समाचार

महराले सरकारी वकिल कार्यालयमा दिए यस्तो बयान, के कानुनी घेराबाट उम्किन सक्छन्?

महराले सरकारी वकिल कार्यालयमा दिए यस्तो बयान, के कानुनी घेराबाट उम्किन सक्छन्?

काठमाडाैँ - संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका  निवर्तमान सभामुख कृष्णबहादुर महराले कर्मचारी रोशनी सँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना भएको दिनमा आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बयानमा बताए। ‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो, ‘ तर बयान सकिएको छैन। बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ।’

बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो। सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।

यो प्रकरणलाई अन्यत्र मोड्ने गरी रोशनीले आफ्नै सुरुको बोली फेर्दै आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको दाबीसहित बयान दिएपनि उपलब्ध तथ्यहरुको विश्लेषणबाट महरा रोशनीको निवास पुगेको पुष्टि भएपछि महरालाई कारबाहीको दायरामा ल्याउन मनावअधिकार आयोगदेखि सबै कोणबाट दबाब परेको थियो । 

यो विषयमा  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए । सोही बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । 
 
महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन्। यद्यपी प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यो घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ। यो प्रक्रिया सकिएपछि सोमबार या मंगलबार महराविरुद्ध जवरजस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ।

बिहीबार प्रारम्भिक बयानपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै महरालाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ। अस्पतालमा उनका परिवारका सदस्य र आफन्तबाहेक पार्टी उच्च तहका कुनै नेताहरु उनलाई भेट्न पुगेका छैनन्। 

महराले जवरजस्ती करणीको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा गरिसकेका छन् भने उनको सांसद पद पनि निलम्बनमा परेको छ।