विचार

नेतामाथि नैतिकताको प्रश्न

नेतामाथि नैतिकताको प्रश्न

साउन महिना छविको नाममा वित्यो । भदौ पुरै रविले ठेक्का लिए । अब असोज त्यसमाथि दशैं, सत्यकी अधिष्ठात्री देवी भगवतीको आराधना गरी सत्य, पराक्रमी, इमान्दार मानिसको समाजमा कदर होस, बहुजन हिताय, बहुजन सुखायको मान्यता अझ प्रबल बन्दै जाओस् भनेर ठूलाबडाको आशिर्वचन लिने यो घडी अशुभ समाचारको चक्रव्यूहमा फसेको छ । असोज महिना जमरासंगै महराको चर्चा चुलिएको छ । कृष्णबहादुर महरा नेपाली राजनीतिमा अभूतपूर्व छलाङ मारेर मुलुकका पाँच सम्माननीय मध्येका एक हुन । सम्भवतः गृह, अर्थ, परराष्ट्र, सञ्चार, उद्योगजस्ता शक्तिशाली र ग्ल्यामरस मन्त्रालय सम्हाल्ने दुर्लभ राजनीतिकर्मीलाई जुर्ने सुयोग यिनको जीवनकालमा जुर्यो । हुँदा हुँदा सभामुखजस्तो पूर्ण संवैधानिक अधिकार भएको पदमा पुग्ने अहोभाग्य यिनकै पुर्पुरोमा लेखियो ।

हिंसाको राजनीतिबाट संसदीय प्रक्रियामा आएका माओवादीका लागि महरा नै माउते थिए । २०४८ सालमा सांसद भएको गहन अनुभव उनीसंग थियो । शान्तिप्रक्रियाका सम्पूर्ण कामको ठेक्का प्रचण्डले यिनकै काँधमा सुम्पिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत संसदका हरेक पदमा प्रतिस्पर्धी उठाएको प्रतिपक्षी कांग्रेसले महराको नाममा हात उठायो । अझ भनौ उनी सबैका ‘प्रिय’ र ‘सर्वस्वीकार्य’ थिए । आखिर यिनै सबैले आस गरिएका पात्र अन्त्यमा जेठाजु बन्न पुगे । 

भीभीआईपीलाई यस्तो मुद्दा लाग्नु भनेको सत्ता र शक्तिको तेज कस्तो हुन्छ भन्ने उदाहरण पनि हो । चुनावताका अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी प्रतिस्पधी हिलारी क्लिन्टनका विषयमा टिप्पणी गर्दै भनिदिए– ‘यिनले आफ्नो पतिलाई त खुशी पार्न नसकेर उनी मोनिका लेवेन्स्कीतिर लस्किन बाध्य भए भने करोडौं अमेरिकी जनतालाई कसरी खुशी राख्न सक्लिन ?’ नेताहरुका प्रेम प्रसंग नयाँ होइनन । दक्षिण एशियाका शीर्ष नेताहरुका प्रेम प्रसंग चर्चामा छन् । जवाहरलाल नेहरु, जुल्फिकर अलि भुट्टो, नेपालकै राजा महेन्द्रदेखि बीपी कोइरालासम्मका प्रेमलीला इतिहासको दस्तावेजमा उल्लेख छन् ।  तर त्यसको समुचित प्रयोगले उनीहरुका लागि त्यो प्रेम बाधक नभएर साधक नै ठहरियो । तर त्यही प्रेम भद्दा भयो भने यस्तो जात्रा निम्तिन्छ । 

मुलुकका भीआईपी र भीभीआईपीको आचरण कस्तो हुनुपर्छ भन्ने बहस यो घट्नासंगै हुनुपर्छ । सधैं शक्तिशाली भएर रहने महराको यो पछिल्लो कर्म एकप्रकारले ‘पाप पाकेको’ हो । चिनियाँसंग सरकार ढाल्न ५० करोडको बार्गेनिङ टेप यिनलाई सिध्याउन काफी थियो । तर दिन बलियो भएका कारण टेपले शरीरको धुलो समेत उडाएन । तर तीन दशकदेखि सम्पर्कमा रहेकी शुभचिन्तक एउटी महिलाले रेप बिल्ला भिराइदिँदा उनको राजनीतिक जीवनमा शनि खनियो । यो कलंकले उनलाई जीवनभर तर्साउने छ ।

