने छाँटकाँट छ । अरु त अरु वर्तमान खानेपानी मन्त्री वीना मगर मेलम्ची खानेपानी सुरसार हुँदा कति वर्षकी थिइन होला, त्यसैबाट नेपालमा विकासको गति पत्तो लागि हाल्छ । 

सरकारका मानिस इमान्दार भइदिए भने काम हुन्छ भन्ने तीनकुने विकासबाट प्रमाणित हुन्छ । सरकारी कार्यालयमा असोज नलाग्दै अब दशैं तिहारपछि भनेर जनताका काम थाती लाग्न थालेका थिए । तर आफ्नै लाज बचाउनु परेपछि त मध्य दशैंमा पनि काम हुँदो रहेछ । काम गर्नेले मध्यरात नभन्दा रहेछन् । नेपाल मात्र विश्वको त्यो देश हो, जहाँ १०–५ लाई मात्र समय मानिन्छ । २४ घण्टा मध्येको १६ घण्टा भनेको कामबाहेकका काम गर्ने समय हो । 
नेपालीको पहुँच विश्वका कुनै पनि ठाउँमा पुगेको छ ।

विकासका अभियन्ता, जनप्रतिनिधि युरोप अमेरिका नडुलेका कोही छैन । हरेक देशको इतिहास उनीहरुलाई कण्ठै छ । योजना आयोगका वरिष्ठहरु विदेशबाट दीक्षा लिएर आएका छन् । सरकारी कर्मचारी, प्राविधिकहरु विकास सिक्न दोहोरीलत्त विदेश जान्छन् । तर आफ्नो देशको विकासमा त्यो विज्ञता, त्यो इमान्दारी, त्यो निष्ठा प्रयोग गरौं भन्ने जाँगर कसैमा आउँदैन । नेपालीको जिनमा कस्तो भाइरसले आक्रमण गर्यो ? बडादशैं २०७६ ले नेपालप्रति भत्तिभाव राख्ने सामथ्र्य प्रत्येक नेपालीमा बीजारोपण गरोस् । 
 
 

ठेकेदार दशैं सरकार