भिडियो Breaking News कभर स्टोरी

‘विदेशीको इशारामा नेपालमा अस्वाभाविक चलखेल (भिडियोसहित) 

सिद्धान्त र एजेण्डाविहीन उपेन्द्रसंग पार्टी एकता असम्भव

‘विदेशीको इशारामा नेपालमा अस्वाभाविक चलखेल (भिडियोसहित) 

 
राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री जीतेन्द्रसिंह प्रष्ट वक्ता हुन् । पार्टी भित्र र पार्टी बाहिरका हरेक मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने सिंह पार्टीका अध्यक्ष मण्डलका ६ जना नेताको खरो आलोचकका रुपमा देखिएका छन् । 

कात्तिकमा महाधिवेशन असम्भव

अध्यक्ष मण्डलका ६ नेताका कारण पार्टी शिथिल बनेको मात्र होइन, कात्तिकमा हुने भनिएको महाधिवेशन पनि अनिश्चित भएको सिंहको भनाइ छ । अध्यक्ष मण्डलका ६ जना नेता आ–आफनो पूर्व पार्टीका नेता कार्यकर्ताको व्यवस्थापन र संरक्षणमा मात्र लागेकाले पार्टी निस्कृय जस्तै भएको उनी बताउँछन् । 

महामन्त्री सिंह भन्छन्, ‘कात्तिकमा पार्टी महाधिवेशन सम्भव छैन । फेरि विधान संशोधन गरेर महाधिवेशनको म्याद तोक्नुपर्छ । तल्लो तहका कमिटीको अधिवेशन हुन सकेको छैन । महाधिवेशनका लागि शीर्ष नेताहरुले तदारुकता पनि देखाएका छैनन् ।’

एकता टर्दै

समाजवादी पार्टीसंगको एकताको हल्लाले पनि महाधिवेशन लगायत पार्टीका काम सुस्त भएका हुन् । वास्तवमा भन्ने हो भने समाजवादी पार्टीसंग तत्काल एकता हुने अवस्था छैन । समाजवादी पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान लिएको छ । राजपा मिश्रित निर्वाचन र संसदीय प्रणालीको पक्षमा छ । यो नमिल्दासम्म एकता सम्भव छैन । तर, अचम्म के छ भने यो विषयमा दुई पार्टीबीच एकपटक पनि छलफल भएको छैन । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग राजनीतिक इमान र धर्म रहेन । सरकारमा बसेर संविधान र सरकारकै विरोध गर्ने कुन राजनीतिक सिद्धान्त हो ? उनले त संविधान संशोधनसंगै मधेशको मुद्दा पनि छोडिसके । उनी सिद्धान्त र एजेण्डाविहीन बनेका छन् । यो बेला राजपा मात्र संविधान संशोधनको लागि अधिकार राख्ने पार्टी हो । 

विदेशी चलखेल

वर्तमान सरकार र नेकपाका कारण मुलुकमा विदेशी चलखेल बढेको छ । खासगरी राजनीतिमा जुन प्रकारका अस्वाभाविक खेल देखिएका छन्, त्यसले राम्रो कुराको संकेत गरेको छैन । 

पछिल्लो समय नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको ६ बुँदे समझदारी र नेपाल सरकारले चीनप्रति देखाएको आशक्तिले मुलुकमा गम्भीर दुष्परिणाम ल्याउने देखिएको छ । खासगरी साम्यवादीहरु एकजुट भएर मुलुकमा अधिनायकवाद ल्याउत उद्धत देखिन्छन् । यो हिसाबले हेर्दा नेपालको लोकतन्त्र संकटमा देखिन्छ । 

यो बाहेक छिमेकी र पश्चिमा मुलुकहरुका गतिविधि र चासोले नेपाली राजनीतिक दलहरुमाथि दवाव बढाउनुका साथै मुलुकको राष्ट्रिय स्वाभिमान मै धक्का पुग्ने अवस्था छ । निकट भविष्यमै साम्यवादी र प्रजातान्त्रिक शक्तिबीच ठूलो टकराव हुने देखिन्छ । यसले अहिलेको व्यवस्था माथि नै खतरा उत्पन्न गराउन सक्छ । 

संविधानको जग हल्लियो

अहिले मुलुकमा संविधान पक्षधर र संविधान विरोधी दुईवटा शक्ति देखिन्छन् । आश्चर्य त यो छ कि संविधान जारी गर्ने नेपाली कांग्रेसले नै संविधानको प्रस्तावनामा प्रश्न उठाएको छ । प्रस्तावना संविधानको अपरिवर्तनीय हुन्छ । 

यही प्रस्तावनामा रहेको धर्मनिरपेक्षताका विषयमा कांग्रेसले प्रश्न उठाएपछि संविधानको आयु कति छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । 
संविधान नमान्ने शक्ति बलिया हुँदै गएका बेला संविधान जारी गर्ने शक्ति  नै संविधानका खिलाफ देखिनु संविधानको सुन्दर भविष्यको सूचक होइन । 

सरकार ढल्छ, नेकपा फुट्छ

नेकपा अपवित्र गठवन्धन हो । एमाले र माओवादी केन्द्रको मिलन नै अपवित्र छ । यिनीहरु नामका मात्र कम्युनिष्ट हुन् । त्यो पनि सी जिनपिङ पथमा हिंड्ने भएपछि झन समस्याग्रस्त भएको छ । 

अपवित्र गठवन्धन भएकै कारण नेकपाभित्र भावनात्मक एकता छैन । प्राविधिक एकता पनि पूर्ण हुन सकेको छैन । यो चाँडै फुट्दैछ, सरकार पनि ढल्ने अवस्थामा छ ।