समाचार

राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ

राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ

काठमाडौँ — अष्टेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले मंगलबार आ-आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएकाे शीतल निवासकाे सचिवालयले जनाएकाे छ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थियो ।

यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको थियो ।