कभर स्टोरी भिडियो

भाइरल वुमन मीना ढकाल भन्छिन्, ‘छोरीलाई विदेश पठाएर बिहे गर्छु’ (भिडियाेसहित)

भाइरल वुमन मीना ढकाल भन्छिन्, ‘छोरीलाई विदेश पठाएर बिहे गर्छु’ (भिडियाेसहित)

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित रहेको ‘आमाछोरी ट्रेण्ड’ नाम गरेको बुटिकमा उनी फोनमा गफिँदै थिइन् । हामी जानेबित्तिकै उनले नम्र भावमा स्वागत गरिन् । माघ माहिनामामात्र खुलेको उक्त बुटिक नै अहिले उनको एक्लोपनको सहारा भएको छ । त्यसो त विवाह भएको २० वर्षको सम्बन्धमा पूर्णविराम लाग्दा उनको जीवनमा नयाँ मोड सुरु भएकै हो । आफैँ गरिखान र सक्षम बन्न नै उनले बुटिकको सुरुवात गरेकी हुन् । उनी थिइन् चर्चित हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल ।

 


हिजोआज उनको समय बुटिकमै बित्छ । योबाहेक आफ्नो कामलगायत कहिले सामाजिक सञ्जालमा सक्रिय भएर र छोरीलाई समय दिएर उनी व्यस्त छन् । मीनाले विवाहको २२ वर्षसम्म गृहिणी बनेर बस्नुपर्दाको पीडा मिडियामा भन्दै आएकी छन् । उनका अनुसार गजुरेलले उनलाई घरकै काम गर र घरमै मात्र सीमित बनेर बस्न भने । तर, गजुरेलको यो अडान मीनाको मन मस्तिष्कमा धेरै समय टिक्न र बिक्न सकेन । अन्तिममा उनले निर्णय गरिन्, ‘सम्बन्ध विच्छेद’ गर्ने । यत्तिका वर्ष सम्झौता गरेर बस्न त उनलाई पनि मन थिएन । तर, छोरी सानै थिइन् । छोरीको लागि भएपनि सम्बन्ध तोड्न सकिनन् । अहिले छोरी १४ वर्षकी भइन् । छोरीले पनि अब विस्तारै सबै कुरा बुझिसकेको ढकालको बुझाइ छ । 


विवाहका सोचमा उनी खुला छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रेम प्रस्ताव राख्ने त धेरै छन् उनलाई । तर छोरीको कारण पनि अहिले पनि उनी विवाह गर्ने मुडमा छैनन् । ‘विवाहबारे अहिले सोचिहालेको छैन । छोरीलाई प्लस टु पढाएर विदेश पठाएपछि विवाह गर्छु’, उनले भनिन् । 

 


समय समयमा विवादमा आइरन्छिन् उनी । यो उनले चाहेको पनि होइन । तर, कसैसँग मिलेपछि मनमा आएको कुरा दुईपटक पनि नसोची फ्याट्ट बोलिहाल्ने उनको यो बानीले उनलाई सधैँ विवादमा ल्याउने रहेछ । 

 


एक अन्तर्वार्तामा उनले फ्याट्टै भनिन्, ‘मलाई सुड्डो मन पर्दैन’ । यो प्रसंगले उनलाइै धेरैले गाली पनि गरे । तर, उनको अर्थ थियो, आफूभन्दा ठूलो उमेरको केटासँग विवाह नगर्ने । ‘आफूभन्दा ठूलो उमेरको मान्छेसँग विवाह गर्दा हेपिनुपर्ने रहेछ । उनीहरूले सधैँ आफ्नो वशमा राख्न खोज्छन् । आफ्नो पैसा र सम्पत्तिको लोभ देखाउँछन् । त्यसकारण आफूभन्दा कम उमेरकोसँग विवाह गरेर सँगै दुःख गर्नु र आफूले कमाएको पैसामा मोज गर्नु नै उचित लाग्यो ।’

 


मीना ढकाल र मनोज गजुरेलको जोडीलाई सामाजिक सञ्जालमा एक ‘आइडियल जोडी’ को रूपमा चिनिन्थ्यो । तर, यो भ्रमबाट दर्शकहरू पनि अहिले मुक्त भइसकेका छन् । अब यो सम्बन्ध फेरि पनि जोडिने सम्भावना कत्ति पनि नभएको पनि उनले दाबी गरिन् । किनभने ढकाल अब खुल्ला रूपमा बाँच्न चाहन्छिन् । स्वतन्त्र रूपमा आफूलाई गर्न मन लागेका र आफूले गर्न सक्ने काम गर्न चाहन्छिन् । 

