कला साहित्य साहित्य आज

अनिल नेम्बाङका ३ कविता

अनिल नेम्बाङका ३ कविता

१.  असिम मायासहित

आज धेरै टाढा जानु छ
ल्याउनु छ–
बाह्र हात बादल च्यातेर एउटा फरिया
फरियाको बुट्टाको लागि एक मुठ्ठि तारा
अनि आँचलको लागि मुक्त उडिरहेको एक हुल चरा

 

त्यो जून पनि तिम्रो, त्यो घाम पनि तिम्रो
बिहानै टिपेर लगाइदिउँला घामको शिरफूल
अनि बेलुका निधारमा चन्द्रमाको टिका
बेलाबेला एक मुठि इन्द्रेनी थुतेर
बाँधिदिउँला तिम्रो कैलाश झरना जस्तो कपाल

 

आहा ! कति सुहाउला सेतो हिमालको पटुकी
हरियो पहाडको चौबन्दि
फूलमा चरिरहेको पुतलीको झुम्का
चमेली फूलको चिटिक्क फुली

 

बच्चैदेखि एउटा सपना छ–
यी सबैसबैले सिङ्गारेर तिमीलाई आदर्शलोक घुमाउने 
त्यसको लागि इन्द्रलाई छलेरै भएपनि
ल्याउला एक दिनको लागि मसहुर ऐरावत हात्ती

 

आमा, यति त आँट गरेँ है
किनकि तिमी यति सुन्दर छौ कि,
तिमीमा सबैसबै बजारीया चिज फिक्काफिक्का लाग्ने रहेछ
आमा !
साँच्चि कोरा देखिन्छन् तिमीमा
यी कृतिम चिजहरू
साँच्चि नसुहाउने रहेछ
सुनको प्रतिमालाई फलामको टिका ।

 


२.मैनाम र करक 

हिजो आफ्नै मुटुलाई मैनाम* बनाएर 
सिरानीमुनि राखेथेँ
आफ्नै करक*गर्न
निकै बर्बराएछु सपनामा

 

सम्झन्छु–
सङ्लो पानी तरेर पारी पुगेको थिएँ
सेतो हिमालको चुचुरो टेकेको थिएँ
आज खबर आयो, 
तिमी जाति भयौ रे ।

 

अस्ति पनि आफ्नो मुटुलाई 
त्यसरी नै मैनाम बनाएर
सिरानिमुनि राखेथेँ
अझै झस्काउँछ त्यो सपनाले

 

सम्झन्छु–
ओरालै ओरालो झरेको थिएँ
माई खोलाको बगरमा बज्रेको थिएँ
लगत्तै बिहान खबर आएको थियो,
तिमी बिमारी पर्यौ रे 

 

आजभोलि यस्तै यस्तैयस्तै हुन्छ
मैनाम मेरो मुटुको हुन्छ
सपना तिम्रो देख्छु 

मैनाम – लिम्बु समुदायमा उपकारको लागि पुजाआजामा प्रोयोग गरिने लुगा ।
करक– फेदाङ्बा (पुजारी)ले जोखना हेर्न सिरानीमा मैनाम राखेर सपना देख्ने कार्य 

 


३. तिमी र घाम

तिमी त घाम हौ
सरासर जानू
बादलले छेक्न सक्छ, नछेकिनु
झरीले रोक्न सक्छ, नरोकिनु
एक पल पनि मलाई फर्केर नहेर्नु

 

तर मेरो एउटा बिन्ति–
साँझमा भने देउरालीमा एकैछिन अडिएर
अन्तिम चोटि हेर्नु मलाई
फेरि बाटो लाग्नु कतै नरोकिकन
म त अघिको दिन हुँ, हुन लागेको रात हुँ
तिम्रो दुनिया त त्यो देउराली कटेपछि सुरु हुन्छ

 

तिमी त घाम हौ–
तिमी सँगै छ दिन
तिमी सँगै छ रात
सरासर जानू
तिमीले त सृष्टिको प्रेमलाई नै जोगाउनु छ ।



 

कविता अनिल नेम्बाङ