अर्थ

ब्रोइलर चल्ला र कुखुराको भाउ घट्यो !

ब्रोइलर चल्ला र कुखुराको भाउ घट्यो !

बनेपा – काठमाडौं उपत्यकाका ह्याचरीले एक दिने ब्रोइलर चल्लाको मूल्यमा सोमबारदेखि लागू हुने गरी भाउ घटाएका छन्। ह्याचरीका अनुसार ब्रोइलर चल्लामा १० रूपैयाँ घटाएर किसान दर प्रतिगोटा ६० रूपैयाँ कायम गरिएको हो।

‘कब–५०० जातको चल्ला गोटाको ६० रूपैयाँ किसान मूल्य कायम गरिएको छ। यो दर सोमबारदेखि लागू हुनेछ,’ ललितपुर ह्याचरीका सञ्चालक बलराम सन्जेलले पोल्ट्री समूहमा मेसेज गर्दै भनेका छन्। आइतबारसम्म किसान मूल्य ७० रूपैयाँ कायम रहेको ब्रोइलर चल्लाको भाउ उपत्यकाबाहिरका जिल्लामा सस्तिएपछि यहाँ पनि भाउ घटाइएको हो।

यस्तै, सोमबारदेखि नै लागू हुने गरी ब्रोइलर कुखुराको मूल्यमा प्रतिकिलो १० रूपैयाँ घटेको छ। भदौ मसान्तसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोको २ सय ४० रूपैयाँ कायम रहँदै आएको थियो। असोज पहिलो दिनबाटै १० रूपैयाँका दरले घट्न थालेको भाउ एक महिनामै चार पटक घटिसकेको छ। अझै भाउ घट्न सक्नेप्रति कुखुरा व्यवसायीले संकेत गरेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।  

ब्रोइलर चल्ला कुखुराको भाउ