देश राजनीति

नेताका नामका अस्पताल हटाउन खोजेकामा कांग्रेसको आपत्ति

नेताका नामका अस्पताल हटाउन खोजेकामा कांग्रेसको आपत्ति

काठमाडौं । कांग्रेसले आफ्ना दुई नेताका नाममा स्थापित राष्ट्रियस्तरका अस्पताललाई संघीय सरकारबाट अलग्याउन खोजिएकामा आपत्ति जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् ।

 

सरकारले राष्ट्रियस्तरका ११ मध्ये गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामबाट स्थापित अस्पताललाई मात्रै पूर्वाग्रही ढंगबाट संघीय सरकारबाट अलग्याउन खोजेको उनले बताए । नेता दिलेन्द्र बडूका अनुसार गत बिहीबारको मन्त्रिपरिषद् बैठकले ११ मध्ये ९ अस्पताललाई गठन आदेशमार्फत केन्द्रीय सरकारमातहत राख्ने निर्णय गरेको छ ।

 

दुई अस्पतालबारे केही नबोलिएपछि स्वास्थ्य मन्त्रालयले केन्द्रीय सरकार मातहतबाट हटाउने टिप्पणी उठाएको सूचना आफूहरूलाई आएको उनले बताए । नेता पौडेलले पत्रकार सम्मेलनअघि प्रधानमन्त्रीलाई टेलिफोन गरेर यस विषयमा छलफल गर्न समय मागेका थिए । तत्काल समय नमिलेपछि उनले पत्रकार सम्मेलन गरेका हुन् । ‘यसलाई हामीले सामान्य र हल्का ढंगले लिएका छैनौं, यो कांग्रेसको अस्तित्वसँग जोडिएको विषय हो,’ पौडेलले भने, ‘एक पटक प्रधानमन्त्रीसँगै भेटेर कुराकानी गर्छौं । निर्णय नसच्चिए सदन बन्द गर्छौं । सडकमा पनि आन्दोलन गर्छौं ।’

 

तनहुँको दुलेगौंडामा गिरिजाप्रसाद कोइरालाका नाममा श्वासप्रश्वास र सुशील कोइरालाका नाममा बाँकेमा क्यान्सर अस्पताल सञ्चालित छ । यी अस्पतालको पूर्वाधार विकासका लागि राज्यले बर्सेनि करोडौं खर्चंदै आएको छ । केन्द्रीय सदस्य शेखर कोइरालाले दुई नेताका नामको अस्पताल विघटनको निर्णय गरेर सरकारले गल्ती गरेको बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

काँग्रेस अस्पताल