यसअघि सुनकाण्ड बहसमा  ‘आफूलाई साना माछा’ भनेर समेत चर्चामा आएका थिए । बतासे योजनाका लागि सस्तो किसिमले अर्थमन्त्रालयका सचिवलाई फोन गरेको महरा भिडियो पनि सार्वजनिक बहसको विषय बनेको थियो । अझ लडाकुका नाममा निकासा भएको अरबौं रकम भ्रष्टाचार गरेको संगीन आरोप अझै छ । यद्यपि अख्तियारले सफाई दिएर उनको राजनीतिक यात्रालाई सुगम बनाइसकेको छ । लगातार गल्तीमाथि गल्तीका चाङ लाग्दा पनि बच्दै आएका यिनी महिला काण्डमा नराम्ररी फसे । यो विश्वकै राजनीतिमा चर्चित काण्डभित्र पर्ने निश्चित छ । 

लेनिनले भनेका थिए– ‘हजारौं गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ ।’ एउटा कुशल शिक्षक, जनयुद्धको कुशल लडाकु ,सांसद, विभिन्न मन्त्रालयको मन्त्री हुँदै सभामुखसम्म आइपुग्दाको यात्रालाई लेनिनले भनेजस्तै क्षणभरको भावनात्मक उत्तेजनाले खाइदिएको छ । यो यस्तो संगीन आरोप हो, जुन आरोपले आफ्नो बाहिरिया त बाहिरिया भइगए, घरका मानिसको पनि स्नेह गुम्छ । कम्युनिष्ट पार्टीमा यस्ता कर्मलाई ‘सांस्कृतिक विचलन’को उपमा दिने चलन छ । जेलमा बसेको कैदीलाई त प्रजनन अधिकारको प्राकृतिक हक कायम राख्न प्रजनन अधिकार दिने बहस चलिरहेका बेला भीभीआईपी नै एउटा रक्सीको बोतल कोटका गोजीमा च्यापेर रातविरात यसरी हिँड्नु हुन्छ या हुन्न त्यसको वस्तुनिष्ट व्याख्या हुन जरुरी छ ।

अबका दिनमा राजनीतिज्ञहरुले कस्तो आचरण अपनाउनु वेश होला भनेर अन्तरपार्टी बहस हुनुपर्छ । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सदस्यका नाममा त यस्ता अपराधका नालीबेली सतहमा आउन शुरु गरेका छन् । महरा प्रकरणले त एउटा विशाल राजमार्ग नै खनिदिएको छ । अब यही घटनालाई आवरणमा देखाएर महिला मुक्तिका कथित विकासे खेती नफस्टाउन । महिला भीआईपीलाई महिला नै सुरक्षाकर्मी चाहिन्छ भने कुतर्कका आवाज सडकमा नसुनियून । नेपालमा जुन बहस अनावश्यक हुन्छ, त्यसैले घर गरेको हुन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारा महरा बलात्कार प्रकरण, ज्ञानेन्द्र शाहीको रगतमा नसकियोस् । अब त लाग्न थालेको छ– ‘नेपालको लोकतान्त्रिक संघीय गणतन्त्र सिध्याउन गोरखाली राजा ज्ञानेन्द्र हैन, जुम्ली ज्ञानेन्द्र शाही नै काफी छन् ।’ 

सधैंभरि कतै निम्छरा, कतै सार्वजनिक खपतका लागि बहस गरेर यस्ता घटनालाई ओझेलमा पार्ने छूट कसैलाई छैन् । सधैं गल्ती गर्दै नियतिलाई दोष दिएर अब उम्किने समय गए । यो सभामुखको दोष हैन । कृष्णबहादुर महराको हो । व्यक्तिको गल्तीलाई पदमा जोड्ने गल्ती किमार्थ गर्नु हुन्न । एउटी निर्दोष बालिका निर्मला पन्तको त्यो किसिमले भएको जघन्य हत्याका दोषी अझ पत्ता नलाग्नु सरकारी संयन्त्र अनुसन्धानमा कुन हदसम्म भुत्ते भइसक्यो भन्ने तथ्यको उपल्लो प्रमाण हो । यस घटनालाई लिएर आजसम्म सरकारका कुनै निकायले आफ्नो कार्यशैलीमा परिवर्तन गरेको समाचार सुन्नसम्म पाइएको छैन् । झोले, चण्डमुण्डको आडमा सत्य ढाक्ने दुष्प्रयास सधैंका लागि क्षम्य हुन सक्दैन । अब शक्तिले लाज छोपिने दिन गए । अर्कातर्फ यो समस्याले माइतीघर मण्डलाले सधैं रोजगार पनि नपाओस् । कुनै घटनालाई घटनामा सीमित नगरेर शिक्षामा अनुवाद गर्ने अवसरका रुपमा लिइनु पर्छ ।  
  
 

सभामुख महरा प्रकरण