स्वास्थ्य

जवान रहने जीवनशैली

जवान रहने जीवनशैली

शिशु जन्मिएपछि व्यक्ति युवा, वयस्क अवस्था पार गर्दै पाको अवस्थामा पुग्नु सामान्य प्राकृतिक प्रक्रिया हो। व्यक्ति सधैँ जवान रहिरहन सक्दैन। तर पाको उमेरमा स्वस्थ तथा तन्दुरुस्त रहन भने सकिन्छ।

नियमित व्यायाम गरी सन्तुलित रुपमा भोजन गर्नाले व्यक्ति पाको उमेरमा स्वस्थ तथा मजबुत रहन सकिन्छ। आफ्नो शरीरलाई स्वस्थ राख्न सकिन्छ। व्यायाम तथा पोषणको सन्तुलनले पाको उमेरलाई धकेली हृष्टपुष्ट हुन सकिन्छ। जवानी शारीरिक तथा मानसिक अवस्थालाई जवान राख्नका लागि जीवनशैलीमा खुब ध्यान दिनु पर्छ।

जवान अवस्थामा सुविधाको उपलब्धताका कारण व्यक्तिले व्यायाम तथा सन्तुलित खानपानमा त्यति ध्यान दिएका हुँदैनन्। असन्तुलित खानपान तथा व्यायामको कमीले बिस्तारै शारीरिक तथा मानसिक असर देखिँदै जान्छ। जसका कारण ६० देखि ८० वर्षसम्मको उमेरमा पुग्दा करिब ९० प्रतिशत व्यक्तिलाई विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या भैसकेको हुन्छ।

त्यसैले व्यक्तिले खानपान तथा व्यायाममा ध्यान दिएर पाको उमेरसम्म स्वस्थ तथा हृष्टपुस्ट रहन सकिन्छ।
सामान्यतः पाको उमेरको व्यक्तिको दिनचार्य फुर्सदिलो हुन्छ। कामको जिम्मेवारीबाट मुक्त हुँदै जान्छन्। त्यसैले पाको उमेरमा आफ्नो शारीरिक तथा मानसिक अवस्थालाई तन्दुरुस्त राख्न व्यायाम गर्नु पर्छ।

चाँडै सुत्ने
पाको उमेरका व्यक्तिले आफ्नो शारीरिक तथा मानसिक अवस्थालाई जवानी राख्न बेलुका चाँडै सुतेर बिहान चाँडै उठ्ने बानी बसाल्नु पर्छ। घाम झुल्कने समयभन्दा अगाडिनै उठ्नु पर्छ।

उठ्नेबित्तिकै एक गिलास मन तातो पानी पिउनु पर्छ। बिहान उठ्ने बित्तिकै पानी पिउनाले रातभरिमा सुख्खा भएको शरीर पुनर्ताजगी हुन्छ। पानी नपिएको अवस्थामा भने चक्कर लाग्ने तथा लड्ने जोखिम हुन्छ। स्वस्थ व्यक्तिले हरेक एक घण्टामा पानी पिउनु पर्छ। जसले शरीर स्वस्थ हुन मद्दत गर्छ।

अब पानी पिइसकेपछि दिसा–पिसाब गर्नु पर्छ। उठ्नेबित्तिकै बिहान दिसा–पिसाब गर्नु राम्रो मानिन्छ। सामान्यतः हामीले खाएको खाना १८ देखि २० घण्टासम्ममा पचेर विकारको रुपमा दिसा बाहिर निस्कन्छ। दिसा–पिसाब गरिसकेपछि पेट सफा र हल्का हुन्छ। जसले स्फुर्ति ल्याउँछ।

बिहान चाँडै उठ्नाले बिहानको स्वच्छ हावा लिन सकिन्छ। बिहानको अक्सिजन लिनाले शरीरको कोष मृत्यु हुनबाट बचाउन सकिन्छ। शरीरका कोषिका मजबुत भएको अवस्थामा विभिन्न रोग लाग्ने जोखिमबाट बच्न सकिन्छ। त्यसैले बिहानको स्वच्छ वातावरणको अक्सिजनमा दैनिक एक घण्टा व्यायाम तथा मर्निङवाक गर्नु उपयुक्त हुन्छ। सकिन्छ भने घरबाट केही टाढा ओहोर–दोहोर गर्न सकिन्छ। नसके घरवरिपरि तथा घरको भ-याङ, छतमा हिँड्ने तथा व्यायाम गर्न सकिन्छ।

१५० ग्राम खाजा
मर्निङ वाक गरिसकेपछि बिहानको आठ बजेटिर खाजाका रुपमा बदाम, पिस्ता, काजु, किसमिसजस्ता ड्राइ फुड खानु पर्छ। पाको उमेरका व्यक्तिले यस्ता ड्राइफुड करिब १५० ग्राम खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। जसले शरीरमा पोषण पुग्छ। खाजा खाइसकेपछि एक घण्टा सामान्य काम गर्न सकिन्छ।

नौ बजेको समयमा फलफुलका जुस, सागसब्जीका जुस, फलफूल, तथा झोलिलो–मोलिलो पदार्थ खानु उचित हुन्छ। दाँतले चपाउन सकिन्छ भने फलफुलको जुस भन्दा फलफुलै खानु उचित हुन्छ।

