कला साहित्य साहित्य आज

कविता : अामा

मधु अर्याल

कविता : अामा

हुर्केकी छोरी भन्दै डराउने बुवा
तिमीलाई उड्न त नदिए पनि 
हिँड्न सिकाउँदा सिकाउँदै 
कुनै पराई घरमा 
गाईलाई जस्तो दान दिँदा पनि 
तिमी आँशुभित्र हाँसो खोज्दै 
आफ्नो नयाँ जीवन थालेकी थियौ

 

क्रान्ति गर्ने निहुँमा आएका
आदरणीयहरूलाई हार्न नसकी
क्रान्ति गर्ने कसम खुवाएर 
आफ्नैले पराई ठानी
एक्लै रुँदै बस्दा 
ती आँशुका कति खोला बगे भनेर
सोध्नै पाइनँ आमा !

 

कुनै कालो रातमा तिमीले
सपनाको बिहानी लिएर
मलाई संसार देखाउन खोज्दै थियांै 
त्यो चिसो अँध्यारो खोपीमा
जाडोले लुगलुग कापिरहँदा 
मुटु कलेजो सिध्याउँनै लाग्दा पनि
कोही थिएन त, तिमीलाई तातो पानी दिने
तैपनि आफ्नो रगतको भेलमा 
मलाई बगाउँदै बगाउँदै ल्याई
यो धर्तीमा टेकाउँदा
तिमी कति खुसी थियौं भनेर
सोध्नै पाइनँ आमा !

 

छोरी जन्माउँछे अलच्छिनी भन्दै
ति हजुर आमा
तिमीलाई बेवास्ता गर्दै
बिस्तरामै मस्त निदाइरँदा 
म पनि अन्जान निहुँमा
केही आशाको पोको खोल्दै 
तिम्रो मुहार हेरेर
झन् जोडले रोइरहँदा 
मलाई गर्भमा छाडी
क्रान्ति गर्छु भन्दै हिँडेका 
आफ्ना पतिदेवलाई सम्झेर
तिमी कति रोयौं भनेर
सोध्नै पाइनँ आमा !

 

भन्थ्यौं रे तिमी मलाई 
म जस्तै अभागिनी भए नि
अब मेरो बाँच्ने आधार
तर तिमीलाई सधैँ
छोरी जन्माए बापतको अपमान
त्यो घाटजस्तो घरमा 
बरु कुकुर ब्याउँदा पनि 
अलि स्याहार पाउँथे होला

 

तर तिमी
सुत्केरी ज्यानमा पनि
घाँस काट्न त्यो भीरमा जाँदा
त्यो भीरले कति जिस्काउँथ्यो भनेर
सोध्नै पाइनँ आमा !

 

दिनभर मेलामा गई
साँझ लखतरान भई घर फर्कंदा 
भोकले चिच्याएकी मलाई काखमा लिँदै
झिना झिना आशाका त्यान्द्राहरू बटुल्दै
केही खुसी खोज्दथ्यौं
मेरो लागि भए पनि
आफ्नो मुहार मुस्कानले भर्न

 

तर मेरो ति 
जिज्ञासु आँखाहरू सोधिरहन्थे
खै ! बाबु
भोलि के जवाफ दिउँला भन्दै
तिमी कति बहानाहरू खोज्थ्यांै भनेर
सोध्नै पाइनँ  आमा !

 

जवाफ यो दुनियाँसँग
मेरी आमा खै भन्दै

तर किन सबै मौन मात्र रहन्छन्
बच्चै भएपनि म सम्झिरहन्छु
त्यो अन्तिम पलमा पनि मुस्कुराउँदै 
मलाई दिएका सपनाहरू 

 

छोरी फर्केपछि सहर घुम्न जाँदा 
त्यो रातो दोसल्ला 
अझैपनि उड्न खोज्छ 
त्यो सहरको निलो आकाशमा 
तर त्यसलाई कसरी उडाइदिउँ भनेर
सोध्नै पाइनँ आमा !

 

अरूले आमा भनेर बोलाउँदा
रहरमात्र लाग्थ्यो
म पनि कसैलाई आमा भन्न पाए
साथीहरू जस्तै तिम्रो काखमा बसेर
अरूका गल्तीहरू सुनाउन पाए
कसैको स्यावासीमै पनि खुसीले
उकुसमुकुस भएको मन
तिमीसँग आई छताछुल्ल पारेर
पोख्न पाए

 

म कति आभारी हुन्थेँ होला 
तर त्यो खुसी
को बाट कसरी तोडियो भनेर
सोध्नै पाइनँ आमा !

 

कसैको कुराको कल्पनामा मात्र 
तिमी जीवित हौ
ठूलो रहर छ 
तिमीसँगै बसेर धेरै करा गर्ने 
कुनैदिन सपनामा आउन भन्दै
धेरैपल्ट निवेदन गरेँ

 


खोइ त ! तिमीले सुनेको
मैले बिर्सिने बेलामा झन्–झन् याद आउँछ
जान्न मन लाग्छ मलाई तिम्रोबारे
कसैले हरियो बाँसमा 
सेतो लुगा ओढाएर
मबाट टाढा लैजाँदै गर्दापनि 
तिमी मलाई छाडेर कहाँ जान्थ्यांै भनेर
सोध्नै पाइनँ  आमा !

आमा मधु अर्याल