व्यापार अर्थ कर्पोरेट मुख्य समाचार ओटोमोबाइल देश प्रदेश ३

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

काठमाडौं । सरकारले  सीसीका आधारमा अन्तशुल्क निर्धारण गरेपछि लक्जरी गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको छ। मर्सिडिज बेन्च, ल्याण्ड रोभर र टोयोटाका गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको हो।

 

अन्तशुल्कका कारण टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले प्राडो, हाइक्लक्स, फर्चुनर, र्याभ फोर लगायतका गाडीमा एक लाख देखि ४४ लाखसम्म मूल्य बढाएको छ।

 

गत वर्ष एक करोड ८४ लाख रुपैयाँमा विक्री हुँदै आएको  दुई हजार नौ सय ८२ सिसिको बेस मोडलको प्राडोको मूल्य ४३ लाख रुपैयाँले बढेको कम्पनीका विक्री प्रवन्धक जयनारायण यादवले बताए। गाडीको नयाँ बजार मूल्य दुई करोड २५ लाख रुपैयाँ कायम भएको छ।

 

उनका अनुसार स्टक बाँकी भएकाले असार महिना भित्र प्राडो खरिद गर्ने ग्राहकले दुई करोड १९ लाखमा खरिद गर्न सक्नेछन्। हाइ इन्ड प्राडोको मूल्य २ करोड ८१ लाख रुपैयाँ पुगेको छ। असारभरि यो गाडी २ करोड ७४ लाख रुपैयाँमा किन्न पाउने उनले बताए।

 

स्टकमा रहेका प्राय सबै गाडीहरु बुकिङ भइसकेको छ। स्टकमा रहेका केही गाडीहरु पहिलाकै मूल्यमा विक्री गरिरहेका छौँ। अहिले भन्सार छुटेका गाडी मात्रै नयाँ मूल्यमा विक्री गरिने यादवले  बताए । 

 

टोयोटाको हाइलक्सको मूल्य चार लाख रुपैयाँ महँगो भएको छ।अन्तशुल्क बढेपछि हाइलक्सको मूल्य ८४ लाख ५० हजार रुपैयाँ पुगेको छ।यसअघि हाइलक्सको मूल्य ८० लाख ५० हजार थियो।कम्पनीले असारभित्र हाइलक्स किन्नेले ८२ लाख ५० हजार रुपैयाँमा खरीद गर्न पाउने जनाएको छ।टोयोटाको फर्चुनरको मूल्य ३१ लाख रुपैयाँले बढेको छ।

 

अन्तशुल्क बढ्नु अघि यो गाडीको मूल्य १ करोड ३२ लाख रुपैयाँ थियो।२९ सय ८२ सीसीको फर्चुनर असारभित्र किन्नेले १ करोड ५९ लाख रुपैयाँमा पाउने यादबले बताए।टोयोटाको र्याभ फोरको मूल्य १ करोड १८ लाख ५० हजार रुपैयाँ कायम भएको छ।बजेट अघि यो गाडीको मूल्य १ करोड १६ लाख रुपैयाँ थियो।टोयोटाको इटिओसको मूल्य एक लाख रुपैयाँ बढेको छ ।

 

इटिओसको मूल्य ३८ लाख ५० हजार रुपैयाँ कायम भएको छ।बजेट अघि यो गाडीको मूल्य ३७ लाख ५० हजार रुपैयाँ थियो।हायस माइक्रोको मूल्यमा भने कुनै परिवर्तन छैन। मर्सिडीज बेन्जको अधिकृत विक्रेता दीपक गौतम एण्ड कम्पनीले नयाँ अन्तशुल्क निर्धारणपछि गाडीमा तीस लाख रुपैयाँ देखि एक करोड रुपैयाँ सम्म मूल्य वृद्धि हुने जनाएको छ।

 

गत वर्ष एक करोड ८५ लाख रुपैयाँमा विक्री गरेको २२ सय सीसीको मर्सिडीज जिएलसीको मूल्य ४० लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ।  कम्पनीले जिएलसीको नयाँ बजार मूल्य दुई करोड २० लाख रुपैयाँ पुगेको छ।

 

२९ सय सीसीको मर्सिडिज जिएलइको मूल्य ६५ लाख रुपैयाँले बढेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार  जिएलइको नयाँ बजार मूल्य तीन करोड पाँच लाख रुपैयाँ रहेको छ। बजेट अघि यो गाडी दुई करोड ४० लाखमा विक्री हुँदै आएको थियो।

 

कम्पनीले मर्सिडीजको तीन हजार सीसीको एक्स क्लासको मूल्य एक करोड रुपैयाँ बढेको छ।यो गाडीको मूल्य ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बजेट अघि यो गाडीको मूल्य ३ करोड ७५ लाख रुपैयाँ थियो।

 

कम्पनीले २७ सय ९५ सीसीको  ल्याण्ड रोभर डिफेन्डरमा तीस लाख रुपैयाँ मूल्य बढाएको छ। गत वर्ष एक करोड १० लाख रुपैयाँमा विक्री गरेको डिफेन्डरको नयाँ बजार मूल्य एक करोड ४५ लाख रुपैयाँ पुगेको छ।

 

कम्पनीका अनुसार  गत वर्ष एक करोड ८० लाखमा विक्री गरिएको रेन्जरोभरको नयाँ  मूल्य दुई करोड ६० लाख रुपैयाँ रहेको छ। गत महिना बजेटमार्फत सवारीसाधनको सीसी अनुसार अन्तशूल्कमा ९० प्रतिशत सम्म वृद्धि गरेको थियो।

 

सरकारले एक हजार देखि १५ सय सीसीका गाडीमा ६५ प्रतिशत, १५ सय देखि दुई हजार सीसीका गाडीमा ७० प्रतिशत, दुई हजार देखि २५ सय सीसीका गाडीमा ८० प्रतिशत र तीन हजार सीसीसम्मका गाडीमा ९० प्रतिशत अन्तशूल्क निर्धारण गरेको बताइएको छ ।

गाडी मूल्य बृद्धि