 


यसलाई निरन्तरता दिन नै उनले गीत गाइन् । उनको पहिलो गीतबारे सामाजिक सञ्जालमा धेरै आलोचना पनि भयो । उनलाई धेरैले उडाए । तैपनि उनले हार मानिनन् । अर्को गीत पनि निकालिन् । पहिलाको तुलनामा भने उनको दोस्रो गीतलाई लिएर राम्रै प्रतिक्रिया आएको छ । 

 


सामाजिक सञ्जालमा जति नै मजाक गरे या उनलाई उडाए पनि उनलाई त्यसले फरक भने पारेको छैन । ‘मैले गल्ती गरेको होइन । आफूलाई गर्न मन लागेको कामको कोसिस मात्र गरेकी हुँ । यसमा म डराउनुपर्ने या मलाई आलोचना गर्नुपर्ने छैन’, भन्दै उनले थपिन्, ‘२० वर्षसम्म गृहिणी भएर थुनिएकी म जस्ती महिलाले गरेको काममा अझ साथ दिनुपर्ने हो ।’ 

 

दर्शकहरूको नकारात्मक प्रतिक्रियाले उनलाई कत्ति पनि फरक परेको छैन भनेर उनको अर्को कार्यले पनि थाहा हुन्छ । यस अर्थमा भन्नुपर्दा उनी फिल्म निर्देशन पनि गर्दैछिन् । ढकालले यसअघि पनि कुनै फिल्ममा काम गरेकी छैनन् । न त उनलाई फिल्म निर्देशनको कुनै अनुभव नै छ । 

 


यो ‘कन्फिडियन्स’ कि ‘ओभर कन्फिडियन्स’ भन्ने प्रश्नमा उनले भनिन्, ‘म आफ्नो आत्मविश्वासमा अडिग छु । मैले काम गर्न सक्छु जस्तो लागेर नै गर्न लागेकी हुँ । आफ्नो अभिनय कला नभएपनि सिकाउन सकिन्छ ।’ त्यसो त नेपालमा मनपर्ने महिला निर्देशक पनि उनको लागि कोही छैनन् । उनले नेपाली फिल्म पनि कमै मात्रामा हेर्ने गरेको बताइन् । 

 

 

फिल्म केही हदसम्म उनको आफ्नै जीवनमा पनि आधारित रहेको छ । तर, फिल्म उनको आत्मकथा भने होइन । स्क्रिप्ट लेख्ने काम अन्तिम चरणमा पुगेको छ । नयाँ अनुहारलाई लिएर बनाउन लागेको उक्त फिल्ममा उनी आफैँले पनि भूमिका निर्वाह गर्ने छन् । सबै टिम नयाँ भएपनि हिरो भने चिनिएकै अनुहार राख्ने उनको सोच छ । त्यो सोचमा अहिलेसम्म नायक आर्यन सिग्देल फिट भएका छन् ।  

 

घरबार टुट्ने र सम्बन्ध बिच्छेदको घटना अब नेपाली समाजमा नौलो रहेन । आम मानिसको जीवनमा पनि यस्ता घटना भइरहेका छन् । तर, सेलिब्रेटी सेतो कपडाजस्तै हुन् । उनीहरूमा लागेको सानो दाग पनि देखिन्छ र आम मानिसहरूले पनि त्यतै चासो दिन्छन् । जसकारण उनीहरू सम्बन्ध बिच्छेदबारे समाचार फैलिन र त्यसमा अन्य मानिसहरूले आफ्नो प्रतिक्रिया दिन कत्ति पनि समय लाग्दैन । समग्र रूपमा किन हुन्छ त सम्बन्ध बिच्छेद ? मीनाको भोगाइ र अनुभव उनकै शब्दमा उद्धृत गर्दा, ‘सबैको भोगाइ आफ्नै किसिमका हुन्छन् ।

 

यसमा नारी पुरुष दुवैले सम्झौता गर्नुपर्ने हुन्छ । मुख्य रूपमा त यो सम्बन्धलाई बचाई राख्ने चिज भनेको नै समझदारी हो । एकअर्कामा असमझदारी भएपछि नै समस्या आउने हो ।’ 

मीना ढकाल आमाछोरी फ्रेन्ड्स