सब्जी र सुख्खा रोटी
मध्याह्न १२ बजेको समयमा खानाका रुपमा अर्गानिक किसिमको उसिनेर पकाएको सागसब्जी र आँटाको सुख्खा रोटी खानु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ। आँटाको रोटीमा कार्बोहाइड्रेड तथा फाइबरयुक्त हुने भएकाले शरीरमा पोषण दिनुका साथै पेट सफा हुन सहयोग पुग्छ। चामलको भातमा  पनि कार्बोहाइड्रेड नै पाइन्छ। तर फाइबर नहुँदा पेटसम्बन्धी समस्या आउन सक्छ।

आफूलाई मनपर्ने सागसब्जीसँग रोटी खान सकिन्छ। सकभर उसिनेर पकाएकै सागसब्जी खानाले सागसब्जीमा भएको पोषण तत्व सुरक्षित रहन्छ। भुटेको, पोलेको तथा तारेको परिकारको भने पौष्टिक तत्व नस्ट भएर जान्छ। त्यसैले विशेषगरी पाको उमेरमा त झन् उसिनेकै सागसब्जी खानु ठिक हुन्छ।
दिनभरि आफ्नो शारीरिक तथा मानसिक क्षमताले भ्याएसम्म नियमित काम गर्न सकिन्छ।

खाना खानुअघि व्यायाम
बेलुकी करिब तीन बजेको समयमा खाजाको रुपमा पुनः जुस, फलफूल, ड्राइफुडस्, मकै भटमास, ताजा गुन्द्रक साँदेर खान सकिन्छ।

विशेषगरी बेलुकीको खाजा खाइसकेपछि  हल्का व्यायाम गर्नु उचित हुन्छ। यसरी बेलुकीको खाना खानुअघि व्यायाम गर्नाले शरीरका कोष पुनः उत्पादित हुनुका साथै शरीर चलायमान हुन्छ। जसले हामीले खाएको खाना पच्नुका साथै शरीरमा आवश्यक पोषण तत्व पुगी शरीर मजबुत तथा लचिलो हुन सहयोग पुग्छ।

अब बेलुकी सात बजे खानाका रुपमा सागसब्जीको सुप, गेडागुडीको रस तथा दाल खानु उचित हुन्छ। दिन बिराएर बेलुकी खानाका रुपमा ब्राउन राइस खान सकिन्छ। यो समयमा स्वस्थ माछा, मासुका परिकार खान सकिन्छ। पाको उमेरका व्यक्तिले (दैनिक बेलुका खानासँग) १५० देखि २०० ग्रामसम्म मासु खानु उचित हुन्छ। त्यो भन्दा बढी नखाएकै राम्रो।

माछा, मासुमा चिल्लो हुन्छ। पाको उमेरका व्यक्तिले धेरै चिल्लो पचाउन कठिन हुने भएकाले माछा, मासुमा जोड नगरी साकाहारी भोजन गरेकै राम्रो। विशेषगरी पाको उमेरका व्यक्तिले धेरै किसिमका परिकार खानु ठिक हैन। एकैचोटी बढी मात्रामा खानपान गर्नु हुन्न। बरु छोटो–छोटो समयमा कम मात्रामा खानपान गर्नु उचित हुन्छ।

अमिलो, पिरो, बढी मात्रामा चिल्लो भुटेको, तारेको परिकार नखाएकै राम्रो। यस्ता परिकार पाको उमेरका व्यक्तिको पाचनप्रणाली कमजोर हुने भएकाले पचाउन कठिन हुन्छ। त्यसैले स्वस्थ शरीरका लागि यस्ता परिकार नखाएकै राम्रो। हल्का किसिमका शरीरले पचाउने खाद्यपदार्थ खानु पर्छ। नपच्ने किसिमका खानपानले व्यक्तिलाई छिटो–छिटो पाको बनाउँछ।

बेलुकीको खानपान गर्नेवित्तिकै सुत्नु राम्रो मानिन्न। खानपान गरेर एक घण्टा आराम गरेपछि सुत्नु उचित हुन्छ। आराम मात्रै हैन भाँडा माझ्ने, भान्छा सफा गर्नेजस्ता काम गर्दा हल्का व्यायाम पनि पुग्छ। जसले खाएको खाना पेटसम्म पुगी पाचन प्रणालीमा सहजता भई खाना सहज रुपमा पच्न सहयोग पुग्छ। सहज रुपमा निद्रा समेत लाग्छ।

पाको उमेरका व्यक्ति बेलुकी नौ बजे सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। सामान्यतः स्वास्थ्यका लागि आठ घण्टा सुत्नु उचित हुन्छ।

यसरी सन्तुलित रुपमा व्यायाम तथा खानपान गर्नाले पाको उमेरमा शरीरका कोषिका तथा मांशपेशी सक्रिय हुन्छन्। कोषिका सक्रिय हुँदा शरीरका हरेक भागमा पौष्टिक तत्व पुग्छ। पौष्टिक तत्व पुग्नेबिक्तिकै व्यक्ति स्वस्थ तथा हृष्टपुस्ट हुन्छ। जीवनशैलीमा ध्यान दिए व्यक्ति पाको उमेरमा समेत हृष्टपुष्ट भई जवानी देखिन सहयोग मिल्छ।