मनोरञ्जन

चार्ली च्यापलिन: कमेडी पेशा, ट्रेजेडी जीवन

चार्ली च्यापलिन: कमेडी पेशा, ट्रेजेडी जीवन

चार्ली नाम गरेका धेरै मानिस यस संसारमा छन् । पहिला पनि थिए र भविष्यमा हुने छन् । तर सबै चार्लीहरु चार्ली च्यापलिन जस्तो हुन सक्दैनन् । यसो भन्दा पाठकको मनमा खुल्दुली जाग्न सक्छ– त्यसो भए चाली कसरी चार्ली च्यापलिन  भए त ? यसै सन्दर्भमा प्रस्तुत छ, उनको जीवन कहानी । 
अमेरिकाको फिल्म क्षेत्रबाट हास्य अभिनेताको रुपमा प्रवेश गरेका चार्ली विश्वकै प्रख्यात हास्य अभिनेता मानिन्छन ।

चार्लीको पूरा नाम चाल्र्स स्पेसर च्यापलिन हो । उनको जन्म सन् १८८९ मा भएको थियो । चार्ली सानै छँदा पिता घर त्यागी हिँडेका थिए । आमा एक थिएटरमा काम गर्थिन । आमा गीतसंगीतमा पोख्त भएकै कारण चार्लीलाई पनि सानैदेखि गाउने, बजाउने सोख जाग्यो । तर आमाको मानसिक अवस्था ठीक नभएका कारण सानैदेखि उनी अनाथालयको पाहुना बन्न बाध्य भए । 

आफ्नो अमूल्य जीवनमा चार्लीले अढाई दशकसम्म बेरोजगारी र गरिबीको बाढीमा डुब्दै, उत्रिँदै सन् १९१३ मा ब्रिटिसको एउटा संगीत कम्पनीसंग अमेरिका आए । त्यसबेलाका प्रसिद्ध फिल्म निर्माता माइक सेनेटससंग चार्लीको सम्पर्क भयो । सेनेटले चार्लीलाई आफ्नो फिल्ममा एउटा हाँस्य भूमिका थिए । त्यो फिल्ममा मेहनतसाथ काम गरेका चार्ली एकाएक चर्चित बने ।

त्यसबखत अमेरिकामा मूक चलचित्र बन्थे । चार्लीले एकै वर्षमा आठवटा फिल्ममा काम गर्ने अवसर पाए । पारिश्रमिक वापत उनले १० लाख अमेरिकी डलर हात पारे । त्यसपछि सात वर्षभित्र उनले लगातार ६९ वटा फिल्ममा हाँस्य अभिनेताको भूमिका निर्वाह गरे । सन् १९२० पछि त आफैं निर्माता बनेर सिनेमा बनाउन थाले । 

चार्ली भावुक र संवेदनशील स्वभावका थिए । उनी प्रेम र कोमलता प्राप्तिका लागि छटपटाउँथे । उनका लागि यो सौभाग्य ५४ वर्षको उमेरमा मात्र जुर्यो । यसबीच असंख्य युवतीसंग उनको सम्बन्ध रह्यो । जसले गर्दा कतिपटक त उनी यौन उछृंखलताको सीमासम्म पुगेर बद्नाम भए । यद्यपि नारीप्रेमको गहिराइ तथा त्यसको आनन्द आफ्नो चौथो विवाहपछि मात्र उनलाई अनुभव भएको थियो । 

मिल्ड्रेड हेरिस : विवाह– विछोड

सन् १९१६ मा चार्लीको सम्पर्क १४ वर्षीया मिल्ड्रेड हेरिससंग भयो । विस्तार विस्तार दुवैमा घनिष्टता बढ्दै गयो । चार्ली साँच्चै नै उनको प्रेममा वसिभूत भए । तर चार्लीलाई पछि मात्र थाहा भयो– मिल्ड्रेडकी आमाले प्रेमजालमा पारेर सम्पत्ति हडप्न खोजेकी रहिछन् । चार्लीलाई फसाउन विभिन्न कपोकल्पित नारा बुनिए । कतिसम्म भने चार्लीले मिल्ड्रेडलाई गर्भवती बनाएको आक्षेपसम्म पनि लगाइयो । केटीकी आमाले विवाहका निम्ति यसरी दबाब दिइन कि कपटपूर्ण जालबाट उम्कनै सकेनन् । आखिर सन् १९१३ को अक्टोबरमा उनी विवाहका लागि बाध्य भए । 

