विचार

सत्ता र शक्तिको उन्माद

सत्ता र शक्तिको उन्माद

एउटा मुसाले हिरा निलेछ । हिरा मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ । जब शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो– मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए । तर त्यही झुण्डबाट छुट्टिएर एउटा मुसा अलग्गै बसेको थियो । शिकारीले हिरा निलेको ठोकुवा गर्दै अलग्ग बसेको मुसालाई च्याप्प समात्यो । यो देखेर अचम्मित हुँदै हिरा मालिकले सोधेछ – ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हिरा निलेको भनेर कसरी चिन्यौ ?’ शिकारीले जवाफ दियो– ‘जब मूर्ख धनबान बन्छ, उ यसरी फुल्छ कि अरुसंगको मेलमिलाप नै छोडिदिन्छ ।’

सत्तासंग नजिक नेपाल कम्युनिष्ट पार्टीका अधिकांश नेता, कार्यकर्ताको तस्वीर हिरा भेट्ने मुसाको जस्तो देखिन थालेको छ । उनीहरु नेताहरुको चाल बुझेर प्रतिक्रिया दिने मनोविज्ञानमा छन् । दशैंमा जन्म दिने बाआमाभन्दा नेताका हातबाट दशैंको टीका लगाएर त्यो फोटो सामाजिक सञ्जालमा हाल्ने दिन कुरेर उनीहरु बसेका छन् । बरु त्यसका लागि राम्रो फोटो खिच्ने क्यामेराको जोगाडमा त्यो प्रवृत्ति अहिल्यै जुटिसकेको छ । मानिस स्वभावैले प्रशंसा खोज्ने जात हो । अझ सत्ता र शक्तिमा भएका मानिसलाई विरोध पटक्कै मन पर्दैन । बरु आफ्ना शत्रु विरुद्ध कुरा ओसार्नेहरु माइती गाउँका आफन्त झैं प्यारो लाग्छ । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रचण्डले विरोध गर्ने विरुद्ध कार्यकर्ता सन्काउनुको कारण पनि यही मनोविज्ञानले काम गरेको छ । 

सरकारको विरोध गर्ने गणतन्त्र र संघीयता विरोधी रे ! राजसंस्थाका पक्षधरले आफ्ना धारणा राख्न नपाउने रे ! नेपालको गणतन्त्र सिध्याउन गोर्खाली र जुम्ली दुई ज्ञानेन्द्र क्याप्सुल पर्याप्त भएको छ । नेपालको गणतन्त्रका यी नै स्थायी प्रतिपक्ष प्रमाणित भएका छन् । डेढ दशक माधव नेपाल एमालेको महासचिव हुँदा केपी ओली स्थायी प्रतिपक्षी भएको दिन कसैले भुलेको छैन् । अहिले केपी ओली परम शक्तिशाली छन, माधव नेपाल नदी किनारका माझी भएर आफ्नो दिनको पर्खाइमा छन् । तीन दशकअघि खाएको जागिर सहर्ष स्वीकार्नु पछाडि एउटा पदलोलुपता हो भनेर बुझ्न कठिन छैन । नेताहरुका लागि पद अक्सिजन हो ।

मुलुकको आदर्श कम्युनिष्ट भनेर आफूलाई परिभाषित गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ४५ वर्षदेखि पार्टी नेतृत्वमा छन् । ८० नाघेका मोहनविक्रमसिंह अझै मसालको अध्यक्ष भएर आफू नभएपनि छोरी उमेरकी पत्नीको कल्याण गरेर त्यही आम्दानीमा जीवन चलाइरहेका छन् । ८० को हाराहारीका चित्रबहादुर केसीले पनि जनमोर्चाको सारथी भएर धर्म छोडेका छैनन् । प्रचण्ड वर्षौंदेखि विभिन्न पार्टी, समूह हुँदै अहिले ठूलो पार्टीको मुखिया ओगटेकै छन् । शेरबहादुर देउवा ७५ हाराहारी हुँदा फेरि दोहोर्याउने दाउमा छन् । दिवंगत भएका हुन या बाँचेका सबै नेतामा समय नै पछुताउने गरी पदमा टाँसिने अनौठो रोग छ ।

अरु देशमा सरकार प्रमुख र राष्ट्र प्रमुखको उमेर त हाम्रा एउटै नेताले नेतृत्व गरेको कार्यकाल भन्दा कम छ ।  गलत नेता नभएर यो प्रवृत्ति उत्पादन गर्ने नर्सरीको हो । दशैंको टीका लगाउँदा लोकमानसिंह कार्की, चुडामणि शर्मालाई उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको जागिरे छोरालाई अनैतिक काम गर्न उक्साउने बाउहरु यो देशमा कति छन ? सर्वोच्च अदालतका निष्ठावान र इमान्दार पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इतिहास घोकाएर आफ्नो सन्तानलाई राजहाँस बन्न सल्लाह दिने कति बाउका संकल्पहरु अहिले धर्मराएका छन ?

