विचार

यसरी चुस्छ एनआरएनले पसिनाको कमाइ

सानुबाबु सिलवाल

यसरी चुस्छ एनआरएनले पसिनाको कमाइ

माथिल्ला एबम गरी खाने र हुनेखाने प्रबासीहरुको गुड्डी हाँक्ने र प्रचारको चौतारीजस्तो देखिएको रकमी सस्था एनआरएन कसरी चल्ने गरेको छ धेरैलाइ थाहा नहुन सक्दछ । थाहा भएर पनि नजाने गाँउको बाटै नसोध्नु भने जस्तो धेरैले चासो नराखेको विषय हुन सक्दछ । बाटो भुलेको यात्रीजस्तै लडखडिएको यो एनआरएनभित्रको आर्थिक अपारदर्शिता एवं मनपर्दी रुपमा उठाइने गरिएको शुल्क र यसका पदाधिकारी, क्षेत्रीय नेटवर्क र सदस्यहरुबाट उठाइने आर्थिक प्रेसरको शुल्क हेर्दा र उठ्ने उक्त शुल्क सीमित मानिसको मोज गर्ने थलोको रुपमा मौलाउँदै गएको छ ।

आखिर कति कति रकम शुल्क लेबी उठाइन्छ तथ्यांक हेर्दा जीब्रै काड्नुपर्ने अवस्था छ । उक्त रकम कहाँ कहाँ खर्च हुन्छ त ? त्यही संस्थाका पदाधिकारीलाई  अत्तोपत्तो हुँदैन । मतलब सीमित मानिसको बोलवाला, रेखदेख, मेजमानीमा खर्चिने गरिएको छ त्यो रकम । यो त एउटा पर्खालको एक पाटा मात्रै हो । अर्कातिर चुनावमा उम्मेद्वारबाट उठाइने उम्मेद्वारी शुल्कको रकम त्यत्तिकै डरलाग्दो छ । जसमा मोटो रकम उठ्ने गर्दछ । त्यसैगरी विभिन्न मुलुकका राष्ट्रिय शाखाबाट सदस्यता बापत उठाइने ५० प्रतिशत रकम अर्को ठूलो धनराशि करोडौं रुपैयाँलाई हेर्दा एनआरएन आइसीसी आर्थिक हिसाबले एउटा रकमी  र ठूलै रकम चलखेल गर्ने संस्थाको रुपमा रहँदै आइरहेको छ । 

यसका अलावा आफ्ना मनखुशी र राजिखुशीले आर्थिक भोलिन्टियरको रुपमा उठ्ने र जम्मा हुने रकमको हिसाबकिताब गर्दा एनआरएन आइसीसीको दुइ बर्षे कार्यकालमा करोडौ रुपैयाँको खाइखेली गर्ने र मोज गर्ने अखडाको रुपमा स्थापित भयो ।  एकातिर यत्रो रकमको हालिमुहाली गर्न पाउने, अर्कातिर नाम, सत्ता र शक्तिसंगको  पहुँच, खादामाला, भाषण एवं कालो रकमलाइ सेतो बनाउने प्रचुर अवसर भएपछि यो संस्थाको नेतृत्वका लागि किन हुँदैन  हानथाप र करोडौं  करोडौं रकमको खर्चिलो चुनाव ?,

आजलाइ यसका पदाधिकारी एवं अन्य पदमा निर्वाचित, मनोनयन र नियुक्तिपछि तिनैबाट उठाइने महङ्गो शुल्कलाइ मुख्य अंश बनाएको छु यो लेखमा । एनआरएन आइसीसी सभापतिले १० हजार डलर बुझाउनु पर्नेछ । यसको मतलब झन्डै ११ लाख रुपैयाँ । उपसभापतिका लागि ६ हजार डलर तोकिएको छ । महिला उपसभापति सहित ३ जना उपसभापतिबाट अर्को १८ हजार डलर भनेपछि झन्डै २० लाख उठछ । 

