अर्थ

भाइटीकाका लागि ११ देशबाट २ अर्बको सामान आयात

भाइटीकाका लागि ११ देशबाट २ अर्बको सामान आयात

वीरगञ्ज । तिहारका लागि विभिन्न ११ देशबाट आयात गरिएको मसला वीरगञ्ज भन्सार हुँदै काठमाडौँ भित्रिएको छ । मसला भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमालालगायतका मुलुकबाट आयात गरिएको हो ।

वीरगन्ज भन्सार कार्यालय तथा ड्राईपोर्ट सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले दिएको तथ्यांक अनुसार लगायत मुलुकबाट दुई अर्ब ५ करोड ७ लाख रुपैयाँ बराबरको काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिबल, छोकरा, सुपारी, मखन लगायत विभिन्न ब्राण्डका ड्राई मिठाई तथा चकलेट आयात भएको छ । 

दुई अर्बको सामान आयात

वीरगन्ज भन्सार नाका हुँदै तिहारलाई लक्षित गर्दै झण्डै दुई अर्ब मूल्य बराबरको सुख्खा फलफुल, मिठाई तथा भाइमसला आयात भएको छ । यसबाहेक तिहारमा घर झिलिमिली बनाउनका लागि ६५ करोड मुल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

विशेषगरी तिहारमा भाई मसलाको लागि प्रयोग गरिने मिठाई तथा ड्राई फलफुलहरु स्वदेशमै उत्पादन नहुँदा चाडवाडमा विभिन्न मुलुकबाट मिठाई तथा ड्राई फलफुलहरु आयात हुँदै आएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यो तथ्याङक वीरगञ्ज भन्सारको मात्र भएकाले अन्यत्रबाट आयात गरिएको सामान बढ्ने उनको भनाइ छ ।