कला साहित्य

मलाई अझै याद छ, त्यो सुनौलो रात..............

मलाई अझै याद छ, त्यो सुनौलो रात..............

मलाई अझै याद छ, त्यो सुनौलो रात,जुन रात म चिच्याई चिच्याई, वेदना सहन नसकेर रोईरहेकी थिएँ।
तर जिवनमा पहिलो पटक मैले आफ्नै कोलाहालमा पनि संगित भेटिरहेकी थिएँ। 
मेरो चिच्याहटले म आफैलाई तरङ्गित बनाईरहेको थियो।
किनकी मलाई थाहा थियो, यो मेरो दुखाई, यो मेरो वेदना
तिम्रो सुखद आगमनको हो।

अझ तिमी गर्भमा हुँदा यता चल्थ्यौ, उता चल्थ्यौ, घाँसको भारी र तिम्रो भारी दुबैलाई संगसंगै बोक्दा मलाई 
असह्य पीडा हुन्थ्यो । तर म हरेक दुखाईहरुमा सुखाईको अनुभूति गर्दै उकाली ओराली गर्थे।

मलाई अझै याद छ, त्यो ग्रहण लागेको दिन । हातमा कमिलाले टोकेर एकदमै चिलाईरहेको थियो।
सहेरै बसें तर मैले कन्याईन, किन थाहा छ, किनकी म तिम्रो शरिरको कुनै अंगमा सानो दागसम्म पनि लाग्न दिन्न।
तिमी जन्मीएर च्याँ च्याँ गर्दै गर्दा, म वेहोस भैसकेकी रहेछु ।
तर त्यो च्याँ च्याँ मेरा कानले महसुस गर्दै रहेछन्, मेरा वेहोसी हातहरु वेहोसीमै तिम्राे शिरलाई स्पर्श गर्न पुगेछन्।

मलाई अझै याद छ , तोते बोलिमै तिमीले आमा भन्दै पुकारेको दिन मैले खुसीले खाना खानै बिर्सीएछु।
खाना भनेपछि याद आयो , बाबू तिमीलाई थाहा छ,
म गिट्टी कुट्दा कुट्दै वेहोस् भएको दिन। तिम्लाई मीठो खुवाउनु र राम्रो स्कुलमा पढाउनु 
म आफुले खानु भन्दा महत्वपुर्ण ठानेछु। 
त्यसैले त म आफ्नो शरिर भन्दा पनि तिमीलाई महत्वपुर्ण ठान्छु नि।

तिमी माग राख्दै जन्थ्यौ म पूरा गर्दै जान्थे, तिम्रै कुरा मानिरहे।  तिम्लाई बढाएँ, पढाएँ र संसार देखाएं।
तर तिमीलाई संसार देखाउने चक्करमा म  आफुचाही अन्धि हुन पुगेछु ।
अन्त्यमा तिमीले अनाथाश्रम जान लगायौ। जिवनभर कमाएर जोडेको झुपडी मेर‍ो हुन सकेन।
अझ भनौ, तिमीले ममा  आमा भेट्नै सकेनौ।
तिम्रो यो कुरालाई पनि ईन्कार गरिन । तिम्रो खुसीमा आफ्नो खुसी बलिदानी दिने बानी जो परेको थियो मलाई।

बाह्र बर्षमा त खोला पनि रसाउछ भन्छन्, म त  आश्रममा बसेको पनि तेह्र बर्ष भैसकेछ।
अझै पनि मेरा आँखा तिम्रै बाटो हेरेर  आश्रमको ढोका बाहिर चिहाउछन्।
मीठो खाने कुरा पाएँ भने प्रत्येक गाँसहरुमा तिम्रा  आमा शब्दहरु सम्झन्छु।
तिमीलाई थाहा छ, म यहाँ एकदमै खुसी छु।
 किनकी तिमी जस्ता सयौ भाग्यमानी सन्तानका अभागी आमाहरुले म रोएको सुनिदिनुहुन्छ, अनि संगसंगै आँसु झार्नुहुन्छ । फेरि हामी एक छिनमा तिमीहरुकै प्रगतिमा जयजयकार गाउन थाल्छौं ।
थाहा छ, तिमी एक दिन मेरो खोजी गर्दै आउनेछौ , तर त्यो दिन म हुने छैन। मैले छोडेको तिथि मात्र बाँकी हुनेछ।
काज किरिया पनि नगर भो बाबू, तिमीलाई दुख हुन्छ। भो म सपनीमा  आएर तर्साउने छैन । कहिल्यै पनि
किनकी अझै पनि  म तिम्रो खुसीमा खुसी हुन सक्छु।।

-पार्वती अधिकारी