महासचिबबाट ६ हजार डलर जसको झन्डै ७ लाख रुपैयाँ, दुई सचिबबाट ५ हजार डलरका दरले १० हजार डलर  अर्को ११ लाख रुपैयाँ थपिन्छ ।  कोषाध्यक्ष हुन ५ हजार र सहकोषाध्यक्षबाट ४ हजार डलर न्यूनतम योग्यताभित्र पर्छ ।  महिला एबम युवा संयोजकबाट ३५ सय डलरका दरले ७ हजार डलर झन्डै ८ लाख, त्यसैगरी क्षेत्रीय कोअर्डिनेटर ६ जनाबाट ३५ सय डलरका हिसाबले अर्को २१ हजार डलर  झन्डै २३ लाख, अर्को डेपुटी कोअर्डिनेट ११ जनाबाट २५ सय डलरका दरले २७ हजार ५ सय डलर झन्डै ३० लाख थपिन्छ ।  त्यसैगरी  महिला उपसंयोजक ६ जनाबाट २५ सय डलरका दरले १५ हजार झन्डै १७ लाख,  युवा उपसंयोजकबाट २५ सय डलरका दरले १२ हजार ५ सय डलर झन्डै १३ लाख उठाइने प्रस्ताव पारित गरिएको छ ।

यो माथिका उठ्ने रकम यसै डरलाग्दो त छँदैछ । त्यो भन्दा अर्को झन् खतरनाक  १२० जनाको अपटेड आइसीसी मेम्बर निर्वाचित र थप २१ जना मनोनित गरी १ सय ४१ सदस्यहरुबाट एक हजार डलरका दरले उठ्ने अर्को एक लाख ४१ हजार डलर झन्डै एक करोड ५० लाख ठूलो धनराशि हो ।  

अब हिसाब गर्नुहोस कति रकम उठ्दो रहेछ त निर्वाचित एवं मनोनितपछि झन्डै २ करोड ८० लाख । पदमा बसे बापत दुइ बर्षे शुल्क हो यो । कार्यक्रमामा जाउ, उस्तै परे नेपाल आतेजाते गर, अन्य कार्यक्रममा चन्दा देउ, आपतकालिन आइपरे थप चन्दा, प्लेन खर्च र खानपिन गर्दा एउटा सामान्य काम गरेर हातमुख जोर्नुपर्ने प्रबासीले यत्रो सेतो हात्तीसरह खर्च धान्लान त ?

फेरि नामका लागि, उक्साहट, भावनामा बगरे, अर्काले उचालिदिएको भरमा सुर्केर, मैमत्ता भै संस्थामा लाग्दा आफ्नो परिवार, बालबच्चाको पेट, इच्छा र अवसर एवं आवश्यकता काटेर यो संस्थामा लाग्दा मात्रै हजारौं हजार डलर खोलाको बालुवामा फ्याँक्नुपर्ने देखियो । तपाईंसंग व्यापार छ, व्यापारले कालो धन्दा पनि गर्ने गर्दछ, टेबुलमुनिको अर्को कमाई छ, तपाईंसंग पानीमा फूल पार्ने कला छ, छक्कापन्जा गने सीप छ, ठग्ने, ढाँट्ने, फट्टाइ गर्ने र लुट्ने कला छ भने मात्र यसखाले संस्थामा लाग्दा हितकारी देखिन्छ । पसिनाको कमाई, परिश्रमको कमाई  बालुवामा खन्याउन तपाईको न त मनले मान्दछ, न त कमाईले नै थेग्न सक्दछ ।

लेबीका नाममा, शुल्कको नाममा, चन्दाको नाममा, यो सस्थाको बारमासे कार्यक्रममा दौडधुपमा लाग्ने खर्चले तपाइको समुन्नतिमा धक्का लाग्न जान्छ । तपाईको कुरा नसुनिने, तपाईंले सस्थामार्फत कमाउन नसक्ने र नचाहने, तपाइको नियमित कमाइले नधान्ने चुहिएको र पीँध प्वाल परेको लोटामा कति दिनसम्म पानी भरिरहनु हुन्छ ? यो ठग, दलाल र तस्करहरुले मात्र थेग्न सक्ने चौतारि हो । यो त इमान्दार प्रवासीको खर्च र समयको नास मात्रै हो ।

त्यसैले अर्काको लहैलहैमा लागि भावनामा  आएर आफूलाई बर्वाद बनाउने र  परिवारको समुन्नतिको सपनामा यो वाहियात खर्च गरी आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम रोक्नुहोस् ।
 

एनआरएन करोडौ रुपैयाँ