भगवान शिव, राम, हरि, सीताजस्ता सत्चरित्रबान देवताको नाम राखेर आफ्नो सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान । काँग्रेस नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बाले घाँटी घाँटीसम्म रामायण कण्ठ गरेर आफ्नो उत्तराधिकारीबाट रामराज्यको राम कल्पना गरे होलान । भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आफैं सरासर जेल जान्थ्यो । शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गथ्र्यो । रामचन्द्र र बाबुरामहरुले चलाएको राज्य यस्तो अनौठो परिदियो कि चार बीस पुग्न लाग्दा पनि लोभले उनलाई छोडेको छैन । 

हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता भएका छन, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन । समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ । जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो । यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, बेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छोड्न मान्थे होलान र ? मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन । एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ । अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो । जबसम्म पाप पाक्दैन, तबसम्म जतातै हरियाली छाउँछ ।

आफूलाई मैमत्त शक्तिशाली लाग्छ । समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ । यो कसैलाई सोधेर आउँदैन । न भीसा, पासपोर्टकै दरकार पर्छ । हरेक मानिसको फल्ने, फुल्ने, झाँगिने एउटा आयतन हुन्छ । बीरबल बुद्धिमानी थिए, तर बुद्धिको आडमा राजा बन्न सकेनन । राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए । पदमा बस्दा हेक्का राख्नुस्– तपाईंसंग ल्याण्डरोभर होस या साइकल आखिर कुदाउने बाटो उही हो । पिलपिले घडी लाउनुस या रोलेक्स– समय उही छ । मोबाइल जतिसुकै दामी बोक्नुस न फोन गर्ने व्यक्ति फेरिने होइन क्यारे ।

तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस या बिजनेस– गन्तव्य पुग्ने समय उही नै हो । हेर्नुस त मान्छेको चाहना उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो । फरक यत्ति हो । अर्को सत्य मलामी र जन्ती हिँड्ने बाटो अलग हुन्न । मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन, भोलिको चिन्ता गर्दैनन । मानिस मात्र त्यो प्राणी हो, उ सन्तान दर सन्तानको अनन्त रहर मेटाउन अहिले लागि पर्छ । उस्तै परे गर्भमा नरहेको शिशुको चिन्ता गर्छ । तपाईंले खान नपाएर आजसम्म एउटा जंगली जनावर मर्यो भन्ने खबर सुन्नुभएको छ ? 

सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन– एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने । निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ । न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ । यो क्रम दशकौं देखि संस्कृतिका रुपमा विकास भइरहेको छ । जीब्रोमा अंग्रेजी झुण्डिएर के गर्नु , कालो विरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउने झन् बढेका छन् । चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन । मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरु नछाँटिदा हवाइजहाज कम्पनीहरुले सहुलियत टिकटको उर्दी लाउनु परेको छ । त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन ।  

हेर्नुस त नेपालमा १० वर्षमा ११ सरकार फेरिए । ती सवैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो । पद बहाल हुँदा निर्देशन, निस्कँदा टीभीबाट जनताका नाममा सम्बोधन । अनि पदमा जाँदा उत्साह, झर्दा विलाप । कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात । राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन यी । राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ । त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो । राष्ट्रपतिले प्रधानमन्त्री, प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव बोलाउने अनि कामको नभएर निर्देशनको सरुवा, बढुवा गरिन्छ । त्यो भन्दा मुनि हजारौंको संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ ।

त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन । बरु उस्तै परे मन्त्री र सचिव पँजनीको हैसियत बोकेर उनीहरु बसेका छन् । मन्त्रीहरुको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन् । स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन् । ठूला मानिसका घरको पूmल गोड्ने माली पनि करोडौं डिलमा व्यस्त हुन्छन । एक लिटर पेट्रोल सित्तै पाउन ग्राहक खोज्नेहरु शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन । नयाँ जनप्रतिनिधिको चयनपछि यो क्रम वडासम्म पुगेको छ । राजनीतिक नेतृत्व भन्छ– स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो ।

तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ– हामी गाउँको सिंहदरबार चिन्दैनौं । वास्तवमा गाउँ गाउँ त सिंहदरवार स्थापना गर्ने चन्द्रशम्शेर मात्र पुगेका छन् । मुलुकका ६ दर्जन बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ । ती सवै ठाउँमा प्रधानमन्त्रीले दिने भनेको अन्ततः निर्देशन नै हो । संसदका समितिहरुले सरकारलाई दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ ।  विकास, सुशासन, कृषि, उद्योग, पर्यटन, सुरक्षाका नाममा सरकारी अधिकारीले दिने निर्देशन र बैठक त उल्लेख गरेर साध्य हुन्न ।

चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो । हरेक पद लिलाम बढाबढमा चढाइन्छ । जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो । अरु त अरु स्थायी सरकारका सारथी मुख्य सचिवहरुको इतिहास हेर्नुस न, आफूले आफ्नै लागि आफ्नै हस्ताक्षरमा निर्णय गराएर फाइदाको पदमा उडान भर्ने कस्तो प्रवृत्ति ? लोकमानसिंह कार्की, भोजराज घिमिरे, लीलामणि पौडेल हुँदै सोमलाल सुवेदीसम्म आइपुग्दा को भन्दा को कम देखिए । 

आखिर समस्याको चुरो राजनीतिक नेतृत्वमा गएर ठोकिन्छ । जुनबेला जनताभन्दा कार्यकर्ता र देशभन्दा पार्टी ठूलो भन्ने निष्कर्ष निस्कन्छ , त्यसपछि निर्देशन र बैठकको औचित्य समाप्त हुन्छ । सम्भवतः एउटा खाल्डो पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन एक हप्ता वित्दा पनि बतास नलाग्नु पछाडिको तीतो सत्य पनि यही नै हो । 

मुसा हिरा