Breaking News राजनीति

देउवा र पौडेललाई देश कता जाँदैछ भन्ने थाहा छैन : शेखर कोइराला

देउवा र पौडेललाई देश कता जाँदैछ भन्ने थाहा छैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको बताएका छन् । तरुण दलको ६६ औँ स्थापना दिवसका अवसरमा सामाखुसीमा आयोजित कार्यक्रममा नेता कोइरालले तरुण दलमा विवाद स्वभाविक भएको भन्दै अध्यक्षलाई महसचिव हटाउने अधिकार नभएको बताएका हुन् । 

उनले भने, ‘तरुण दलभित्रको विवादलाई स्वभाविक रुपमा लिएको छु । किनेभने पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन । तर तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार छैन ।’ तरुण दलको स्थापना दिवस एउटै ठाउँमा बनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेतासँग पनि गरेको उनको भनाइ थियो । 

‘उहाँहरुलाई एउटै कार्यक्रम गर्ने वातावरण बनाए पार्टी कार्यालयमा कार्यक्रम राख्नु भनेका थियौँ । म एक जनालाई दोष दिने पक्षमा छैन । उहाँहरु दुबै जना आ–आफ्नो गुटमा रमाइ राख्नुभएको छ ,’ उनले भने । 

यस्तै सभापति शेरबहादुर देउवाले नेविसंघमा ५० वर्षमाथिको नेतृत्व ल्याउन खोजेको भन्दै उनले भने, ‘५० वर्षको उमेरमा सभापति शेरबहादुर देउवाजी प्रधानमन्त्री भइसक्नुभएको थियो । तर अहिले उहाँले ५० वर्ष माथिको व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याउन खोज्नुभएको छ । रामचन्द्रजी पनि ५० वर्षमाथिको मान्छेलाई नेविसंघमा ल्याउन खोज्दै हुनुहन्छ ।’

पार्टी सभापति र वरिष्ठ नेताले देश कता जाँदैछ भन्ने कुरासमेत बुझ्न नसेको कोइरालाको आरोप थियो ।  केही दिनअघि अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पद र साधारण सदस्यताबाट हटाएका थिए भने त्यसको प्रतिवादमा शाहीले अध्यक्ष बस्नेतलाई पनि पदीय हैसियत तथा साधारण सदस्यबाट हटाएका थिए ।