वास्तवमा चार्ली मिल्ड्रेडलाई मनदेखि नै रुचाउँथे । तर मिल्ड्रेड र आमाको स्वार्थ प्रेमका लागि नभएर सम्पत्ति हात पार्न मात्र थियो । आमा छोरीको यस्तो स्वभाव देखेपछि चार्लीलाई उनीहरुप्रति घृणा जाग्यो । आखिर सन् १९२० मा छोडपत्र गरे । मिल्ड्रेड त्यसै कहाँ छोडथिन र ? उनले चार्लीसंग ठूलो धनराशि लिन सफल भइन । वास्तवमा उनको चाहना त सम्पत्ति थियो । विवाह त सम्पत्ति हत्याउने बहाना मात्र । 

लिटा ग्रेसंग दोस्रो विवाह

सन् १९१४ मा चार्लीको सम्पर्क बाल कलाकार लिटा ग्रेसंग भयो । लिटाले चार्लीसंग सामीप्यता बढाइन । त्यतिबेला उनी केवल ६ वर्षकी थिइन । सन् १९२० मा चार्लीले मिल्ड्रेडसंग छोडपत्र गर्दा लिटा १२ वर्षकी थिइन । चार्लीको प्रेमिका बन्न उनले अरु चाहना राख्नेसंग प्रतिस्पर्धा गर्न थालिन । सन् १९२४ मा १६ वर्षको उमेरमा लिटा चार्लीबाट गर्भवती भइन । चार्लीले उनलाई गर्भपतनका लागि सल्लाह पनि दिए । अरुसंग विवाह गरेको खण्डमा २० हजार डलर दिने आश्वासन पनि दिए । लिटा टसको मस भइनन । अन्तत मेक्सिको सिटीमा उनीहरुको विवाह भयो ।

चार्लीले लिटालाई साँच्चै प्रेम गर्न थाले । उनी ३ वर्षमै चाल्र्स जुनियर र सिड्नी दुई छोराको बाबु बने । विडम्बना लिटाको दिमागमा पनि सम्पत्तिकै भूत चढेको थियो । चार्लीलाई अनेक कपोकल्पित आरोप लगाउँदै लिटाले पनि सन् १९२७ मा अदालत समक्ष विछोड पत्र दायर गरिन । त्यसबेला चार्ली निक्कै लोकप्रिय भइसकेका थिए । तर पनि त्यसबाट उनको छविमा कुनै खास असर परेन । अदालतले चार्लीलाई निक्कै ठूलो धनराशिको  हर्जाना तिराएर छोडपत्र मञ्जुर गरिदियो । 

तेस्रो विवाह

दोस्रो विवाह पनि असफल भएपछि चार्ली निक्कै आत्तिए । त्यसपछि उनी आफ्ना प्रेयसीहरुसंग बहुत होशियारपूर्वक रहन थाले । यसको परिणाम उनले ९ वर्षपछि तेस्रो विवाह गरे । यसबीच उनको चिनजान सुन्दरी अभिनेत्री पोलेट गोडार्डसंग भयो । यी सुन्दरीसंग पनि क्रमश मायाको जरा पलाउन थाल्यो । सन् १९३७ उनीहरु पनि विवाह बन्धनमा बाँधिए । यो विवाहबाट चार्लीलाई केही सन्तोष मिलेको आभास भयो । गेडार्डको महत्वाकांक्षा बढ्दै जाँदा चार्लीका लागि त्यो क्रिया बाधक बन्न पुग्यो । आखिर सन् १९४२ मा सम्बन्ध अघि नबढाउन सहमत हुँदै डिभोर्स दिए । 

यो समय चार्लीका लागि सुखद रहेन । जसको कारण उनको प्रतिष्ठामा पनि आँच आयो । सन् १९४१ मा स्क्रीन टेष्टको एक दौरान उनको सम्पर्क २२ वर्षीया जोन बेरीसंग भयो । उ पनि मिल्ड्रेड र लिटाजस्तै चार्लीको पछि लागि । उ पनि चार्लीलाई प्रेमजालमा फसाएर सम्पत्ति हत्याउने प्रयास गर्थी । उनले यसअघि पनि एक प्रसिद्ध अमेरिकी व्यापारीलाई फसाएकी थिइन । 

चार्लीले जब जोनलाई फिल्ममा काम दिए, विस्तारै विस्तारै उनी चार्लीको ओछ्यानसम्म पुगिन । अब के थियो र, उनले चार्लीले प्रेमको उपेक्षा गरेको आरोप लगाउँदै चार्लीको अनैतिक सम्बन्धबाट आफू गर्भवती भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरिन । रक्त परीक्षण गर्दा चार्ली निर्दोष ठहरिए । तर पनि अदालतले लालनपालनको जिम्मेवारी चार्लीको काँधमा थोपरिदियो । 

चौथो विवाहले दिएको सन्तुष्टि

सन् १९४२ मा अमेरिकाको प्रख्यात नाटककार यूजीन ओ नीलकी १७ वर्षीया छोरी ऊना ओ नील चार्लीको सम्पर्कमा आइन । उनको मन चार्लीतर्फ आकर्षित हुन थाल्यो । कामकै सिलसिलामा दुवैबीच माया बस्यो । सन् १९४३ मा चार्ली चौथो प्रणयशूत्रमा बाँधिए । त्यतिबेला चार्ली ५४ वर्षका थिए । यस विवाहको अमेरिकामा व्यापक विरोध भयो । यो विवाह पनि टिक्दैन भन्ने धेरैको अनुमान फेल खायो । ऊना कुलीन परिवारका शिष्ट, सभ्य र सालीन थिइन । उनी पैसाको प्रवेशले प्रेमको शक्ति धुलिसात होस भन्ने चाहन्नथिन ।

चार्लीको जीवनमा परेका खाल्डा ऊनाको प्रेमले पुरिँदै गए । जीवनको अन्तिम अवस्थासम्म ऊनाले उनलाई साथ दिइन । यो विवाहपछि उनी थप ३४ वर्ष बाँचे । त्यस अवधिमा उनी श्रेष्ठतम निर्माता बनिसकेका थिए । चार्लीको एक साथीले उनीबारे भनेका थिए– ‘चार्लीको जीवन भनेकै ऊना हुन् ।’ कतिसम्म भने चार्लीले खाने खानपिनको जिम्मेवारी नोकरबाट खोसेर आफूले लिएकी थिइन । यसको परिणाम ८९ वर्षको उमेरमा पनि चार्ली स्वस्थ थिए । ऊना र चार्ली दम्पत्तिले ८ सन्तान जन्म दिएका थिए । चार्लीका अघिल्ला पत्नीका तीन सन्तानको जिम्मेवारी पनि ऊनाले नै सम्हालेकी थिइन । 

अमेरिकाबाट देश निकाला

सन् १९५३ मा जब अमेरिकी सरकारले चार्लीलाई प्रतिबन्ध लगायो, चार्लीले पनि अमेरिकी मोह छोडेर आफ्नो प्रवास पत्र फिर्ता दिए । ऊना पनि आफ्नै सरकारको कारवाहीको विरोध गर्दै नागरिकता त्यागेर चार्लीका साथ स्वीटजरल्याण्ड गइन । आफ्नो घर फर्किएर उनले लेखन र पियानोबादनमा आफ्नो समय खर्चिए । जीवनको उत्तराद्र्धमा ‘ए काउन्टेस फ्रम हङकङ’  जस्ता चर्चित फिल्म पनि बनाए । 

चार्ली च्यापलिन